बैसाख १७, २०८३ बिहिबार April 30, 2026

राजनीतिका भ्रम र वास्तविकता- खिमलाल देवकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कार्ल माक्र्सले भ्रम, वैचारिक विचलनको सहउत्पादन हो भनेर किनभने होलान् भन्ने कुराको अर्थ खोतल्दै जाँदा आजको नेपाली समाजको चित्र देखापर्दछ । नेपाली राजनीतिमा यतिबेला विचारको खडेरी छ । त्यसैले विचारको स्थान भ्रमहरूले लिएका छन् । भीमकाय भ्रमहरूले सम्भव भएसम्मका काल्पनिक परिदृश्यहरूको अनुमान गर्दछ । तिनै परिदृश्यहरू राजनीतिक रस्साकस्सीका आधार बन्ने गरेका छन् । सुखी नेपाली समृद्ध नेपाल, दोहोरो अङ्कको वृद्धिका सपना कर उठाएर कर्मचारी पाल्न नपुग्ने विपनामा परिणत भएको छ । पट्यारलाग्दो बन्दाबन्दीका कारण अब कोरोनासँग हैन, भोकसँग कसरी जोगिने भन्ने चिन्तनमा दैनिकी गुज्रँदैछ । सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा छ । सरकार र पार्टीको समीक्षा गर्नेभन्दा नेपाली समाजले भोगिरहेका भ्रम र वास्तविकताका बारेमा चर्चा गर्ने प्रयत्न छ ।

भ्रम १ः नेकपा फुट्ने

सत्तारुढ पार्टीको विवाद आज बहुमतले प्रधानमन्त्रीको राजिनामा माग्ने, बहुमतले कारबाही गर्नोस् म पार्टी फुटाइदिन्छु भन्ने प्रधानमन्त्री । प्रधानमन्त्री शीतलनिवास जानासाथ लौ अब पार्टी फोर्ने अध्यादेश आउँदैछ, त्यो पनि ३० प्रतिशतले फोर्न मिल्ने गरी, अब त्यसलाई कसरी रोक्ने भन्ने बारेमा कफीगफ र कोठे बैठक हुने !

यो भ्रमबाट गुज्रिएको सत्तारुढ पार्टीले के बुझ्न जरुरी छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको नयाँ दल हो । नेकपाको नामबाट एकपटक चुनाव नलडेसम्म नयाँ दलकै हैसियतमा रहने निर्वाचन आयोगको व्याख्या छ । यसो हो भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३(३) ले यो पाँच वर्ष अवधिभर त्यस्तो नयाँ दललाई फुट्न दिँदैन । यो मापदण्ड यसअघि ल्याइएको अध्यादेश सङ्घीय समाजवादीका हकमा पनि लागु हुने थिएन न त नेकपाको हकमा लागु हुन्थ्यो तर त्यही त्रासका कारणले राजपा र सङ्घीय समाजवादीले रातारात जनता समाजवादी बनाए भने यता सत्तारुढ दल अब पार्टी फुट्ने नै भयो भनेर कसका कति भनी सांसदको टाउको गन्ने र हस्ताक्षर गर्ने धुनमा लागे मान्छेहरू । अझै पनि त्यो भ्रमले छोडेको देखिएन । भ्रम र वास्तविकताको दूरी थाहा नपाउँदाको दुःख नेपाली राजनीतिक जगतले भोगिरहेको छ ।

भ्रम २ : संसद् विघटन र मध्यावधि निर्वाचन

पार्टीले सरकारलाई समर्थन गरेन–गरेन, संसद्ले पनि गरेन भन्ने आधारमा प्रधानमन्त्रीले प्रतिपक्षी र सभामुखको परामर्शविना नै संसद् अधिवेशन अन्त्य गरिदिनुभयो । अधिवेशन अन्त्यको यो खबर बालुवाटारमै बैठकमा व्यस्त पार्टीले पनि पाएन, सो निर्णय गर्ने मन्त्रीले पनि सञ्चारमाध्यमबाट मात्रै थाहा पाए ।
फेरि पनि मुलुकमा अध्यादेश वा सङ्कटकाल वा संसद् विघटन र मध्यावधिको भ्रमले गाँज्न छाडेन । २०७२ सालको संविधान हातमा भए पनि २०४७ सालको संविधान दिमागमा बोकेकाहरूका हकमा संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार हो भन्ने कुरा आजसम्म पनि हटेको छैन । संसद्ले प्रधानमन्त्री दिन सक्दासम्म संसद् विघटन हँुदैन भन्ने मान्यता स्थापित गरेको नयाँ संविधानले तिनका दिलदिमागमा घर बनाउन सकेन । त्यसैले नेपाली राजनीतिक वृत्तमा संसद् विघटनको भ्रम र हल्लाले राम्रै बजार पाएको छ ।

भ्रम ३ः सङ्कटकालको घोषणा

पार्टी र संसद्बाट लखेटिँदै जाँदा प्रधानमन्त्रीले रोज्ने बाटो भनेको सङ्कटकाल पनि हो । सङ्कटकालका लागि चरम आर्थिक सङ्कट र महामारीको प्रकोप– दुवै त्यत्तिकै पत्यारिला पूर्वावस्था संविधानबमोजिम उपस्थित छन् । तत्कालीन राजा ज्ञानेन्द्रले सङ्कटकाल लगाएर राजनीतिक दलका नेताहरूलाई बदनाम गरिदिनका लागि भ्रष्टाचारको आरोपमा थुनामा राखेको नजिर कायमै छ ! विरोधी तह लगाउने हतियारका रूपमा यसलाई पनि अवलम्बन गर्न सक्ने भन्ने मनोविज्ञानले नेपाली राजनीतिक वृत्त नगाँजिएर रहन सकेन । भित्रभित्रै खासखुस हुनथाल्यो । उत्कर्षमा रहेका राजनीतिक विवादले अर्कै मोड लियो भन्ने गरिन्छ । सङ्कटकाल लागिहालेमा के गर्ने भनेर वैकल्पिक योजना बनाउन थालेको पनि पाइयो तर यो यति ठूलो भ्रम थियो भन्ने कुरा जनमानसले बुझ्न पाएन ।

सत्तारुढ पार्टीको विवाद आज बहुमतले प्रधानमन्त्रीको राजिनामा माग्ने, बहुमतले कारबाही गर्नोस् म पार्टी फुटाइदिन्छु भन्ने प्रधानमन्त्री । प्रधानमन्त्री शीतलनिवास जानासाथ लौ अब पार्टी फोर्ने अध्यादेश आउँदैछ, त्यो पनि ३० प्रतिशतले फोर्न मिल्ने गरी, अब त्यसलाई कसरी रोक्ने भन्ने बारेमा कफीगफ र कोठे बैठक हुने !

त्यसो त २०४७ सालको संविधानबमोजिम पटक पटक सङ्कटकाल लगाएर आफ्नो स्वार्थ सिद्ध गरेका सत्तासीन र त्यसबाट प्रताडित विपक्षीहरूको मानसपटलमा त्यो चित्र मेटिएकै छैन तर २०४७ सालको संविधानको त्यो व्यवस्था अहिले छैन भन्ने कुरा पत्याउन मानिसलाई गाह्रो परिरहेको छ । यतिबेलाको संविधानबमोजिम कुनै आकाश खस्ने वा धर्ती फाट्ने अवस्थामा बाहेक नेपालमा अब सङ्कटकाल लाग्न सम्भव छैन भन्ने कुरा संविधानको धारा २७३ मा प्रष्ट छ । सङ्कटकाल घोषणा गर्न सकिन्छ तर घोषणा गरेको १५ दिनभित्र संसद्बाट अनुमोदन गर्नुपर्छ, त्यो पनि दुईतिहाइ मतले, जो सत्ता स्वार्थका लागि घोषणा गरिने सङ्कटकाल अनुमोदन हुने कुनै सम्भावना नै छैन । यति प्रष्ट व्यवस्थाका वावजुद पनि सङ्कटकालको त्रासले मानिसहरूलाई प्रताडित गर्न छोडेन ।

भ्रम ४ : राष्ट्रपतिलाई महाभियोग

बालुवाटारको हरेक आग्रह एकै स्वरमा समर्थन गरेका कारणले राष्ट्रपतिप्रति राजनीतिक वृत्तको आक्रोश चुलिएको होला । कुनै बेला कार्यकारी प्रधानमन्त्रीको निर्णयमा आनाकानी गर्ने वा उल्टाउने काम गरेका कारणले विवादमा आएको संस्था यसपटक किन त्यसो गरेन भनेर पनि विवादमा ल्याउन खोजिँदैछ । विवाद मात्रै हैन, बुज्रुकहरूको सल्लाहमा राष्ट्रपतिलाई महाभियोग दर्ता गर्ने त्यो संस्था निलम्बन हुन्छ, उपराष्ट्रपतिबाट काम चलाउने भन्ने हल्ला बजारमा नचलेको हैन । कार्यकारी प्रधानमन्त्रीको निर्णयलाई उल्टाउन आग्रह गर्ने र राष्ट्रपतिबाट निर्णय उल्टाउन सकेकोमा युद्ध जितेको अनुभव गर्ने पात्र र पुस्ता आज कार्यकारी प्रधानमन्त्रीको निर्णय सदर गर्दा राष्ट्रपतिजस्तो गरिमामय सस्ंथाका बारेमा यो हदसम्म सोच्ने र सुलह गर्ने जमात पनि हामीकहाँ छ । यो अर्को ठूलो भ्रमको परिणाम हो ।

सर्वनास्तिभन्दा अर्धनास्ति राम्रो

राजनीतिलाई उल्लेखित भ्रमबाट मुक्त गरौँ, वैचारिक आलोकमा सञ्चालन गरांँै । नेपाली राजनीति यतिबेला विपक्षीका कारणले हैन, सत्तारुढ पार्टीमा निहित भ्रमका कारणले अकर्मण्यमा फसेको छ । यो भ्रमबाट शासित हुँदै अकर्मण्यता लम्बिँदै गयो भने पार्टी विघटन र देश रसातालमा पुग्ने खतरा छ । त्यसैले मन परे पनि, नपरे पनि पार्टी एकताको विकल्प छैन । दलीय पद्धति भएका कारणले पार्टी प्रधान हो भन्ने कुरामा विवादै छैन । पार्टी निर्णयविपरीत हुने गरी कसैलाई छुट्टै पार्टी बनाउन मन लागिहाले पार्टी हुनाका नाताले प्राप्त गरेका अहिलेका पद र हैसियतसहित छुट्टिन मिल्दैन भन्ने फेरि पनि राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ को विशेष व्यवस्थातर्फ हेक्का राख्दा हुन्छ । जुन पार्टीबाट निर्वाचित भएको हो, त्यो पार्टी परित्याग गरेमा वा त्यो पार्टीले निष्कासन गरेमा निर्वाचित पद स्वतः रिक्त हुने व्यवस्था छ । पार्टी फुट्न नमिल्ने, पार्टी परित्याग गरे वा पार्टीले निष्कासन गरे निर्वाचित पद स्वतः रिक्त हुने– यस्तो अवस्थामा झगडाको आधार स्वतः समाप्त हुन पुग्छ । त्यसो हुँदा सर्वनास्तिभन्दा अर्धनास्ति जाति भन्छन् । सर्वनास्तिपछि मिल्ने कि अर्धनास्तिपछि मिल्ने हो ? नेताहरूकै मर्जी भन्नुबाहेक अरूक विकल्प रहेन ।

स्वर्ग तपाईंको

नेकपाका केही नेतालाई प्राप्त यो स्वर्ग एकताका कारणले प्राप्त भएको हो । एकताका लागि नेतृत्वको सर्वाधिक भूमिकाका बारेमा विवाद हुनसक्दैन तर नेताहरूका मात्रै कारणले हो अब हामीले जे गरे पनि हुन्छ भन्ने भ्रम त्याग्न जरुरी छ । जे गर्दा पनि कार्यकर्ता र नेता पछि लागिरहने बाध्यता अब छैन भन्ने हेक्का राख्न जरुरी छ । यो पनि साँचो हो कि यो स्वर्ग जो जसले भोग्नुभएको छ, जोगाउने जिम्मा मूलतः उहाँहरूकै हो । जोगाउन सक्नुभएन भने गुम्ने तपाईंहरूकै हो अरूको हैन । त्यसैले आफ्नै स्वर्ग जोगाउन भए पनि जनता, कार्यकर्ता र नेताहरूको एकताको मनोविज्ञानविरुद्ध नखेलिदिनोस् । एकताले फाइदा हुने फेरि पनि तपाईंहरूलाई नै हो, जो अहिले पनि स्वर्गीय आनन्द पदीय भोगविलासमा मस्त हुँदै जिम्मेवारी पनि बोकिरहनुभएको छ । एकताका लागि जिम्मेवार बन्नुपर्ने पनि तपाईंहरू नै हो । त्याग गर्ने पनि तपाईंहरूले नै हो । तपाईंको त्यागले तपाईंको स्वर्ग जोगिन्छ भन्ने कुराको हेक्का अलिकति भए पनि गर्दिनुहोस् । पार्टी एकता जोगाइ दिनुहोस् किनकि यो पार्टीको एकतामा देशको एकता, उन्नति र प्रगति निर्भर छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार