जेठ ६, २०८१ आइतबार May 19, 2024

मैले दिएको उपाय प्रयोग गरिदिएको भए आज प्रचण्डको स्थिति अर्कै हुन्थ्यो : हरिबोल गजुरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब नेपाल कम्युनिष्ट पार्टी विधिवत रूपमा फुट्यो ? हिजो तपाँईहरूले बैठक राखेर भन्नुभयो । प्रधानमन्त्रीको बैठक गलत, असंवैधानिक छ भनेर । गलत भनिसकेपछि प्रधानमन्त्रीको कदमलाई तपाईहरूले अस्वीकार गर्नुभयो । बालुवाटारमा बसेर त्यसो भन्न मिल्छ ?

दुई जना अध्यक्ष भइसकेपछि सल्लाह नै नगरिकन अध्यक्षको रूपमा उहाँहरूले प्रचण्डलाई प्रस्तुत गरिसकेपछि उहाँसँग सल्लाह नगरिकन रोक्न मिल्दैन थियो । त्यो अलि ठिक भएन । प्रधानमन्त्रीको आलोचना होइन, अध्यक्षको भूमिकाले उहाँको मिलेन । अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष के.पी. शर्मा ओलीसँग छलफल गरेर यो स्थायी समितिको जारी बैठकलाई अघि बढाएर छिटोभन्दा छिटो पहल गर्नुपर्छ ।

पहल गर्ने भनेर भएको छैन परिणाम पाएका छ्रैनन् । पार्टी समानान्तर शक्ति संघर्षमा लागिसक्यो त ? 

निराश हुने कुरा हुँदैन । आशावादी नै हुनुपर्छ । प्रयत्न जारी छ । प्रयत्न हुुनुपर्छ । एकताको कुनै विकल्प छैन । पार्टी फुटले राष्ट्र दुर्घटनातर्फ लाग्छ । त्यसमा संयम भएर पहल गर्नुपर्छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ-अब स्थायी समितिको बैठक राखेर प्रधानमन्त्रीको आलोचना गर्ने समय गईसक्यो । तपाई के भन्नुहुन्छ ?

प्रधानमन्त्रीको आलोचना गर्ने एजेण्डा देखिएको छैन ।

आलोचना त गरिरहनुभएको छ नि बालुवाटारमा ?

हिजो प्रधानमन्त्रीको विषयमा समीक्षा, आलोचना नै भएको छैन ।

किन भएको छैन ? प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालले आलोचना गरेको कुरा बाहिर आईसकेको छ ?

छैन । हिजो केही आलोचना भएको छैन ।

त्यसो भए अब प्रधानमन्त्रीलाई दुबै पदमा राखेर जान प्रचण्ड, माधव नेपाल तयार भएका हुन् ? वामदेव गौतमको प्रस्ताव मान्न तयार भएको हो ?

उहाँहरूले प्रस्ताव ल्याउनुभयो, हाम्रा पनि प्रस्तावहरू होलान् । तर पनि सहमतिबिना जाने कुरा भएन । सहमतिमा जे हुन्छ, त्यही गर्ने हो ।

सहमतिको लागि तपाईहरूले भन्नुभएको छ-पार्टी अहिलेको अवस्थामा अगाडि बढाउनुको विकल्प छैन । एकताबद्ध बनाएर अगाडि लग्नुपर्छ । तर सहमति हुन सकेन नि ?

सहमतिको लागि अध्यक्ष प्रचण्डलाई मैले एउटा उपाय बताएको थिएँ । हिजो राम्रो अवसर थियो । तर उहाँले प्रयोग गर्न सक्नुभएन । आँट गर्नुभएन । त्यो प्रयोग गरिदिएको भए आज पार्टीको कुरा अर्कै ठाउँमा पुग्थ्यो । गर्छु पनि भन्नुभयो उहाँले । हाम्रो पुरानो स्थायी समितिका साथीहरूमाझ हरिबोलजीले एउटा सुझाव दिनुभएको छ, म त्यो प्रयोग गर्छु भन्नुभयो तर त्यो प्रयोग गर्ने हिम्मत गर्न सक्नुभएन । सायद त्यो प्रयोग गर्ने हिजो उचित अवसर आएको थियो । अब त्यो प्रयोग गरिदिएको भए आज प्रचण्डको स्थिति अर्कै हुन्थ्यो । तर अब मैले दिएको उपयुक्त सुझाव पनि उहाँले गम्भीरतापूर्वक लिनुभएन ।

तपाईले दिएको सुझाव के थियो ? बुँदागत रूपमा भनिदिनुहोस् न ।

म अहिले भन्दिनँ । मैले उहाँलाई दिएको सुझाव उहाँले लागू गरिदिएको भए तपाईलाई थाहा भईहाल्थ्यो ।

तर पनि तपाईले दिएको सुझाव सञ्जीवनी बुटि थियो कि पार्टी एकताको लागि ?

सञ्जीवनी नै थियो, अर्कै ठाउँमा पुग्थ्यो । प्रचण्डको हिम्मत, साहसमा कमी आउँदैछ । यो दुःखदायी कुरा हो । त्यत्रो नेतृत्व गरेको, संविधान निर्माणमा अहम भूमिका खेलेको, वामगठबन्धन गरेर पार्टी एकता गरेको पुरुषमा आज त्यो हिम्मत घट्दै गईरहेको छ ।

त्यो कुरा तपाईले के.पी. शर्मा ओलीलाई भन्नुभएन ?

के.पी. शर्मा ओलीलाई पनि मैले केही सुझावहरू दिएको थिएँ । प्रचण्डले मैले दिएको सुझाव दिएको भए के.पी. ओलीले त्यो सुझाव प्रयोग गर्नुहुन्थ्यो । विश्वास थियो मलाई ।

तपाईले दिएको सुझाव के.पी. शर्मा ओलीले पनि मान्नुहुन्थ्यो यदि प्रचण्डले प्रयोग गर्नुहुन्थ्यो भने ?

प्रचण्डले त्यो कुरा पहल गरिदिनुभएको भए पार्टी त्यो ठाउँमा पुग्थ्यो । उहाँ त्यसमा सहमत पनि हुनुहुन्थ्यो ।

तपाईले दिएको सुझाव के हो ?

होइन, म अहिले बताउँदिन । त्यो सायद हिजोलाई ठुलो अवसर थियो । पार्टीलाई निकास दिनुपर्छ । पार्टीलाई अग्रगामी रूपमा अगाडि लैजानुपर्छ । नयाँ संविधान, संसद, पार्टी बन्यो, अब हामी पुरानै तरिकाले चलाइराखेका छौँ, कसरी चल्छ ? नयाँ तरिका, विधि अपनाउनुपर्छ । नयाँ नीति, कार्यशैली चाहियो । हाम्रो समाजवादी कार्यदिशा छ । आचरण, कार्यशैलीमा बदलाव चाहियो । हिजोको नेताको तौरतरिका र आजका नेताका तौरतरिका एउटै छ । संविधान नयाँ बनेपछि तौरतरिका पनि बदलेको छैन । कुरा समाजवादको गर्ने, संविधान समाजवादी बनायौँ भनेर गर्व गर्ने अनि त्यसलाई कार्यान्वयन गर्न आफुमा बदलाव चाहिँदैन ? त्यो कुरा उहाँहरूले गर्न सकिरहनु भएको छैन । त्यसैले राष्ट्र संकटमा परिरहेको छ ।

होइन राष्ट्र संकटमा परिरहेको छ । त्यसमा तपाईहरूले पनि पहल गरिरहनु भएको छ । तपाईले दिएको प्रस्ताव के हो त प्रचण्डलाई ?

म पछि समय आएपछि भनौँला । म अहिले भन्दिनँ । हिजो उचित अवसर पनि थियो । साथीहरूको साथ पनि थियो । उहाँले म गर्छु भन्नुभएको थियो, त्यो बेलामा ।

कतिजना हुनुहुन्थ्यो त्यतिखेर ?

स्थायी कमिटिकमा पन्ध्र/सोह्र जना साथीहरू हुनुहुन्थ्यो । म अन्तिममा हरिबोल जीले दिएको अस्त्र प्रयोग गर्छु भनेर भन्नुभयो उहाँले । आफ्नो कुरा प्रस्ट रूपमा राख्न सक्ने हरिबोल गजुरेल भनेर उहाँले भन्नुभयो तर त्यो ठाउँबाट फेरि उहाँ १८० डिग्रीमा फर्कनुभयो । स्थायी समितिमा बोलेको कुरा पछि १८० डिग्रीमा फर्कने भनेको कुरा त दुःखदायी कुरा हो नि ।

प्रचण्ड यसरी किन युटर्न हुनुभयो तपाईको कुरा नमानेर ?

मलाई पनि त्यही अचम्म लाग्छ । प्रचण्डको निर्णय गर्नसक्ने क्षमतामाथि नै प्रश्न चिह्न खडा भएको छ ।

माधव कुमार नेपालको दबाबमा पर्नुभयो कि उहाँ ?

खोइ कसको दबाबमा पर्नुभयो । म पनि अचम्ममा परे । त्यत्रो स्थायी समितिको बीचमा म गर्छु भनेको कुरा पनि गर्नुभएन ।
तपाईले स्थायी समितिमा भएको कुरा १, २, ३ गरी बुँदागत रूपमा बताइदिनुहोस् न ?
कैयौँ कुरा अहिले बोलिदिँदा त्यो राम्रो पर्दैन ।

तपाई एउटा कुरा त बताइदिनुहोस् ?

कुरा एउटै थियो । यो एउटै यस्तो चिज थियो । त्यो प्रयोग गरिदिएको भए आज प्रचण्डको हाइहाइ हुन्थ्यो । पार्टी नै अर्कै दिशातर्फ लाग्थ्यो । प्रधानमन्त्रीले पनि त्यो सुझाव प्रयोग गर्नुहुन्थ्यो भनेर मलाई पूर्ण विश्वास छ । प्रधानमन्त्रीले पनि अन्तिममा त्यो त हुनसक्छ भनेर भन्नुभएको थियो । त्यतातिर उहाँ लाग्दै लाग्नुभएन ।

विधि र विधानको लागि मेरो लडाँइ हो भनेर माधवकुमार नेपालले भनिरहनु भएको छ ?

विधि र विधानको कुरा पनि हो । म त नयाँ विधिको आवश्यकता पर्छ, नयाँ सिस्टमको गाडी आएपछि ड्राइभरले गाडी चलाउन नयाँ तौरतरिकाहरू सिक्नुपर्छ, त्यसो भएपछि मात्र त्यो गाडी चलाउन सकिन्छ । जानेको ड्राइभर त्यहाँ राख्नुपर्छ । नयाँ सिस्टमलाई पुरानै सिस्टमबाट चलायो भने दुर्घटना हुन्छ । त्यसले समस्या समाधान गर्दैन । हामीलाई नयाँ नीति, विधिको आवश्यकता हो । त्यो कुरालाई हामीले गम्भीर रूपले उठाइरहेका छौँ । स्थायी समितिको बैठकमा पहिला पनि मैले उठाएको थिएँ, अहिले पनि उठाएको छु ।

प्रचण्डले के.पी. शर्मा ओलीलाई सहयोग गर्नुपर्छ भन्ने पक्षमा तपाई हुनुहुन्छ ?

संविधान निर्माण जस्तो कष्ट साध्य काम पनि २ चोटी संविधानसभाको निर्वाचन गराएर उहाँहरूले गर्नुभयो । वाम गठनबन्धन गर्नुभयो, ऐतिहासिक काम गर्नुभयो । त्यसपछि उहाँहरू चुक्नुभयो । आफुलाई बदल्न सक्नुभएन । नयाँ संविधान, नयाँ पार्टी बनिसकेपछि नयाँ तरिकाबाट आफुलाई प्रस्तुत गरेको भए आज अर्कै ठाउँमा पुग्थ्यो । उहाँहरू समर्थन, बहस, भेटघाट गर्ने तरिका, कार्यशैली, आचरण गर्ने तरिका पुरानै अनि नयाँ संविधान के को लागि ? कागजको खोस्टो हो त्यो ? संविधान बनायौँ भनेर हिम्मत गर्ने अनि आफुलाई बदलेर देखाउनुपर्छ । संविधान बनायौँ भन्ने संविधान अनुसार आचरण नबदल्ने अनि कसरी देश अगाडि बढ्छ ?

हिजो स्थायी समितिको बैठक नराखिकन सहमति गरेको भए हुन्थ्यो ?

बैठक बैठक नै होइन । उहाँहरूले बोलाइदिनुभयो, एउटा संकट पर्न गयो । एउटा नजिर बस्ने भयो । एउटा अध्यक्षले एक्लै रोकिदिनुभयो । रोकेपछि अर्को नजिर बिग्रिने भयो । नजिर बन्ने भयो भनेर त्यहाँ बसेर छलफल गरेर, बैठक होइन त्यो ।

स्थायी समितिको बैठक बसेको होइन हिजो ?

होइन, होइन । त्यो बैठक हो भन्नुहुन्छ भने हो । होइन भन्नुहुन्छ भने होइन ।

नारायणकाजी श्रेष्ठले बैठक भनेर नै भन्नुभएको छ, प्रवक्ताले ?

बैठक पनि हो जस्तो पनि, होइन जस्तो पनि । त्यस्तो भएर बैठक टुंगियो ।

अब यसमा बहुमत छ, स्थायी समितिको बैठकमा ?

बहुमत र अल्पमतको कुरा होइन । बहुमतबाट समस्याको समाधान हुँदैन । बहुमत र अल्पमत गर्ने भनेको त पार्टी फुटाउनु सरह नै हो अनि महाधिवेशनसम्म पुग्छ त पार्टी ?

महाधिवेशनसम्म पार्टी एकताबद्ध भएर जाला ?

पु¥याउनै पर्छ । एउटा नेताको बुद्धि बिग्रियो भने अर्को नेताले सम्हाल्नुपर्छ । मैले भनेको हँुदैन भने नैतिक रूपमा म बस्नुको अर्थ हुँदैन भनेर राजीनामा दिएको इतिहास छ । त्यति आँट त नेताहरूमा हुनुपर्छ ।

त्यसो भए प्रचण्डले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ ?

२ ओटा पाइलट हुँदा एउटा पाइलटले हाँक्न सकेन भने अर्को पाइलटले हाँक्नुपरेन ? एउटा पाइलटले सकेन र त २ ओटा पाइलटको बल राखेको होला ।

महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री नै रहने भनेर हिजो के.पी. शर्मा ओलीले भन्नुभएको छ । सहमति हुन सक्छ कि सक्दैन ?

अहिले मैले सहमति हुन सक्छ कि सक्दैन भनेर ठ्याक्कै भन्न सक्दिँन । नेकपा हिजोको ठाउँमा छैन । यो बहस छलफलले अन्तर्गुणन भएको छ । एउटा अध्यक्ष हुने पार्टी चलाउने र अर्को प्रधानमन्त्री हुने मलाई लागिरहेको छ । मैले भनेको त्यही हो । मैले बाहिर भनेको पनि त्यही हो । छलफलमा भनेको पनि त्यही हो । प्रधानमन्त्रीसँग भनेको पनि त्यही हो । प्रचण्डसँग भनेको पनि त्यही हो । सायद मैले दिएको सुझावलाई अंगिकार गरिदिएको भए सायद आज पार्टी अर्कै ठाउँमा हुन्थ्यो । त्यत्रो राम्रो अवसर गुम्यो । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया