काठमाण्डौंः अविरल वर्षाका कारण विद्युत् गृहहरूमा क्षति पुग्न थालेपछि बिजुली उत्पादन बन्द हुँदा लोडसेडिङ भएको छ । कुलेखानीमा पानी भरिएपछि आंशिक रूपमा ड्याम खोलिएको छ ।
बाग्मतीको बाढी र कुलेखानी ड्याम खोल्दा २२ मेगावाटको माण्डुखोला पावरहाउस पुरै डुबेको छ । तल्लो हेवाखोला जलविद्युत् आयोजना २२ दशमलव १ मेगावाटको पावरहाउस पनि डुबेको इप्पानले जनाएको छ ।
यसैगरी, गत वर्षको बाढीले बगाएको पूर्वको हेवाखोलाको पुल यसपटक पनि बगाएको छ । वर्षाले जलविद्युत् केन्द्रहरूमा क्षति पुगेपछि अघोषित लोडसेडिङ गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले काठमाडौं उपत्यकाका आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको बताए ।
बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका थिए । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर पनि बन्द छन् । त्यस्तै, पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।
यस्तै, लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैरीधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बाग्मती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका थिए ।
नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्ेटनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर पनि वर्षाले प्रभावित भएका छन् ।
यसैबीच, मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र र माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत उत्पादन रोकेका छन् । ती दुवै आयोजनाले निरन्तर वर्षसँगै आएको बाढीले आयोजनाको संरचनामा असुरक्षा स्थिति उत्पन्न भएको कारण देखाउँदै विद्युत् उत्पादन रोकेका हुन् । ती जलविद्युत् आयोजनाको उत्पादन क्षमता क्रमशः ७० र ५० मेगावाट रहेको छ ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पु¥याउने नहर (कल्भर्ट)मा बाढीले क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
आयोजनाको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेशमार्गमा पर्ने खोलाहरूमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेकोे जानकारी दिए ।
गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुगेको अनुमान गर्न सकिने उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा, लेदो थुप्रिएको छ ।
जलविद्युत् आयोजनामा फसेकाहरूको जिल्ला प्रशासन कार्यालय दोलखासँगको समन्वयमा उद्धारका लागि लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४ सय ६१ क्युमेक छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताबामोजिम नदीमा पानीको बहाव २ सय ५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने हुन्छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २ सय ५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो ।
यसैगरी, अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जान थालेपछि शनिबार बिहान ५ बजेर ४५ मिनेटबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको छ ।
पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत्गृहलाई निरन्तर रूपमा पूर्ण क्षमतामा चलाइएको छ । विद्युत्गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशयमा पानीको तह समुद्र सतहबाट १ हजार ५ सय ३० दशमलव ९३ मिटर पुगेको छ ।
केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार पानीको तह १ हजार ५ सय ३० दशमलव ३५ पुगेपछि बाँधका ढोका आंशिक रूपमा खोलिएको हो । बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बाग्मती नदीको बहाव बढ्ने भएकाले त्यस क्षेत्र’roundका स्थानीय बासिन्दाहरूलाई समयमै सुरक्षित रहन र उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
वर्षायाममा बाढीका कारण हालसम्ममा ३० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२ दशमलव १ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा पुगेको छ । सो आयोजनामा १ अर्ब रुपैयाँबराबरको क्षति भएको बताइएको छ । राजधानीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया