चैत्र २, २०८१ शनिबार March 15, 2025

नेपालका ५ विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, र लुम्बिनी प्राविधिक विश्वविद्यालय बीच भएको सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरूमार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।

सम्झौताअनुसार, विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदान प्रदान गर्नेछन् ।

सम्झौता पत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डाबिजु कुमार थपलिया, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिहरूले हस्ताक्षर गर्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको सम्झौता कार्यक्रममा पाँचै विश्वविद्यालयका रजिस्ट्रारहरू सम्झौताको साक्षीका रूपमा उपस्थित रहनुभएको थियो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रा.डा.यज्ञराज पाठक, मध्यपश्चिम विश्वविद्यालयका प्रा.डा. शोभाखर कँडेल, नेपाल खुला विश्वविद्यालयका प्रा.डा. गोविन्द सिंह बिष्ट, पूर्वाञ्चल विश्वविद्यालयका नीलमणि पोखरेल, र लुम्बिनी प्राविधिक विश्वविद्यालयका रेज बहादुर भण्डारी सम्झौता कार्यक्रममा सहभागी रहनुभएको थियो भने उहाँहरूले यस सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

सुरुवाती सम्झौता अवधि पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ ।

विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया