असार २४, २०८२ मंगलबार July 8, 2025

दलाई लामा सुटुक्क नेपालमा

बौद्धमार्गी धार्मिक नेताहरूलाई भेटेर सुटुक्क भारत फर्केको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा निर्वासित जीवन बिताइरहेका धार्मिक नेता दलाई लामा आउँदो जुलाई ६ मा ९० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। ९०औं जन्मदिन भव्य रूपमा नेपालमा मनाउन लामाका दुई अनुयायी नेपाल आएर विभिन्न गुम्बा तथा धर्मगुरुहरूलाई भेटेर भारत पुगेका छन्।

सन् १९५९ मा तिब्बतबाट भागेर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका लामाका मन्त्रिपरिषद् पूर्वसांसदद्वय न्यामगेल डोल्कर ल्यागरी, लेग्यन तुप्तेन गाल्सेन नेपाल आएर आउँदो जुलाईमा मनाइने जन्मदिनलाई भव्य बनाउने विषयमा नेपालमा रहेको दलाई लामाको सम्पर्क कार्यालय, बौद्ध, फर्पिड, स्वयम्भूका विभिन्न गुम्बाहरूको भ्रमण गरेर त्यहाँका बौद्धमार्गी धार्मिक नेताहरूलाई भेटेर सुटुक्क भारत फर्केको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ।

उनीहरूले तिब्बतमा अहिले पनि चीनले दलाई लामाका अनुयायीमाथि दमन गर्ने गरेको र विश्वको ध्यान केन्द्रित गर्न नेपाल आएर अहिलेदेखि नै तयारी गर्न थालेको बताइएको छ । स्रोतका अनुसार उनीहरूलाई नेपालस्थित दलाई लामाको सम्पर्क कार्यालयका अधिकारीहरूले विभिन्न गुम्बाको भ्रमण गराएर दलाई लामाको जन्मदिन भव्य बनाइदिनसमेत आग्रह गरेका थिए ।

नेपालले एक चीन नीतिअन्तर्गत नेपालमा दलाई लामाका कुनै पनि गतिविधि गर्न रोक लगाएको छ भने नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बतियन नागरिकहरूलाई नेपालमा बस्न खान दिए पनि दलाई लामाका कुनै पनि गतिविधि गर्न भने रोक लगाउँदै आएको छ ।

चीनले नेपालमा दलाई लामाको गतिविधि खुलेआम रूपमा हुने गरेको भन्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै आए पनि दलाई लामाका अनुयायीहरूले भने विभिन्न गुम्बाका जुलाई ६ मा जन्मदिन, मार्च १० मा विद्रोह दिवस भव्य रूपमा मनाउने गरेका छन् ।

नेपालले उनीहरूको गतिविधिमा रोक लगाएपछि पश्चिमा देशहरूले भने नेपाल सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । नेपालमा झन्डै २० हजारको हाराहारीमा तिब्बती शरणार्थी रहेको अनुमान गरिएको छ । पछिल्लो समय सरकारले शरणार्थीको दर्जा दिन बन्द गरेपछि विभिन्न बाटो भएर नेपाल आउने शरणार्थीहरू वर्गीकरणमा पर्ने गरेका छैनन् ।

दलाई लामाको मन्त्रीमण्डलका दुई पूर्व संसादहरूको नेपाल भ्रमणका बारेमा नेपाल सरकारलाई जानकारी नभएको गृह मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार उनीहरू नेपाल आएको भन्ने जानकारी अहिलेसम्म कुनै पनि सुरक्षा निकायले जानकारी गराएको छैन ।

यसअघि काठमाडौंमा भएको ननहाई बुद्धिजम राउन्ड टेबलमा चीन सरकारले हुर्काउँदै आएका पन्चेन लामालाई सहभागी गराउने भनिए पनि लामाको नेपाल आउने कार्यक्रम रोकिएको थियो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया