पाटन (ललितपुर), पुस ८ गते । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा आएपछि उद्धार भइरहेको उहाँले बताउनुभएको हो ।
“गोदावरी नगरपालिका –३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न १५ः३० बजेदेखि र ६ जनाको अर्को समूह १६ः०० बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएको जानकारीमा आएको छ ।
हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका छन् । अहिले उनीहरू प्रहरीसँग सम्पर्कमा छन् । उद्धारका लागि हाल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ” सूचना अधिकारी पौडेलले भन्नुभयो । हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको उहाँले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया