काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारको सूची प्रकाशित भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको सूचीअनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ भने सचिवमा पनि ३ जनाको उम्मेदवारी परेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट कानुन व्यवसायीको ‘महागठबन्धन’ बनेको छ । एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपिएलए)बीच अध्यक्ष र सचिवको मुख्य पदमा भागबण्डा भएको हो । साथै, रास्वपा र राप्रपा समेतको सहकार्य यही गठबन्धनमा भएको छ ।
यस गठबन्धनबाट अध्यक्षमा एमालेनिकट महेशकुमार थापाले उम्मेदवारी दिनुभएको छ भने सचिवमा माओवादीनिकट प्रभाकर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, उपाध्यक्षमा राप्रपानिकट उत्तमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा रास्वपानिकट रामहरि त्रिपाठीले उम्मेदवारी दिनुभएको छ । महिला सहसचिवमा भने श्रुतिकुमारी रेग्मीले उम्मेदवारी दिनुभएको छ ।
वरिष्ठ अधिवक्ता पोखरेलको नेतृत्वमा कांग्रेस र समाजवादी गठबन्धन
यता, नेपाली कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूको संगठनले संयुक्त प्यानल घोषणा गरेको छ । कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको नेतृत्वमा उक्त प्यानल बनाइएको छ । पोखरेल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठनका साझा उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेस र समाजवादी मिलेर बनाइएको यो गठबन्धनमा डिएलएले अध्यक्षसहित १० सिट प्राप्त गरेको छ । एसपिएलएले उपाध्यक्षसहित ४ सिट प्राप्त गरेको छ ।
उपाध्यक्षमा एसपिएलएका अमरबहादुर राउतलाई अघि सारिएको छ । एसपिएलएबाटै महिला सहसचिवमा पुनदेवी महर्जन ‘सुजना’ र सदस्यमा दुर्गामोहन श्रेष्ठ, प्रदीप राजवंशी छन् । डिएलएबाट सचिवमा रमणकुमार कर्ण, कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत र खुला सदस्यमा इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, प्रमोद रेग्मी, पुरुषोत्तमप्रसाद लोहनी छन् ।
तीन-तीन जना अध्यक्ष, उपाध्यक्ष र सचिवमा
यसैगरी, अध्यक्ष पदमा वरिष्ठ अधिवक्ताद्वय पोखरेल र थापाका अतिरिक्त अधिवक्ता प्रेमसिंह धामीले समेत उम्मेदवारी दिनुभएको छ । त्यस्तै, उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
सचिव पदका लागि रमणकुमार कर्ण, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठले दाबी पेस गरेका छन् । सहसचिव (महिलामा) पुनदेवी महर्जन र श्रुतिकुमारी रेग्मीको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठीको उम्मेदवारी परेको छ । सदस्य (महिला)मा शशि बस्नेत र सुधा धितालबीच प्रतिस्पर्धा हुने भएको छ । बाँकी ९ सदस्य पदका लागि १९ जना चुनावी मैदानमा उत्रिएका छन् । मतदान पुस २० गते हुनेछ । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया