मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

चार महिनामा साढे १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

४ महिनामा २ सय ६३ परियोजनाबाट ७ हजार ६ सय ६७ जनालाई प्रत्यक्ष रूपमा रोजगारी उपलब्ध हुने पनि प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासमा १८ अर्ब ६६ करोड रुपैयाँको विदेशी लगानीमा २ सय ६३ वटा उद्योग स्थापनाका लागि प्रस्ताव पेस भएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिक महिनामा मात्रै ५९ उद्योगका लागि मात्रै २ अर्ब २२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

विभागले अटोमेटिक रुटबाट ४ महिनामा १ सय ९ वटा उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँको प्रस्ताव आएको जनाएको छ । यसैगरी, कागजी प्रक्रियाबाट प्रत्यक्ष वैदेशिक लगानीका लागि ४ महिनामा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धताका साथ १ सय ५४ वटा उद्योग खोलिने जनाइएको छ ।

कात्तिकमा अटोमेटिक रुटबाट ३६ उद्योगका लागि ६१ करोड ३७ लाख ९६ हजार प्रस्ताव भएको छ । यसैगरी, कागजी प्रक्रियामार्फत २३ उद्योगका लागि १ अर्ब ६१ करोड १० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

कात्तिक महिनामा उत्पादनमूलक क्षेत्रका छ परियोजनामा ३५ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ भने पर्यटन क्षेत्रका १३ परियोजनामा ४२ करोड ९० हजार रुपैयाँ आएको छ । यसैगरी, सेवा क्षेत्रका आठ परियोजनामा ३८ करोड रुपैयाँ, पूर्वाधार क्षेत्रका दुई परियोजनामा ४ करोड १० हजार रुपैयाँ र सूचना प्रविधिका ८० परियोजनामा ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

कात्तिकमा २३ वटा साना उद्योगका लागि मात्र प्रस्ताव आएको जनाइएको छ । साउनदेखि कात्तिकसम्ममा भने १ सय ५१ वटा साना उद्योग र एउटा मझौला उद्योग प्रस्तावित रहेका छन् । ठूला उद्योगका लागि भने २ वटा प्रस्ताव गरिएका छन् ।

उद्योग विभागका अनुसार ४ महिनामा २ सय ६३ परियोजनाबाट ७ हजार ६ सय ६७ जनालाई प्रत्यक्ष रूपमा रोजगारी उपलब्ध हुने पनि प्रतिबद्धता आएको छ । यस्तै कात्तिकमा मात्रै ५९ परियोजनाबाट १ हजार १ सय २४ जनालाई रोजगारी प्राप्त हुने प्रतिबद्धता आएको छ ।

कात्तिकसम्ममा अटोमेटिक रुटबाट आईटी क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव आएको छ । अटोमेटिक रुटबाट आईटी क्षेत्रका ८० परियोजनामा ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

कागजी प्रक्रियाबाट भने १ सय ५४ परियोजनामा १७ अर्ब ३ करोड ७७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । कागजी प्रक्रियाबाट आउने वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आकर्षित देखिएको छ । समीक्षा अवधिमा पर्यटन क्षेत्रका १ सय १३ परियोजनामा ११ अर्ब १८ करोड लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार पर्यटन क्षेत्रमा आएको लगानी कुल प्रतिबद्धताको ६० प्रतिशत हो । सेवा क्षेत्रका लागि २० परियोजनामा ३ अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

उत्पादनका १३ परियोजनामा १ अर्ब २२ करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ ।

यसैगरी, आईटीका ७ परियोजनामा १७ करोड ४० लाख रुपैयाँ, कृषिका २ परियोजनामा ५ करोड ८० लाख रुपैयाँ, खनिजका २ परियोजनामा चार करोड रुपैयाँ लगानी प्रस्ताव आएको तथ्यांक छ ।

विभागले दिएको तथ्यांकअनुसार ४ महिनामा १ अर्ब १३ करोड ६१ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री सम्झौता भएको छ । विभिन्न २५ परियोजनामा सोबराबरको सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको हो ।

४ महिनाको अवधिमा प्रविधि हस्तान्तरणसम्बन्धी १६ वटा सम्झौता भएका विभागको तथ्यांकमा उल्लेख छ ।

४ महिनामा विदेशी लगानीकर्ताले ६ करोड ४० लाख ४२ हजार रुपैयाँ मात्रै लाभांश लगेका छन् । गत वर्षको साउनदेखि कात्तिकसम्ममा १ अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपैयाँ लाभांश लगेका थिए ।

४ महिनामा रोयल्टीमार्फत नेपाली रुपैयाँमा ३८ करोड ८६ लाख ६७ हजार रुपैयाँ, डलरमा ८ लाख १५ हजार, भारतीय रुपैयाँमा २० करोड ५ लाख र युरोमा १० हजार २ सय छ ।

यस्तै, सेवा शुल्कअन्तर्गत नेपाली रुपैयाँमा ३८ करोड ८ लाख ६८ हजार, डलरमा २८ लाख ६८ हजार र भारतीय रुपैयाँमा ५ करोड ७६ लाख १५ हजार बाहिरिएको छ ।

सरकारले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो । त्यस माध्यमबाट ५० करोड रुपैयाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ ।

प्रत्यक्ष विदेशी लगानी कम्पनीमा कात्तिक महिनामा मात्र ११ सय २४ कर्मचारी रोजगारमा प्रतिबद्ध भएका छन् । त्यसैगरी, साउनदेखि कात्तिकसम्मको तथ्यांकलाई हेर्दा ७ हजार ६ सय ६७ ले रोजगार पाउनेछन् भने सुरुआतदेखि कात्तिक मसान्तसम्ममा ३ लाख ३७ हजार २ सय ८८ रोजगारमा आबद्ध हुनुपर्ने तथ्यांक छ । तर, नेपालमा प्रतिबद्धता मात्रै आउने र लगानी नभित्रिने गरेको भनाइ राष्ट्र बैंकको छ । आर्थिक वर्ष २०८०–८१ मा १० अर्ब २९ करोड रुपैयाँबराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँबराबरको विदेशी ऋणको लेखांकन भएको उल्लेख गरेको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया