काठमाडौं : के तपाईं सामाजिक सञ्जाल फेसबुक चलाउँदै हुनुहुन्छ ? फेसबुकमा तपाईंले सार्वजनिक गर्ने विवरणहरू के के छन् ? कहिल्यै विचार गर्नुभएको छ ? तपाईंले सुनका गहना लगाएर देखाइएको फोटो, आपराधिक मानसिकता भएका व्यक्तिलाई ठगी गर्ने बहाना पनि बन्न सक्छ। तपाईं घर छाडेर कतै जान थालेको विवरण फेसबुकमा सेयर गर्नुभयो भने, चोरी गर्ने मानसिकता भएकाहरूलाई सजिलो माध्यम भएको हुन सक्छ।
चिन्दै, नचिनेका र फेसबुकमा भेट भएका अञ्जान साथीलाई तपाईंले आफ्ना समस्या र व्यक्तिगत विवरण सुनाउनुहुन्छ भने तपाईं समस्यामा पर्ने निश्चित छ। पछिल्लो समय साइबर क्राइमको संख्या निकै बढ्दो छ।
आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि ६ महिनामा मात्रै देशभर करिब ११ हजार साइबर क्राइमका उजुरी दर्ता भए। योमध्ये ६ हजार १ सय १ वटा साइबर अपराध फेसबुकबाट भएको भन्दै उजुरी दर्ता भएका थिए। यस्तै इन्स्टाग्रामको माध्यमबाट साइबर अपराध गरेको भन्दै १ हजार ८ सय ८४ वटा उजुरी दर्ता भएका छन्। ह्वाट्सएप र टिकटकबाट साइबर क्राइम भएको भन्दै क्रमशः १ हजार २ सय ५६ र ९ सय ६१ वटा उजुरी दर्ता भएका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोको प्रवक्ता दीपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालको माध्यमबाट हुने अपराध निकै बढ्दो छ। मुख्यतः सामाजिक सञ्जालबाट आर्थिक अपराध र सम्बन्धमा हुँदा खिचेका फोटो भिडियो सार्वजनिक गरेर यौन हिंसा गर्ने प्रवृत्ति बढिरहेको छ। ६ महिनामा करिब ११ हजार साइबर क्राइमका उजुरी आएको तथ्यले समाजमा इन्टरनेटबाट हुने अपराध मौलाइरहेको पुष्टि हुन्छ। यस्तो अपराधको निसानामा बालबालिका, युवादेखि जानेका, बुझेका व्यक्ति र वृद्धवृद्धाहरू पनि परिरहेका छन्।
गृह मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा समेत साइबर क्राइम पछिल्लो समय निकै बढेको तथ्यांक प्रस्तुत गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले मन्त्रालयको प्राथमिकतामा परेका सुरक्षा चुनौतीहरूको विषयमा बताएका थिए। उनका अनुसार पछिल्लो समय सडक दुर्घटना हुने र धेरै व्यक्तिको ज्यान जान थालेपछि मन्त्रालयले यसको नियन्त्रणका लागि विशेष पहल गर्ने बताए। यसका साथै आत्महत्या न्यूनीकरण, लागुऔषध दुव्र्यसन नियन्त्रण, साइबर क्राइम रोकथाम र राजस्व चुहावट नियन्त्रणमा मन्त्रालयले विशेष योजना बनाएर काम गर्ने जानकारी दिएका छन्।
मुख्यतः सामाजिक सञ्जालबाट आर्थिक अपराध र सम्बन्धमा हुँदा खिचेका फोटो भिडियो सार्वजनिक गरेर यौन हिंसा गर्ने प्रवृत्ति बढिरहेको छ।
गृह प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, गृह मन्त्रालयले प्रत्येक जिल्लामा सडक दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालाहरूसँग समन्वय गरेर कार्ययोजना नै बनाएर काम गरिरहेको छ। सडक दुर्घटना घटाउन टाइमकार्ड लागू गर्ने नियमित चेकजाँच गर्ने सडकको मर्मत सम्भार गर्ने, ट्राफिक संकेतहरू चुस्त राख्ने, मापासे लापासे चेकजाँच गर्ने, सवारीको क्षमता अनुगमन र दुर्घटना न्यूनीकरणलाई कार्यसम्पादनसँग आबद्ध गर्न प्रयास गरिएको छ। यस्तै ट्राफिक नियम उल्लंघनको अभिलेख प्रणालीलाई अध्यावधिक गरी ७१ जिल्लामा २ सय १२ स्थानमा लागू भएको छ।
अपराध रोकथाम र नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू गरिएको छ। हालसम्म २० हजार ७ सय ६५ वटा अनुचित व्यवहारको उजुरी दर्ता भएको छ। सहकारी ठगीसम्बन्धी यो आवमा ४८ वटा मुद्दा दर्ता भएको छ। जसमा ४३ जना पक्राउ र ३ सय ५० जना आरोपी फरार रहेका छन्। सहकारी ठगीबाट यो ६ महिनामा ५ अर्ब १२ करोड बराबरको रकम ठगी भएको छ।
आत्महत्या न्यूनीकरणको लागि मानसिक स्वास्थसम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच सहकार्यको समझदारी भई कार्यान्वयन सुरु भएको छ। आत्महत्या न्यूनीकरणको लागि वडादेखि जिल्ला तहसम्म संयन्त्रहरू परिचालन गरी आत्महत्याविरुद्ध नेपाल प्रहरीले अभियान सुरु गरेको छ। गृहको तथ्यांकअनुसार यो आव सुरु भएपछि पछिल्लो ६ महिनामा ३ हजार १ सय ३४ जनाले आत्महत्या गरेका छन्। सबैभन्दा बढी कोशी प्रदेशमा ६ सय ७८ जनाले आत्महत्या गरेका छन्।
प्रत्येक जिल्लामा लागुऔषधविरुद्ध तीन महिने अभियान सञ्चालन गर्न रकम पठाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट समेत लागुऔषधविरुद्ध नियमित सचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा रहेको छ। लागुऔषध दुव्र्यसनीमा ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन्। देशभर २ हजार ३ सय ६४ वटा मुद्दा दर्ता भएको छ।
लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना (२०७९–२०८४), लागू औषध राष्ट्रिय रणनीति, २०६६ अनुसार कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न सबै निकायहरूसँग समन्वय भइरहेको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने राजस्व चुहावट नियन्त्रण समितिलाई क्रियाशील बनाइएको र प्रत्येक महिना बैठक बसी समीक्षा प्रतिवेदन मन्त्रालय पठाउन निर्देशन गरिएको।अन्नपूर्णपोष्टबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया