बैसाख २१, २०८३ सोमबार May 4, 2026

शासकीय स्वरुपदेखि व्यवस्थापकीय प्रणालीमा पनि चेञ्ज गर्नुपर्छ : नेकपा महासचिव, विप्लव (अन्तवार्ता)

हाम्रो जोड त ०८४ अघि नै एउटा निष्कर्षमा पुगौँ भन्ने हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

समाजवादी मोर्चा र पार्टी एकताको विषयबाट, तपाईंहरू माओवादीसँग कहिले मिल्दै हुनुहुन्छ ?

अहिले हामी समाजवादी मोर्चामै छौँ । बैठकहरू बस्ने काम भइरहेको छ । तपाईं आउनुअघि (अन्तरवार्ता अघि) मात्रै मोर्चाको कर्णाली प्रदेशस्तरीय बैठक बस्यौँ । कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइसकेकै छ । आगामी कार्यक्रम कसरी गर्ने भन्ने विषयमा पनि छलफल चलेकै छ । साथै मोर्चाको नेतृत्व प्रणालीको विषयमा पनि समीक्षा भइरहेको छ ।

यद्यपि, एकतामा केही अलमल हुनुका साथै केही कमी–कमजोरी छन् । जुन गतिमा हामीले मोर्चालाई अगाडि बढाउन सक्नुपर्थ्यो, त्यो अनुसार गर्न सकेको अवस्था छैन ।

एकताको विषयमा अलमल कहाँ भयो ?

अहिले समग्रमा मोर्चाकै तर्फबाट कमजोरी भए भन्ने छ । यद्यपि, मसिना कुरा पूरा गर्न बाँकी छ । अहिले सबै ‘पोजेटिभ’ कुरा भइरहेको अवस्था हो । निष्कर्ष आउला ।

पार्टी एकताका लागि कुरा नमिलेको ठ्याक्कै कुन विषयमा हो ? सोच, विचार वा साङ्गठनिक परिचालन, केमा कुरा मिलेन ?

साङ्गठनिक परिचालनमा हो । बाँकी विषयमा खासै समस्या छैन । १५ गते हाम्रो काठमाडौँमा एउटा अन्तरक्रिया पनि छ । त्यसपछि हामी अरु कार्यक्रम अगाडि बढाउने छौँ । यद्यपि, तपाईंले भनेजस्तै केही समस्या छन् । ती मिल्दै जान्छन् भन्ने लाग्छ । सबै मिल्दै जाने, सहकार्य गर्दै जाँदा कम्युनिस्ट पार्टीहरूबिच एकता गर्ने उद्देश्य हामीले कायम राखेको हो ।

तपाईंको सुरुवाती पार्टी एकता त माओवादीसँग हो भन्ने सुनिन्छ, तर तपाईंले केन्द्रीय कमिटीको संख्या बढाएकाले नेताहरूको व्यवस्थापनमा समस्या भएर एकता प्रक्रियामा ढिलाइ भएको भन्ने सुनिन्छ नि ?

त्यस्तो हैन । सङ्गठनात्मक क्षेत्रमा प्रस्टै भइसकेको अवस्था छैन । हामीले तीन वटा विषयमा छलफल गरिरहेका छौँ । एउटा राजनीतिक विचार, दोस्रो कार्यदिशा र तेस्रो सङ्गठनात्मक व्यवस्थापन । यसमा हामीभन्दा पनि बढी अलमल माओवादीमा देखिएको छ ।

त्यो अलमल प्रचण्डबाट वा माओवादीका अन्य नेताहरूबाट भएको हो ?

नेतृत्वमा भएका कारण प्रचण्ड कमरेडले त्यसलाई एकीकृत र केन्द्रीकृत गर्न नसकेको देखिन्छ । खैर, त्यो उहाँहरूको कुरा हो । हामीले त एकताका लागि केन्द्रीय कमिटीबाट पास नै गरेर आएको हो । अहिले उहाँहरू पनि छलफल गर्दै हुनुहुन्छ । राम्रै होला भन्ने लाग्छ ।

एकता–एकता भनेको धेरै समय भइसक्यो, अब एकता हुन कति समय लाग्छ ? ०८४ को चुनावभन्दा अघि वा पछि ? तपाईंहरूबिच केही समयसीमा त होला नि ?

—हाम्रो एकता पहिला माओवादीसँगै हो । यदि माओवादी पार्टीभित्र जिम्मेवारीपूर्वक छलफल भयो र एकीकृत बुझाइ बन्यो भने ०८४ भन्दा अगाडि नै एकता हुन सक्छ । त्यसो नभएको खण्डमा मोर्चामार्फत काममा जाने र एकताको विषयलाई निरन्तर छलफलमा राखिराख्ने पनि हुन सक्छ ।

हाम्रो जोड त ०८४ अघि नै एउटा निष्कर्षमा पुगौँ भन्ने हो ।

तपाईंको पार्टी चुनावमा पनि जाने कुरा गरिरहेको छ, ०८४ अघि नै माओवादीसँग एकता गरेर चुनावमा जाने होइन ?

त्यो हो । चुनावसँगै एउटा उद्देश्य पनि छ– राजनीतिक रूपले समाजवादी यात्रा तय गर्ने ।

समाजवादी उद्देश्यतर्फ देशलाई मोड्ने अनि माओवादी र कम्युनिस्टहरूलाई नयाँ राजनीति प्रस्तावमा हिँडाउने सोच हो ।

त्यो सम्भव छ ?

सम्भव हुने भएरै हामी लागेको हो ।

पछिल्लो समय तपाईं उत्पादन अभियानमा लाग्नुभएको छ । सबैले प्रशंसा गरिरहेका बेला तपाईंसँगै रहेका धर्मेन्द्र बास्तोलाले त विप्लवले पार्टीलाई जोगीको हण्डी अर्थात् मागीखाने भाँडो बनाए भन्ने टिप्पणी गरेछन् नि !

उहाँको कुरै नगरौँ, उहाँलाई नेपाली क्रान्तिको बारेमा खासै ज्ञान पनि छैन । उहाँसँग पनि जमिन छ । श्रीमतीको नाममा पनि राख्नुभएको छ । धेरै गैर–जिम्मेवार कुरा हो ।

उहाँसँग एकता गर्ने योजना छ ?

हामीले समाजवादलाई केन्द्रमा राखेर माओवादीहरूलाई एबताबद्ध गरेर जानुपर्छ भनेका हौँ । तर उहाँहरू बिचमा हामीलाई छाडेर जानुभयो । गइसकेपछि पनि बिचमा कुरा भएको हो । छलफल ठिकै भएको थियो । आउनुहोस्, एकीकृत भएर गए हुन्छ, समय र क्षमतालाई खेर नफालौँ भनेर मैले नै भनेको हो । तर उहाँहरू किरण (मोहन वैद्य) कमरेडतिर जानुभयो । अहिले फेरि अलग्गै हुनुहुन्छ । बाँकी कुरा उहाँहरूको हो ।

अहिले तपाईंहरू पूर्ण रूपमा कृषि क्रान्तिमा लागेको देखिन्छ, यो वर्ष कति उत्पादन गर्नुभयो ?

आत्मनिर्भरतालाई सबैले आत्मसात् गरौँ भन्ने उद्देश्यसहित हामीले कृषि क्रान्तिलाई अगाडि बढाएको हो । तीन वर्षभित्र हामीले पार्टीलाई चन्दामुक्त बनाउने लक्ष्य छ । कम्तीमा खान र बस्नका लागि चन्दा माग्ने काम अन्त्य गरिन्छ । हामी अहिले पूर्ण रूपमा उत्पादनमा केन्द्रित छौँ । डेढ वर्षकै अवधिमा हामीले खानेभन्दा धेरै उत्पादन गरिसकेका छौँ । माघ महिनाभित्रै काठमाडौँमा ‘सी व्यापार केन्द्र’ पनि खोल्दैछौँ । उत्पादन भएको खाद्यान्न हामी बिक्री गर्छौं । झण्डै तीन सय बिघा जमिनमा हामीले खेती गरिरहेको अवस्था छ । अझै थपिनेक्रम जारी छ । विद्यालय तथा क्याम्पसहरूले पनि बाँझो रहेको जमिन प्रयोग गर्ने भए दिन्छौँ भनेका छन् । हामी त्यसमा पनि खेती गर्नेछौँ । १०० बिघाभन्दा बढीमा १७ सय क्वीन्टल धान उत्पादन गरेका थियौँ । त्यसमा दाल, महदेखि गार्मेन्ट उद्योग पनि खोलिएको छ । सबै नाफामै छ ।

अहिले हाम्रो झण्डै १ करोड बराबरको आलु उत्पादन हुने देखिन्छ । विनोद चौधरीजीले हाम्रो आलु किन्ने भन्नुभएको छ । हामी उत्पादनलाई हरेक वर्ष बढावा दिने र आत्मनिर्भर बन्ने अभियानमा सक्रिय छौँ । यसले सबैतिर सकरात्मक सन्देश पनि दिएको छ ।

विप्लव भन्ने बित्तिकै बन्दुक, क्रान्तिसँग जोडिने नाम हो । अहिले सर्लक्कै कृषि उत्पादनमा रमाइरहनु भएको छ । बौद्धिक वर्गसँग पनि छलफल गर्दै हिँड्नुभएको छ । हिजो बन्दुकसँगको लडाइँ र आजको अवस्थामा के फरक रहेछ ? एक्कासी रुपान्तरण कसरी सम्भव भयो नि ?

बन्दुक बोके पनि, उत्पादन गरे पनि, व्यापार गरे पनि, उद्योग खोले पनि उद्देश्य एउटै हो–समाजवाद ल्याउने ।

नेपाललाई आफ्नै शक्ति, आफ्नै खुट्टामा उभ्याउने चाहना छ । नयाँ राज्य व्यवस्था निर्माण गरी समाजवादी यात्रामा देशलाई अगाडि बढाउने चाहना हो । त्यसका लागि हामीले सबैखाले प्रयत्न गरेका छौँ । जुन ठाउँमा राज्यलाई क्षति हुने, जनतालाई अन्याय हुने काम हुन्छ, त्यहाँ हाम्रो सङ्घर्ष पनि चलिरहेको छ । सङ्घर्षका क्रममा कहिलेकाहीँ हामीलाई उग्रवादी पनि भन्लान् । तर केवल सङ्घर्षको कुरामात्र होइन, आर्थिक मोर्चाबाट काम पनि अगाडि बढाएका छौँ । यो कुरा जनतालाई ठिकै लागिरहेको छ ।

हाम्रो देश कसैले अतिक्रमण गर्छ भने त्यतिबेला हामी प्रतिरोधपूर्ण सङ्घर्ष गर्न तयार छौँ । जनताका अधिकारहरू कुल्चिन्छन् भने त्यहाँ पनि प्रतिरोध हुन्छ । हामी सबै गर्न सक्छौँ । म युवाहरूलाई भन्न चाहन्छु । यो वर्ष हामी अनुसन्धान केन्द्र पनि खोल्ने तयारीमा छौँ । त्यहाँ युवाहरूले विभिन्न विषयमा अध्ययन, अनुसन्धान गर्न सक्ने छन् ।

कृषि, आधुनिक प्रविधिदेखि सबै क्षेत्रमा पार्टीलाई अब्बल बनाउँदै लगिने छ । हामीलाई यो देशमा केही गरेर देखाउने चाहना छ । मान्छेहरू देश खत्तम भयो भनेर भनिरहेका छन् । राम्रो वातावरणमा काम गर्न सक्यौँ भने देशलाई माथि उठाउन सकिन्छ भन्ने हाम्रो दृढ सङ्कल्प छ ।

तपाईंहरू चुनावमा पनि जाने कुरा गर्नुहुन्छ, संसदवादी हुन खोज्नु भएको हो ?

कसैले उग्रवादी भन्लान्, कसैले संसदवादी भन्लान् । यी अलग–अलग कुरा हुन् । देशलाई निकास दिने, परिवर्तन गर्ने चाहना हो हाम्रो । जताबाट पनि हामीले हाम्रो देश र समाजलाई रुपान्तरण गर्ने हो । रुपान्तरणको आधार समाजवाद नै हो । हामीले सङ्घर्ष पनि गर्‍यौँ र अहिले सबै जनताका सुझाव सुनिसकेपछि एक पटक चुनावमा जाने निर्णय गरेको हो । तर यही संसदीय व्यवस्था पूर्ण रूपमा ठिक भन्ने कुरा होइन । कम्तीमा त्यो थलो (संसद्)मा समाजवादको बहस गर्ने चाहना हाम्रो हो । संसदमा केवल भागबण्डा लगाएर खाने, स्वार्थ पूरा गर्नेमात्र होइन, जनताको पक्षमा सुविधाहरूलाई रुपान्तरण गर्न सक्ने सम्भावना हुन्छ । त्यसका लागि हामी अब चुनावबाटै लडौँ भन्ने हो । हामीले पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउनुपर्छ । संसदमा जाने साथीहरूले पनि जनताको पक्षमा काम गर्नुपर्छ भनेर अगाडि बढेको हो ।

सबै खालका चुनावमा भाग लिने हो कि के हो ?

सबै तहका चुनावमा हामी भाग लिने हो । जनयुद्ध लड्दा स्वायत्त प्रदेश र केन्द्रीय जनवादी सत्ता भन्ने थियो । अहिले सङ्घीयतासहितको समाजवाद हाम्रो उद्देश्य हो । समाजवादी सङ्घीयता राज्य प्रणालीको खाका हो ।

सबैजसो निर्वाचनमा भाग लिनका लागि उम्मेदवार पाउनुहुन्छ त ?

हामीले उम्मेदवारनै नपाउने भन्ने हुन्छ त ! पुराना दल, पुराना नेताबाट देशको परिवर्तन होला भन्ने कुरामा मान्छेले सोच्न छाडिसके । केही महिना यतामात्र म देशका धेरै जिल्लामा पुगेँ । सबैतिर बुझ्दा मान्छेहरू अब पुरानो तरिकाले सोच्नेवाला छैनन् । ०८४ को चुनाव अर्कै तरिकाको हुन्छ ।

जुन उद्देश्यसाथ चुनावमा भाग लिने भन्नुभयो, परिणाम आफ्नो पक्षमा आउला भन्ने विश्वास छ ?

निश्चित पनि । हामी एक पटक यो देशको नेतृत्व गर्न चाहन्छौँ । त्यो धेरै टाढाको विषय छैन ।

त्यो कसरी सम्भव छ ?

सम्भवमात्र हैन, अपरिहार्य छ ।

यति ठुला पार्टीहरू त एक्लै चुनाव जित्न हम्मेहम्मे भएर गठबन्धन गर्ने, गठबन्धनबाटै राज्य चलाइरहेका छन् । तपाईं एकै पटक चुनावमा भाग लिएर देशको नेतृत्व गर्ने कुरा गर्नुहुन्छ, यो त अलि असम्भव कुरा हैन र ?

असम्भव होइन । जनताले कुरा नबुझे असम्भव हो । अहिले मैले सबै ठाउँका विद्यार्थीहरूसँग छलफल गरेँ । उनीहरू कोही पनि पुरानो दलसँग खुसी छैनन् । मान्छेहरू दलभन्दा केही बाहिर आएर कसले राम्रो गर्न सक्छ त भन्ने तरिकाले हेरिरहेका छन् । मेरो चाहना के छ भने एउटा पूरै ‘फ्रेस’ टिम लिएर चुनाव लड्ने । ६ हजार वडामा लड्ने हो, सबै स्थानीय तहमा लड्ने हो ।

उम्मेदवारको विषय जुन चासो राख्नुभयो, तपाईंले कल्पना गरेकोभन्दा राम्रो हुन्छ, हेर्नुहोला । यही सुर्खेत, वीरेन्द्रनगरमा तपाईंले कल्पना गरेकोभन्दा फरक हुन्छ । शासकीय स्वरुप नै बदल्ने चाहना हो । नेपालमा अस्थिरता रहेसम्म कुनै उन्नति, प्रगति सम्भव छैन । १÷१ वर्षमा सरकार फेरिने कुराले कसैको मनस्थिति शान्त छैन । यो देशमा कोही पनि आफ्नो कामप्रति निश्चिन्त छैन । यसरी देशको परिवर्तन सम्भव हुँदैन । त्यसैले हाम्रो सोच शासकीय स्वरुपदेखि व्यवस्थापकीय प्रणालीमा पनि चेञ्ज गर्नुपर्छ । हरेक कुरामा चुनौती हुन्छ, हरेक मोर्चामा जसले चुनौतीका साथ लडाइँ लड्छ, त्यही सफल हुने हो ।

हामी हिजोदेखि चुनौतीसँग लड्दै आएको हो । त्यसैले चुनावमा हामी प्रतिस्पर्धा गरेरै, जितेरै जाने हो । त्यो कुरामा हामी स्पस्ट छौँ ।

संसदवादी हुन खोजेकाले तपाईंहरूले भन्ने गरेको ‘वैज्ञानिक समाजवाद’को नारा अहिले हराएको हो ? ‘वैज्ञानिक’ शब्द नभनेर अचेल प्रायः ‘समाजवाद’ मात्र भनेको सुनिन्छ नि ?

हराएको हैन । अहिले अस्थिरता, अराजकता, परनिर्भरता जो छ, यसलाई हामीले अन्त्य गर्न चाहेको हो । त्यसको निकास वैज्ञानिक समाजवाद हो । तर वैज्ञानिक समाजवादमा पुग्नुभन्दा पहिले यदि सबै दलको बिचमा ‘समाजवाद’ भन्नेमा सहमत भइन्छ भने नेपाली विशेषताको समाजवाद ल्याउँ न भन्ने हाम्रो तर्फबाट प्रस्ताव छ । त्यो कतिसम्म सम्भव हुन्छ, हेरौँ ! त्यो हुँदै गएपछि वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने हो ।  रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार