असार २४, २०८२ मंगलबार July 8, 2025

सीमावर्ती अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरीलाई

खुला सीमामा भन्सार छलीका सामानदेखि लागुऔषध तथा हातहतियार तस्करीको नियन्त्रण चुनौतीपूर्ण बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले सीमावर्ती अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बल (एपिएफ)लाई दिने भएको छ । सीमा सुरक्षामा केन्द्रित गरी खटाइएको अर्धसैन्य बल सशस्त्र प्रहरीलाई कानुनी रूपमै यस्तो अधिकार दिएर थप सशक्त बनाउन लागिएको हो ।

हाल मन्त्रिपरिषद्मा रहेको सशस्त्र प्रहरीसम्बन्धी विधेयकमा यस्तो अधिकार दिने उल्लेख छ । विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट समेत स्वीकृत भइसकेको छ । अहिले पनि सीमा क्षेत्रमा अपराधमा संलग्नलाई नियन्त्रणमा लिई सशस्त्रले नेपाल प्रहरी, राजस्व अनुसन्धान कार्यालयलगायत निकायलाई बुझाउँदै आएको छ । तर, कानुनी रूपमा उसलाई नियन्त्रणमा लिने, खानतलासी गर्नेजस्ता अधिकार नहुँदा समस्या भोग्दै आएको छ । अब भने पक्राउ पुर्जी दिएरै सीमा अपराधमा संलग्नलाई पक्राउ गर्ने तथा खानतलासी गर्ने अधिकार सरकारले सशस्त्रलाई दिन लागेको हो । यसले काम गर्न सहज हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।

सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले ऐनमा नै यो विषय समावेश गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । खासगरी भारतसँग खुला सीमाका कारण सीमावर्ती अपराध अझै बढ्न सक्ने भएकाले सशस्त्रलाई कानुनी रूपमा पनि बलियो बनाएर खटाउनुपर्ने माग हुँदै आएको छ । नेपालको सीमामा खटिने भारतको सशस्त्र सीमा बल (एसएसबी)लाई पनि सीमा क्षेत्रका अपराध नियन्त्रणदेखि अनुसन्धानसम्मको जिम्मेवारी दिइएको छ । एसएसबीसँगको सहकार्यमै सशस्त्र प्रहरी सीमामा खटिँदै आएको छ, तर सीमावर्ती अपराध नियन्त्रणसम्बन्धी अधिकार उसलाई प्रस्ट रूपमा दिइएको थिएन ।

खुला सीमामा भन्सार छलीका सामानदेखि लागुऔषध तथा हातहतियार तस्करीको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । सीमामा इन्टेलिजेन्समा आधारित अपराध नियन्त्रणको संयन्त्र अझै बन्न सकेको छैन । यसले राष्ट्रिय सुरक्षामै चुनौती बढीरहेको भन्दै सुरक्षाविद्हरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

२४ वर्षअघि स्थापना भएको सशस्त्र प्रहरीलाई हाल सरकारले सीमा सुरक्षामा ‘डेडिकेटेड फोर्स’का रूपमा अघि बढाएको छ । जिम्मेवारी ठुलो दिए पनि अधिकार र स्रोतसाधन नभएको गुनासो सशस्त्र प्रहरी अधिकारीले गर्दै आएका छन् । सशस्त्रका अवकाशप्राप्त एआइजी रविराज थापा लामो समयदेखि सीमा सुरक्षामा खटिएको सशस्त्रलाई अधिकार दिन भने ढिला भइसकेको बताउँछन् । इन्टेलिजेन्समा आधारित सीमा सुरक्षामा सशस्त्रलाई खटाउनुपर्ने उनको जोड छ । आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार