मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी

एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, २२ कात्तिकः यहाँको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिनुभयो ।

गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहनु भएको छ । उहाँ हाल दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । एमबीबीएस अध्ययन गर्न रु ४६ लाख लाग्नेमा गाउँपालिकाले रु २३ लाख प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप रु एक लाख छात्रवृत्ति प्रदान गरेको छ ।

बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत हुनुहुन्छ । कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै हुनुहुन्छ । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया