असार २४, २०८२ मंगलबार July 8, 2025

सत्ता समीकरण फेरबदलको चर्चा

अफवाह फैलिँदा कर्मचारीले काम नगर्ने प्रधानमन्त्रीलाई भय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत असार १६ गते मध्यराति मुलुकका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीसहित सात बुँदे सहमति भयो । सोही सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते चौथो कार्यकाल प्रधानमन्त्री नियुक्त हुनभयो । तर, सरकार गठन भएको २४ घण्टा नबित्ने सरकार धेरै दिन नटिक्ने हल्ला सुरु भयो । त्यसयता सरकार फेरबदलको बहस पटक-पटक हुँदै आएको छ ।

कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएसँगै सत्ताबाट बाहिरिन पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य राजनीतिक दलका नेताहरूको आन्तरिक विश्लेषण दुई ठूला दलबीचको सत्ता सहकार्य विश्वासको मत लिनअगावै टुट्ने थियो । कतिपय राजनीतिक विश्लेषकहरूले पनि दुई दलबीचको सत्ता सहकार्यको आयुको दिनगन्ती प्रधानमन्त्रीले शपथग्रहण गरेसँगै सुरु भएको दाबी गरेका थिए ।

सरकार गठन भएको एक महिना नपुग्दै विपक्षी दलका नेता प्रचण्डले साउन २२ गते विराटनगर पुगेर ओली सरकार धेरै लामो नजाने भविष्यवाणी गर्नुभएको थियो । पछि उहाँले नै दशैँपछि (२०८१ असोज) मा सरकार ढल्ने दाबी गर्नुभयो । वेटिङ प्राइमिनिस्टर अर्थात् प्रमुख प्रतिपक्षी दलको नेताले सरकारबारे अनेक खालका टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले प्रहरीदेखि कर्मचारीको कार्यक्रममा पुगेर सरकार नढल्ने स्पष्टीकरण दिनुपरेको थियो ।

सत्ता साझेदार कांग्रेस–एमालेका शीर्ष नेताविरुद्ध भदौ १० गते काठमाडौंमा गौरा पर्व समारोहमा नाराबाजी भएपछि सरकार ढालिने चर्चा उत्कर्षमा पुग्यो । दशैँ र तिहारको आसपासमा पनि सरकार ढल्ने हल्ला उत्तिकै सार्वजनिक भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई ) सम्झौताको सन्दर्भमा त सरकार ढल्ने लगभग ९९ प्रतिशत ग्यारेण्टी नै तोकेर हल्ला चल्यो । अहिले पनि सरकार परिवर्तनको उल्टो बतास चलिरहेको छ । सरकार परिवर्तन हुँदै छ भनेर अफवाह फैलिनुमा युट्युबका बतासे विश्लेषक हावी छन् । सरकार बनेको भर्खर पाँच महिना पूरा भएको छ । तर, गठन भएको दिनदेखि नै नेपाली राजनीतिक वृत्तमा सबैभन्दा बढी हल्ला फैलिएको र चासो देखिएको प्रश्न हो सरकार कहिले ढल्छ ?

बारम्बार सरकार ढल्ने अफबाह फैलिँदा कर्मचारीले काम नगर्ने भय हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले पटक-पटक स्पष्टीकरण दिनुपर्ने अवस्था आएको छ । असार १६ मा कांग्रेस-एमालेबीच गठबन्धन बन्दा यसलाई ‘अन्तिम विकल्प’को सरकार भनिएको थियो । संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने जोखिमपूर्ण अभ्यास थाल्नुअघि कांग्रेस र एमालेबीच धेरै चरणको छलफल भएको थियो । कांग्रेस-एमालेको सात बुँदे सहमतिमा सरकारको नेतृत्व गरेको पाँच महिना चलिरहँदा प्रधानमन्त्री केपी ओलीले बारम्बार सरकारको स्थायित्वमाथि टिप्पणी गर्दै ठूलो दल कांग्रेसलाई आश्वस्त पार्ने कोसिस गरिरहनु भएको छ ।

प्रधानमन्त्री ओलीले पाँच महिनामा सार्वजनिक रूपमा आधा दर्जन बढीपटक कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ । अहिले कांग्रेसको एकल निर्णयमा सरकार तल-माथि हुने अंकगणित छ । प्रधानमन्त्री ओलीले सबैलाई चकित पार्नेगरी सहमतिअनुसार कांग्रेस सभापति देउवालाई पटक-पटक सत्ता हस्तान्तरणको समयसीमा तोकेर आफ्नै कार्यकालको काउण्टडाउन गरिरहनु भएको छ । हुन त यस बीचमा कांग्रेस र एमालेबीच केही मुद्दामा भने असमझदारी भने सतहमा आएका छन् । तर, कांग्रेस र एमालेका नेताहरू स-साना असमझदारीले सत्ता गठबन्धनमा तलमाथि नहुने दाबी गर्दै आएका छन् ।

सरकार परिवर्तन कुनै पनि हालतमा हुँदैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने दाबी गर्नुभएको छ । केही दिनअघि भारतीय ‘रअ’का पूर्व एजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे बुधबार रुपन्देहीका पत्रकारहरूले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताउनुभएको हो । अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको स्पष्ट पार्दै कांग्रेस-एमाले गठबन्धनका सूत्राधारमध्येका एक गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो सरकार कसैले काहीँबाट कोसिस गरे पनि बदल्नेवाला छैन । यो सरकारलाई साउन कट्दैन भन्थे, दशैँ तिहार कट्दैन भन्थे, त्यो त पूरा भइसक्यो नि । प्रधानमन्त्री चीनबाट फर्किन त देऊ भन्थे, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन । अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला फैलाइरहेका छन् ।’

स्थिरता र सुशासनका लागि कांग्रेस-एमालेको सरकार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको जिकिर गर्नुभएको छ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भनेझैँ एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस-कसका के-के नाच चलेका हुन् ? भनेर जनताले भन्न थालेपछि नयाँ सरकार गठन भएको स्पष्टीकरण दिँदै भन्नुभयो, ‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् । यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएका छन् ।’

कसैले चाहेर पनि यो सरकार ढल्दैन : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दाबी गर्नुभएको छ । समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएर यो राष्ट्रको एजेण्डा भएको र वर्तमान सरकारले सोही दिशामा काम गरिरहेको दाबी गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन । यथार्थ यही हो, नडराई ढुक्कले काम गर्नुहोस् । लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दलप्रति निराशा फैलाउने काम भइरहेको छ ।’ हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार