माघ २८, २०८१ सोमबार February 10, 2025

शिक्षकले थाले चरणबद्ध आन्दोलन : विद्यालय शिक्षा ऐन जारी गर्न माग

ऐन जारी भएको मितिपछि स्थायी भएका शिक्षकहरूको हकमा योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्नुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट दबाबस्वरूप आन्दोलन सुरु गरेको छ ।

आन्दोलनअन्तर्गत आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका हुन् । यसअघि १६ र १७ गते काठमाडौंमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो । चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबारबाट सबै शिक्षक तथा कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखेका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्ने, ऐन जारी भएको मितिलाई प्रस्थान बिन्दु बनाई त्यसअगाडि स्थायी भएका शिक्षकलाई पुरानो प्रणालीअनुसार पेन्सन दिनुपर्ने र ऐन जारी भएको मितिपछि स्थायी भएका शिक्षकहरूको हकमा योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्नुपर्ने माग छ । सरकारसँग यसअघि गरेका विभिन्न सम्झौता पनि कार्यान्वयनमा आउनुपर्नेलगायत शिक्षकहरूको माग छ । यी माग सम्बोधन गर्न राज्यलाई दबाब दिन महासंघले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकसँगको सम्झौताविपरीत शिक्षा ऐन नआओस् भनेर सरकारलाई दबाब दिन आन्दोलन तय गरिएको बताउनुभयो । ‘यसअघिको आन्दोलनपछि सरकारसँग भएका सम्झौताविपरीत शिक्षा ऐन नआओस् भन्ने हाम्रो मुख्य माग हो । सहमतिअनुरूप ऐन जारी हुनुपर्छ । ऐन विद्यार्थी, अभिभावक, शिक्षक र समाजमैत्री हुनुपर्छ । यदि ऐनमा ती विषय समेटिएनन् भने सकारात्मक परिणाम आउँदैन । त्यसैले दबाबका लागि आन्दोलन आवश्यक भएको छ,’ सुवेदीले भन्नुभयो ।

यसअघि ०८० असोजमा शिक्षकको आन्दोलनले काठमाडौंका सडक तताएको थियो । देशैभरका शिक्षक विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । एक सातासम्म काठमाडौं केन्द्रित आन्दोलन चर्किएपछि ५ असोज ०८० मा भएको वार्तामा सरकारका तर्फबाट तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, तत्कालीन शिक्षामन्त्री अशोक राई, नेपाल शिक्षक महासंघ, राजनीतिक दलनिकट शिक्षक संघ-संगठन र स्वतन्त्र शिक्षक प्रतिनिधिबीच शिक्षकका माग सम्बोधन गर्ने सहमति बनेको थियो ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

आन्दोलनअन्तर्गत माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र ३० माघमा पालिका कार्यालयमा कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ । शिक्षक महासंघका अनुसार माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीच अन्तरक्रिया आयोजना गर्ने र शिक्षक÷कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गर्ने कार्यक्रम छ । माघ ३० गते बुधबार दिउँसो पालिका कार्यालयमा भेला भई माग सम्बोधन हुनेगरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने नारासहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गर्ने पनि उक्त आन्दोलन कार्यक्रममा उल्लेख छ ।

फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र ध्यानाकर्षण पत्र बुझाएपछि कालोपट्टीसहित जुलुस प्रदर्शन तथा विरोधसभा गर्ने कार्यक्रम छ । ‘फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिको संयोजनमा सबै जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबीच भएका विगतका सबै सहमति समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने, प्रत्यक्ष भेट नभए इमेल पठाई फोनबाट जानकारी दिने,’ घोषित आन्दोलन कार्यक्रम पत्रमा उल्लेख छ ।
प्रदेश तहको कार्यक्रमका हकमा फागुन ७ गते प्रदेश स्तरको आन्दोलन परिचालन समिति गठन गर्ने आबद्ध/सम्बद्ध संस्थाहरूबीच आपसी सहमतिमा एकजना संयोजक, एकजना सहसंयोजक, एकजना सचिव र एकजना कोषाध्यक्ष रहनेगरी ३५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गर्ने पनि कार्यक्रममा उल्लेख छ ।

फागुन ९ गते देशका सातवटै प्रदेशका मुख्यमन्त्री/सामाजिक विकास मन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने पनि उक्त कार्यक्रम पत्रमा उल्लेख छ । त्यस्तै, महासंघले फागुन १७ गते शनिबार काठमाडौंमा कालो पट्टीसहित बृहत् जुलुस प्रदर्शन तथा खबरदारी गर्ने पनि घोषणा गरेको छ । फागुन १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक हुने र दोस्रो चरणअन्तर्गत राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने महासंघले जनाएको छ । हिमालयटाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया