काठमाडौँ, ७ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले आवाजविहीनको आवाज, विविधतायुक्त समाज र तिनका संस्कृति, भाषाको जर्गेना एवं संरक्षण गर्दै दस्तावेजीकरणमा राष्ट्रिय समाचार समिति (रासस) बढी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
राससको ६४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राससले समाज र देशको समस्या, चुनौती समाधानका उपायबारे सही सूचना प्रवाह गर्दै अभिव्यक्ति स्वतन्वतालाई कायम राख्न थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “विभिन्न दृष्टिकोण र विचारको आदानप्रदानलाई प्रवर्द्धन गर्ने मियो संस्था रासस बन्नुपर्दछ, यसले सूचना प्रवाहलाई अझ सुगम बनाउँदै देश तथा अन्तरराष्ट्रियस्तरमा भएका घटनालाई परिस्कृत र तथ्यपरक जानकारी पाठकसम्म कसरी पु¥याउन सकिन्छ भन्ने ध्येयका साथ अघि बढ्नुपर्दछ ।”
नेपालको परिवर्तित परिवेशमा सामाजिक एवं सांस्कृतिक विविधताको प्रसार र पृष्ठपोषकका रुपमा राससले काम गर्नुपर्ने उहाँको भनाइ छ । राससले देश र विदेशका समाचार, तस्बिर र श्रव्यदृश्य सामग्री अनलाइन सेवामार्फत नागरिकलाई सुसूचित गराउन सफल भएको उहाँको विश्वास छ । उहाँले राससले राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहितालाई हृदयदेखि आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न एवं देश विकासमा दत्तचित्त भई अगाडि बढ्न सबैलाई उत्प्रेरित गर्ने खालका विषयवस्तुलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।
“राससले महत्वपूर्ण घटनाको सूचना समयमै उपलब्ध गराउँदै सेवाग्राहीमार्फत जनतालाई सचेत र सूचित बनाउँदै आएकै छ, अब समय सुहाउँदो प्रविधि र आमपाठकको अभिरुचिलाई केन्द्रविन्दुमा राख्दै परिस्कृत भूमिकाको अपेक्षा छ”, उहाँले भन्नुभएको छ ।
राजनीति र आर्थिक जीवनको विभिन्न पक्षको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिताको दायित्व भएकाले त्यसमा राससको भूमिका अझ प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया