असार २४, २०८२ मंगलबार July 8, 2025

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रायपुर, भारत, १० माघ । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए ।

सरकारी वकिल सुनिलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए ।

केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताए ।

छैटौं व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या अभियोगमा आजिवन जेल सजाय सुनाइएको’ उनले बताए ।भारतमा मृत्युदण्डको व्यवस्था भएपनि व्यवहारमा यो विरलै दिइने सजाय हो ।

एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना भएका छन्।

पूर्वी शहर कोलकाताको एक अदालतले गत वर्ष ३१ वर्षीया एक डाक्टरको बलात्कार र हत्या गरेको अभियोगमा एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

गत अगष्टमा सरकारी अस्पतालमा उनको रगताम्य शव फेला परेपछि राष्ट्रव्यापी आक्रोश र महिला हिंसाको दीर्घकालीन मुद्दालाई लिएर विरोध प्रदर्शन भएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।

सन् २०२० को मार्चमा बस आक्रमणमा दोषी ठहरिएका चार जनालाई मृत्युदण्ड दिइएको थियो ।

गत हप्ता दक्षिणी राज्य केरलामा एक किशोरीमाथि पटक–पटक यौन दुव्र्यवहार गरेको आरोपमा चार दर्जनभन्दा बढी पुरुषलाई पक्राउ गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया