असार २४, २०८२ मंगलबार July 8, 2025

सरकारले रोक्यो पन्चेन लामाको नेपाल भ्रमण

धर्मगुरु लामालाई नेपाल आउने विषय सरकारी संयन्त्रलाई मंसिर १८ मै थाहा भए पनि रोक्ने पहल भने बुधबार मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिजम राउन्ड टेबल’मा सहभागी हुन नेपाल आउन लागेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाई सरकारले रोकेको छ। बिहीबारदेखि आइतबारसम्म आयोजना हुन लागेको नानहाई बुद्धिजम राउन्ड टेबलमा सहभागी हुन करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरूसँगै उनी पनि आउन लागेका थिए। लामालाई भने सरकारले रोकेको हो।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए। प्रधानमन्त्री ओलीले चासो राखेपछि गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडीलाई समन्वय गर्न आग्रह गरेका थिए। गृहसचिव गोकर्णमणि दुवाडी र पर्यटन सचिव गणेशप्रसाद पाण्डेयबीच बुधबार लामो छलफल भएको थियो। त्यसपछि उनी नेपाल आउने नआउनेबारे परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासलाई यकिन गरिएको थियो। दूतावासले उनी नआउने जानकारी गरायो।

‘हामीले दूतावासलाई राम्रोसँग भन्यौं, दूतावासले पञ्चेन लामा आउने कार्यक्रम नै छैन भन्यो,’ गृह मन्त्रालयका उच्च अधिकारीले भने। तर उनी अर्कै नाममा आउन लागेको सूचना पनि मन्त्रालयमा पुगेपछि सरकारी संयन्त्रलाई हाइअलर्टमा राखिएको छ।

पञ्चेन लामा आउने समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले चासो राखेकै कारण अहिले लुम्बिनी विकास कोषका अध्यक्ष ल्हारक्याल लामा पनि पन्छिएका छन्। उनले सरकारी संयन्त्रलाई दोष दिएर अन्तिम समयमा पञ्चेनको भ्रमण रोकिएको भन्दै सञ्चारसम्पर्क बन्द गरेर बसेका छन्।

नागरिकलाई प्राप्त सूचनाअनुसार ल्हारक्याल काठमाडौंको याक एन्ड यती होटलमा रहेका छन्। कोषका पदाधिकारीका अनुसार ल्हारक्यालले नै यसको चाँजोपाँजो मिलाइरहेका थिए। ‘अहिले हल्ला भयो, ल्हारक्याल पन्छिए,’ कोषका ती पदाधिकारी भन्छन्। तर अहिले पर्यटन मन्त्रालयले भ्रमणको चाँजोपाँजो मिलाएको भन्दै उनी सञ्चार सम्पर्क बन्द गरेर बसेका हुन्।

नेपालमा भूराजनीतिको ठुलै प्रभाव परेका कारण उनको भ्रमण रोकिएको हुनसक्ने बताइएको छ। भारत र अमेरिकाले यो विषयमा नजिकबाट चासो राखेका कारण पनि नेपाल सरकारले उनको नेपाल भ्रमणमा रोक लगाएको हुन सक्ने आशंका गरिएको छ। चीनको छेन्दुबाट एयर चाइनाको चार्टर्ड विमान नेपाल आउँदै छ। धर्मगुरुहरू लिएर आउने भएकाले उनीहरूको सबै जानकारी नेपाललाई दिइएको छैन।

नेपाल सरकारले यो विषयमा औपचारिक जानकारी गराएको छैन। नेपालस्थित चिनियाँ दूतावासले पनि कुनै जानकारी दिएको छैन। नानहाई बुद्धिजम राउन्ड टेबलको भने काठमाडौंको याक एन्ड यती होटलमा हुने भएकाले यसको तयारी भव्य भइरहेको छ।

नागरिक उड्डयन प्राधिकरणमार्फत भैरहवा विमानस्थलमा चीनबाट चार्टर्ड विमान आउने जानकारी मात्रै दिइएको छ तर कोको आउँदै छन् भन्ने विवरण यो समाचार तयार पार्दासम्म प्राधिकरणले प्राप्त गरेको छैन। ‘चीनबाट धर्मगुरुहरू आउने जानकारी प्राप्त भएको छ, चार्टर फ्लाइट आउँछ भन्ने जानकारी छ तर कोको आउँदै हुनुहुन्छ भन्ने जानकारी छैन,’ प्राधिकरण स्रोतले भन्यो।

‘नानहाई बुद्धिजम राउन्ड टेबल’मा सहभागी हुन चीन सरकारले तयार पारेका धर्मगुरु पन्चेन लामा आउने भएपछि थप सुरक्षाका लागि पहल गरिएको थियो। भारत निर्वासनमा रहेका १४औं दलाई लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेपछि उनको सुरक्षा प्रबन्धसहित कार्यक्रमको तयारी थालिएको थियो। चिनियाँ धर्मगुरु पन्चेन लामा अहिलेसम्मको कार्यक्रम तालिकाअनुसार डिसेम्बर १४ मा नेपाल आइसक्ने बताइएको थियो।

उनी आउने जानकारी पनि कोषकै पदाधिकारीले बाहिर ल्याएका हुन्। उनी नेपाल आउने भएपछि २२७ सदस्यीय टोलीमा चिनियाँ सशस्त्र प्रहरीसमेत रहेका थिए।

तर उनको भ्र्रमणलाई नेपाल सरकारले रोक्ने सन्देश दिएपछि सुरक्षाकर्मीहरू पनि रोकिने बताइएको छ। नानहाई बुद्धिजम राउन्ड टेबलका लागि थाई एअरवेजको टिजी३१९ उडानबाट मंगलबार चीनका सम्मानित बौद्ध धर्मगुरु तथा बुद्धिस्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष यिन सुनको नेतृत्वमा १० सदस्यीय भ्रमण दल नेपाल आइसकेको छ।

भ्रमण दलमा सिउ जियावेन, सुन जिङहाओ, लिउ गुओसिनलगायत छन्। उनीहरूलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए। राउन्ड टेबलका लागि काठमाडौंको याक एन्ड यती होटलमा यसको तयारी भइरहेको छ। ‘नानहाई बुद्धिजम राउन्ड टेबल’मा सहभागी हुन चीन सरकारले तयार पारेका धर्मगुरु आउने भएपछि यसको थप सुरक्षासहित कार्यक्रम स्थलमा भव्य तयारी थालेको थियो। उनको स्वागतका लागि कोषका अध्यक्ष ल्हारक्याल आफैं उपस्थित हुने भएका थिए। पञ्चेन आउने समाचार बाहिर आएसँगै भ्रमण रोक्ने सरकार संयन्त्रको पहलपछि अध्यक्ष ल्हारक्याल तनावमा परेको स्रोतको दाबी छ।

विश्वभर सम्मानित ८९ वर्षीय दलाई लामाले आफ्नो पुनर्जन्मको अधिकार आफूमा निहित राखेका छन्। तर चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले आफ्नो मनोनीत उत्तराधिकारी ग्यात्सेन नोर्बुलाई अघि बढाइरहेको छ।

परम्परागत तिब्बती बौद्ध परम्परामा नोर्बुलाई पञ्चेन लामाका रूपमा प्रयोग गरेर दलाई लामालाई निस्तेज गर्ने चीनको प्रयास रहेको अमेरिकालगायत मुलुकले आरोप लगाएको अवस्थामा उनी नेपाल आउने समाचार बाहिरिएपछि सर्वत्र चासो बढेको थियो। नेपाल आउने भनिएको पञ्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाई सिसिपीले नियुक्त गरेको हो। धर्मगुरु लामालाई नेपाल आउने विषय सरकारी संयन्त्रलाई मंसिर १८ मै थाहा भए पनि रोक्ने पहल भने बुधबार मात्रै भएको हो।

दलाई पनि रोकिएका थिए

लुम्बिनी प्रदेशको तत्कालीन सरकारको प्रत्यक्ष संलग्नता र आयोजनामा २०८० फागुनको २८ र २९ गते आयोजित बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन दलाई लामा आउन लागेका थिए। अमेरिकी संस्था लरिएट्स एन्ड लिडर्सको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा सहभागी हुन आउन लागेका दलाई लामालाई नेपाल सरकारले अनुमति दिएको थिएन।

लरिएट्स एन्ड लिडर्स नामक संस्थाका संस्थापक सदस्यसमेत रहेका दलाई लामाको सन्दर्भले यो सम्मेलनसमेत विवादमा आएको थियो। नेपालभन्दा बाहिर भएका यस्तै तीनवटा कार्यक्रममा लामाको महत्त्वपूर्ण सहभागिता भए पनि नेपालमा उनी आउन लाग्दा रोकिएको थियो। नेपालमा भएको त्यो सम्मेलन चौथो थियो। लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरीले लामालाई नेपालमा ल्याउन ग्रिन सिग्नल दिएपछि तयारी थालिएको थियो। तर संघीय सरकारले अनुमति नदिँदा उनी नेपाल आएका थिएनन्। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार