माघ २८, २०८१ सोमबार February 10, 2025

सात हजार बढीलाई क्यान्सर विरुद्धको खोप लगाइने

जिल्लाका १३४ विद्यालयको खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, माघ १९ गते । ओखलढुङ्गाका सात हजारभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरूद्ध लगाइने एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।

माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द्र राजवंशीले बताउनुभयो ।

अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भएको प्रमुख राजवंशीले जानकारी दिनुभयो । जिल्लाका सात हजार २०१ जना किशोरीलाई खोप लगाइने रावंशीको भनाइ छ ।

खोप सुरक्षित रहेकाले ढुक्कसँग खोप अभियानमा सहभागी हुन प्रमुख राजवंशीले आग्रह गर्नुभएको छ । किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने भएकाले अभियानलाई सफलतापुर्वक सम्मन गर्नका लागि सबैको सहयोग आवश्यक पर्नेमा उहाँको जोड छ ।

जिल्लाका १३४ विद्यालयको खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाईने र छुटेकाहरुलाई स्वास्थ्य चौकीहरुबाट पनि खोप प्रदान गरिने खोप फोकल पर्सन उमा गुरुङले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण सरोकारवालाहरुलाई कार्यालयले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया