काठमाण्डौंः दोलखामा सञ्चालनमा आएका करिब एक दर्जन क्याम्पस आर्थिक सङ्कट हुन थालेपछि धमाधम बन्द हुन थालेका छन्। क्याम्पसमा विद्यार्थी भर्ना कम हुँदै गएपछि आर्थिक सङ्कट हुँदा सञ्चालनमा आएका ११ मध्ये दुई वटा बन्द भइसकेका र अरू पनि बन्द हुने अवस्थामा रहेका बताइएको छ ।
भीमेश्वर नगरपालिका-६ मा व्यवस्थापन विषय सञ्चालित हिम्स कलेज र कालिञ्चोक गाउँपालिका-८ मा शिक्षा शास्त्र अध्ययन गराइरहेको कालीनाग क्याम्पस सुनखानी पूर्ण रूपमा बन्द भएका छन्। चौथो वर्षसम्म जम्मा २५ जना विद्यार्थी रहेको तामाकोशी गाउँपालिका मालुको गोल्मेश्वर क्याम्पस पनि आर्थिक सङ्कटमा रहेको छ ।
क्याम्पस प्रमुख सञ्जय खद्दकाले भन्नुभयो. “चार वर्षदेखि अनुदान नपाउँदा जेनतेन क्याम्पस बचाएर राखिएको छ। विद्यार्थीलाई परीक्षा फाराम भराउने र ओरिन्टेसन गरिदिने मात्र काम भएको छ।” मेलुङ गाउँपालिकाको मेलुङ क्याम्पसमा शिक्षा सङ्कायमा जम्मा ४०. शैलुङ गाउँपालिकाको शैलुङ क्याम्पसमा मानविकी सङ्कायमा ४० जना, जिरी नगरपालिकाको जिरी क्याम्पसमा शिक्षा सङ्कायमा ३३ र व्यवस्थापन सङ्कायमा १२ जना मात्र विद्यार्थी छन्।
विश्वविद्यालयको अनुदान पाउनेमा वैतेश्वर गाउँपालिकाको नाम्दु क्याम्पसमा शिक्षा सङ्कायमा ८५ जना, वैतेश्वरकै हनुमन्तेश्वर क्याम्पसमा शिक्षा सङ्कायमा ११४ जना विद्यार्थी रहेका छन् ।
सदरमुकाम चरीकोटस्थित जिल्लाकै जेठो गौरीशङ्कर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षा ११/१२ देखि स्नातकोत्तरसम्ममा पाँच सयभन्दा बढी विद्यार्थी छन् भने सदरमुकामकै चरीकोट बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायको विज्ञान, मानविकीको बिएसडब्लु र व्यवस्थापनमा गरी कुल २४५ जना विद्यार्थी अध्ययनरत छन् ।
कक्षा ११/१२ उत्तीर्ण हुनेबित्तिकै वैदेशिक रोजगारीमा जाने गर्दा क्याम्पस भर्नामा कमी आएको हो। कुनै दिन रामै सञ्चालनमा आएका गाउँका क्याम्पसलाई आर्थिक सङ्कट परेकाले बन्द हुन थालेका छन् । स्थानीय तहहरूले सहयोग नगरे विस्तारै सदरमुकामबाहेकका क्याम्पस बन्द हुँदै जाने सम्भावना देखिएको छ।गोप.
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया