असार २४, २०८२ मंगलबार July 8, 2025

झापा गोल्डकप : दार्जिलिङ पुलिस भारत ४–३ गोल अन्तरले पराजित

आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिर्तामोड, ७ फागुन । भद्रपुरको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशाला बुधवार भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

भद्रपुरकातर्फबाट खेलको तेस्रो मिनेटमानै विदेशी खेलाडी साम कार्लाेसले गोल गर्दै अग्रता दिलाउनुभएको थियो ।  ३९औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० अग्रता दिलाउनुभयो ।

४२औँ  मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्यभागबाट उकल प्रयासमा गोल गर्नुभयो । यस्तै पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाबपूर्ण प्रदर्शन गरेको थियो ।

५०औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासमा गोल गर्नुभयो । ५५औँ मिनेटमा नयन प्रधानले अर्काे गोल थप्नुभयो । ७०औँ मिनेटमा दार्जिलिङका रूड गुलितले थप गोल गर्दै खेललाई ३–३ कोबराबरीमा ल्याउनुभयो ।

७२औँ मिनेटमा भद्रपुरका प्रताप राईले विशाल दर्जीको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । विजेता टोलीका आशिष चापागाईं म्यान अफ दी म्याच बन्नुभयो । उहाँले २१ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

गोल्डकपको राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्नुभयो । गोल्डकपको विजेताले १३ लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी १० टोलीको सहभागिता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया