केही दीनअघि ‘रैथाने एग्री प्रोडक्ट्स नेपाल’का अध्यक्ष तिलक ढकालजीसँग भेट भयो । उहाँले दरबारमार्गमा रहेको रैथाने कृषिको आयोजनामा सञ्चालन हुने कृषि हाटबजार घुम्न आउन निमन्त्रणा गर्नुभयो । विश्व वन्यजन्तु कोषमा २० वर्ष काम गरेका तिलकजी कृषिमा नवीन सोचमा रमाउने व्यक्ति हुनुहुन्छ भने गाउँ–गाउँमा ‘होम स्टे’का पनि विशेषज्ञ नै हुनुहुन्छ । यो हाटबजार हरेक शनिबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्दो रहेछ । यसका लागि राजधानीको मुटुमा रहेको दरबारमार्गजस्तो महत्वपूर्ण स्थानमा शनिबार ६ घण्टा कृषि हाटबजार सञ्चालन गर्न त्यहाँ चलेको ‘ओरियन्ट क्याफे’का सञ्चालकले आफ्नो क्याफेको ठुलो कोठा निःशुल्क उपलब्ध गराउनुभएको रहेछ । ‘आफूले पैसा कमाउनु मात्र सबै कुरो होइन, सँगसँगै अरूलाई पनि मौका उपलब्ध गराउनुपर्छ’ भन्ने चिन्तनको यो उत्साहजनक अभिव्यक्ति व्यवहारमा देखियो यहाँ । सबै आयोजकलाई धन्यवाद छ ।
रैथाने कृषि बजार घुम्दै गर्दा म निकै उत्साहित भएँ । हाम्रो देशका भुइँ तहका मान्छेले आफ्नै प्रयासबाट उन्नति गर्न खोजेको यो एउटा सानो उदाहरण थियो । हाटबजारमा २५–३० ओटा स–साना स्टल राखिएका थिए । यहाँ प्रदर्शनीमा राखिएका कृषि उपज सबै किसानले आफ्नै खेतबारीमा उत्पादन गरेको हुनुपर्ने र विषादी प्रयोग नगरेको हुनुपर्ने नियम रखिएको रहेछ ।
स्टलहरूमा चौँरीको मखनदेखि कुभिन्डो, तरकारी, केराको बुंगो, सिस्नोको सुप र मःमदेखि विभिन्न घरमा काम लाग्ने स्थानीय उत्पादन जाम, अचार, बदामको नौनी र बाँस, बेत र अल्लोबाट निर्मित विभिन्न सामान सजाएर रखिएका थिए । मलाई बताइएअनुसार यी सबै सामान कृषकले आफ्नो खेतबारीबाट उत्पादन गरेर त्यसमा सीप थपेर यहाँ ल्याउँछन् र स्टलमा सजाएर राख्छन् । बिचमा बिचौलियाको कुनै भूमिका रहँदैन । साथै, अधिकांश स्टलमा युवा–युवतीहरू बसेका देखिन्थे । तीमध्ये अधिकांश राजधानीका विभिन्न क्याम्पसमा पढ्दै र घरबाट बेच्न पठाएका सामान बेचेर थोरबहुत आम्दानी पनि गर्दै रहेछन् । एकदिन मात्रै भए पनि यिनीहरूले व्यावहारिक व्यापारको अनुभव बटुलेको देखियो । जुन पक्कै पनि भविष्यको सफलताका लागि ठुलो जग हुन सक्नेछ ।
रैथाने हाटबजारमा कुभिन्डो र बुंगो पनि बेच्न राखिएका थिए । कुभिन्डो त कसले पो किन्ला र ? मनमा कुतूहल लाग्यो । स्टलमा किसान अगस्थीलाई सोधेँ पनि । के यो कुभिन्डो र बुंगो पनि बिक्री हुन्छ ? उनको मुखमा अचानक खुसी छायो । उनले भने– मेरो बारीमा थुप्रै कुभिन्डो फल्छ । यसलाई के गर्ने भन्ने लागेको थियो । यो रैथाने हाटबजारमा राखेँ । अब मेरो कुभिन्डो बिक्रीको कुनै समस्या छैन । हरेक साता गाउँबाट ल्याएर बेच्छु । व्यापार देख्दा उनी दंग छन् । उनको हाँसो देख्ता म पनि दंग परेँ । त्यस्तै रसुवा र नुवाकोट सिमानाका कृष्ण स्याङ्ताङ पनि दंग छन् । करिब ४० वर्षका युवा स्याङ्ताङ त्यहाँ सिस्नुको सुप र मःम बेच्दै छन् । यससँगै उनी सिस्नोको धुलो पनि बेच्दै छन् । उनी गर्वसाथ हाँसेर भन्छन्– डाक्टर साब, अब म मेरो गाउँमा सिस्नोको आधुनिक फार्म खोल्दै छु । उनको आत्मविश्वास देख्दा म विश्वस्त छु, उनी अवश्य सफल हुनेछन् र एक प्रतिभाशाली उद्यमी बनेर उभिनेछन् ।
रैथाने हाटबजार विस्तार हुन सक्छ, तर ठाउँ छैन । यसका दुई उपाय छन् । पहिलो, शनिबार जब सडक खाली रहन्छ । यस्तो वेला प्रत्यक्ष किसानको सहभागितामा चलेको कृषि हाटबजारका लागि सीमित समय बेच्न र पार्किङ गर्न ठाउँ दिने । यो प्रक्रिया विश्वका विकसित भनिएका देशमा पनि चलेको छ । नेपालमा गर्न नहुने होइन । मेयर बालेन साहले विचार गर्नु राम्रो हुनेछ ।
दोस्रो, दरबारमार्गमा अन्य सरकारी संस्थानले शनिबार आफ्नो पार्किङ गर्ने खाली ठाउँलाई केही घण्टा (बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म) मात्र कृषि हाटबजार सञ्चालन गर्न दिए कसो होला ? हाल उपलब्ध ठाउँ निजी व्यापारी कम्पनीले उदारतासाथ केही घण्टालाई उपलब्ध गराउन सक्छ भने सरकारी संस्थानले किन नसक्ने ? व्यस्त सहरभित्रै रैथाने हाटबजारको अवधारणा एउटा प्रयोग हो । यस्ता प्रयोगबाटै हामीले सिक्न पनि सक्नुपर्छ ।
चीनमा माओको सांस्कृतिक क्रान्तिपछि अर्थतन्त्र एकदमै निराशाजनक अवस्थामा पुगेको थियो । देङ स्याओ पेंगले दक्षिणी प्रान्तको एक गाउँमा एउटा नयाँ प्रयोग गरेर हेरे । राज्यलाई किसानले बुझाउनुपर्ने उत्पादन कोटा बुझाएपछि जमिनमा किसानले बजारमा जे बिक्छ, त्यसको खेती गर्ने छुट पाए । यो एउटा नीतिमा परिवर्तन गर्दा त्यस ठाउँमा उत्पादन ह्वात्तै बढ्यो । नीति परिवर्तन भएपछिका आठ वर्षमा (१९७८—१९८५) गहुँको उत्पादन चार करोड टनबाट बढेर झन्डै नौ करोड टन पुग्यो । यो अनुभवलाई राष्ट्रव्यापी रूपमा विस्तार गरियो । अहिले चीनको कृषि उत्पादकत्व अन्य देशका लागि उदाहरणीय बनेको छ ।
त्यहाँ एउटै नीतिले सबै परिवर्तन भएको होइन । तर, यसबाट शिक्षा लिएर गरिएका निर्णयले चीनको कृषि प्रयासमा देङले ठुलो योगदान गरे । नेपालमा पनि विगतमा केही गर्न खोजिएको हो । यसमा मेरो सानो अनुभव बताउँछु । म कृषक होइन र कृषि कर्ममा मेरो अनुभव छैन । तर, एउटा अर्थ–राजनीतिज्ञको हैसियतले के बुझेको छु भने उत्पादन बढाउन उत्पादनका शक्ति अर्थात् किसानलाई मिहिनेत गरेपछि फाइदा हुन्छ भन्ने विश्वास दिलाउनैपर्छ । सिद्धान्त र व्यवहार दुवैले यही भन्छ ।
यस सिलसिलमा २०५० को दशकमा म तीन–चार महिना कृषिमन्त्री थिएँ । माछाको उत्पादन बढाउने कुरा आयो । म जनकपुर गएँ । थुप्रै साना किसानका पोखरी हेरेँ । माछा विकास केन्द्रमा बुझेँ तर आकर्षक बजार छैन । त्यस बखतको कृषि मन्त्रालयमा प्रयोगका रूपमा माछाकिसानको माछा बिक्री सहकारी बनाउने र उक्त सहकारीलाई नेपाल सरकारले सहुलियत ऋण र अनुदानमा चिसो ट्रक (रेफ्रिजेरेसन भ्यान) उपलब्ध गराउने । अनि सबै साना किसानबाट माछा किनेर किसानको सहकारीले काठमाडौंमा बेच्ने । यसका लागि ठाउँ र सुविधा कृषि मन्त्रालयले दिने । यो कार्यक्रम तय त गरियो, दुर्भाग्यवश यो कार्यक्रम लागू गर्ने क्रममा हामीले सरकार छोड्ने स्थिति आयो ।
पछि आउनेले यो योजनाबारे बिर्से । अर्थात्, यस्ता थुप्रै नीतिगत सुधार र मिहिन कामको आवश्यकता छ, भुइँ तहका किसानको उत्पादन बढाउन, बिकाउन र उनीहरूको जीवनस्तर माथि उस्कान । अब थोत्रा पुराना क्रान्तिकारी गफ गरेर जनता ठग्ने दिन गए । आजकै तरिका हो भने नेपालका वर्तमान श्री ३ हरूले अझ लुट्लान्, तर देश कंगाल भएर अशान्तिको बाटोमा जाने पक्का छ । रैथाने बजार सञ्चालनसम्बन्धी हालसम्मका अनुभवलाई मन्थन गरेर नयाँ संस्थागत संरचना बनाउनुपर्छ । बिचौलियालाई गाली गरेर आफैँ उम्कने अवस्था अब छैन । जब सरकार जनताको हितभन्दा थोरैको हितमा केन्द्रित हुन्छ, बिचौलियाको हरेक संरचनामा उपस्थिति बढेर जान्छ । यस अर्थमा उपभोक्ता र उत्पादकबिच बिचौलिया बढेर जानु सरकार कमजोर हुनु हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । भर्खर टुसाउँदै गरेको रैथाने हाटबजार एउटा उदाहरण हुन सक्छ । यस्ता बिउलाई बुझौँ र नयाँ दिशानिर्देश गरौँ । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया