काठमाडौं । काठमाडौंको तीनकुनेस्थित जग्गा विवाद ५० वर्षदेखि जस्ताको तस्तै छ । पञ्चायत स्मारक पार्क बनाउन अधिग्रहण गरिएको काठमाडौं-३२ स्थित अर्बौं मूल्यको जग्गा स्मारक बनाउन तत्कालीन सरकारले २०३१ सालमा अधिग्रहण गरेको थियो । तर, जग्गा अधिग्रहण गरेको ५० वर्षसम्म न सबै जग्गा धनीले मुआब्जा पाएका छन् न पार्क नै बन्न सकेको छ ।
तीनकुनेको ५३ रोपनी जग्गामा पञ्चायत स्मारक निर्माण गर्न तत्कालीन श्री ५ को सरकारले २०३१ साल जेठ १४ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो । स्मारक बनाउने निर्णय भएको झण्डै २० वर्षपछि २०५२ सालमा ५३ रोपनीको लगत कट्टा गरी तत्कालीन श्री ५ को सरकार र सडक विभागको नाममा जग्गा कायम भएको थियो । तर, स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेपछि उत्प्रेषणको आदेशबमोजिम लगत कट्टा बदर भएको थियो । २०५९ असार ३२ गते जग्गाको मूल्यांकन प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ कायम गरिएको थियो । त्यसको साढे पाँच वर्षपछि मात्रै सरकारले जग्गाको मुआब्जा वितरण थालेको थियो । त्यतिबेला ५३ मध्ये २१ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको थियो । २५ रोपनीको हालसम्म मुआब्जा वितरण भएको छैन ।
जग्गाधनीहरूले अहिले बाँकी जमिनको मुआब्जा चलनचल्तीको मूल्यअनुरूप नै दिनुपर्ने माग राख्दै आएका छन् । तर, सरकारले आधा जग्गाधनीलाई पहिले नै मुआब्जा दिइसकेकाले बाँकीलाई चलनचल्तीको मूल्य दिन नसक्ने बताउँदै आएको छ । अनि जग्गा विवाद समाधान गर्ने बेला बेलामा पहल र छलफल र चर्चा भने हुने गरेको छ । तर, समाधान कसैले गरेका छैनन् । यसअघि नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । तर, उक्त निर्देशन अझैसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी, गत जेठमा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाउनुभएको थियो । छलफलमा उहाँले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिनुभएको थियो । तर, उपलब्धि भने भएन ।
अहिले फेरि काठमाडौं महानगर प्रमख बालेन्द्र साह ‘बालेन’ले तीनकुने जग्गा प्रकरणको प्रसंग उठाउनुभएको छ । शुक्रबार तीनकुनेमा आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्न आउनुभएका उहाँले तीनकुनेको जग्गा सरकारले लुटेर खाएको आरोप लगाउनुभयो । उहाँले यसअघि पनि तीनकुनेको जग्गाबारे कडा टिप्पणी गर्दै आउनुभएको थियो ।
सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ : बालेन
काठमाडौं महानगर प्रमुख बालेन साहले तीनकुने जग्गाको मुआब्जा वितरण प्रक्रियामा सरकारले कुनै काम नगरेको आरोप लगाउनुभएको छ । कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उहाँले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको आरोप लगाउनुभयो । अहिले दुई तिहाइको बलियो सरकारले पनि यो काम गर्न नसके कहिल्यै समाधान नहुने उहाँको भनाइ थियो । ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो । मुआब्जाको कुनै पनि प्रोसेस भएको छैन । दुई तिहाइको सरकारले चाहृयो भने जे पनि गर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नैै, स्रोत-साधन आफ्नैै, सबै आफ्नैै । वडा समिति पनि त्यही सरकारको, प्रधानमन्त्री पनि त्यही सरकारको, अर्थमन्त्री पनि त्यही सरकारको । अहिले पनि यो काम भएन भने कहिल्यै पनि हुँदैन ।’
उहाँले मुआब्जा विवाद समाधान गर्न दबाब दिन पनि स्थानीयलाई आग्रह गर्नुभयो । ‘मलाई पनि भन्नुहोला, उहाँहरूलाई पनि भन्नुहोला । यथाशीघ्र समाधान होस् भन्ने शुभकामना,’ उहाँले भन्नुभयो, ‘हाम्रो उमेरभन्दा पनि बढी भयो होला यहाँको जग्गा लुटिएको । यहाँको मान्छेले दुःख पाउनुभएको छ । पचासौँ वर्षदेखि तपाईंहरूको समस्या समाधान भएको छैन । मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा मुआब्जा दिन अपोजिसनले मान्छ कि मान्दैन ? भन्ने गरिन्थ्यो । अर्को सरकार हुँदा बहुमत हुनेले मान्छ कि मान्दैन ? भन्ने हुन्थ्यो । यसपालि त दुई तिहाइको सरकार छ, तर केही पनि भएको छैन । कोही नेताले घरमा आएर काम हुँदै छ भनेर आश्वासन दिनुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । अहिलेसम्म मुआब्जा दिन केही प्रोसेस भएको छैन ।’ आजको हिमालय टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया