मोरङ, ३ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताएका छन् ।
परिषद् पुनःसंरचनासम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा आज यहाँ आयोजित ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनः संचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया’ मा उनले परिषद्ले वर्तमान आवश्यकतालाई ध्यानमा राखेर आफ्ना कार्यक्रम विविधिकरण गर्नुपर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीच समन्वय कायम गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोहीअनुसार परिषद् पुनः संरचना गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषद्ले यससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
विराटनगर महानगरपालिकाका प्रमख नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषद्ले तालिम दिनुपर्ने सुझाव दिए । नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्नुपर्नेमा जोड दिए ।
परिषद्का सदस्य सचिव ई मोहन भट्टराईले व्यावसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको धारणा राखे । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले परिषद्को विकेन्द्रीकरण गरी प्रदेश सरकारको नेतृत्वमा परिषद् सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझाव दिए ।
प्राविधिक परिषद् पुनः संरचना उच्चस्तरीय कार्य टोलीकी संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यावसायिक तालिमको स्तरोवद्धि गर्न नागरिक शिक्षा, वैज्ञानिक, रोजगार मुलुक र राष्ट्रका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव सङ्कलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया