काठमाण्डौंः राजधानीको मुटु रामशाहपथ स्थित महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ । शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त कार्यालय शिल गरिएको हो ।
संक्रमणको जोखिम बढेपछि महाशाखाका दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पाइएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जना महाशाखाभित्रै क्वरेन्टाइनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको एसएसपी ढकालले जानकारी दिए ।
स्रोत अनुसार ३७५ जना क्वारेन्टाइनमा गएपछि महाशाखाका मातहतका अहिले साँढे ११ सय हाराहारी जनशक्ति काममा खटिएका छन् । महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिए ।
अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र स्वाब सङ्कलन गर्ने तयारी भएको छ । उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ ।
महाशाखाका एसएसपी ढकालकाअनुसार सवारी व्यवस्थापनमा भने केही समस्या हुने भएको छ । उनले सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई ल्याएर खटाउने जानकारी दिए ।
शुक्रबार सङ्क्रमण पुष्टि भएका दुई जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया