असार २३, २०८२ सोमबार July 7, 2025

उद्योगमा दक्ष कामदार अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आर्थिक मन्दीका कारण उत्पादन कटौती गर्नु परेको गुनासो गर्दै आएका रुपन्देहीका उद्योगीले नेपालमा दक्ष जनशक्ति (श्रमिक) को अभाव हुँदा उद्योग चलाउन भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

नेपालमा दक्ष श्रमिक जनशक्ति नहुँदा अझै पनि भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ । रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदारले काम गरिरहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परेको गुनासो गरेका हुन् ।

रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष माधव पौडेलले आर्थिक मन्दीका कारण रुपन्देहीका धेरै उद्योगले उत्पादन कटौती गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ नयाँ प्रविधिको मेसिन आउन गरेको र मेसिन चलाउन सक्ने श्रमिक जनशक्ति नेपालमा नहुँदा भारतबाट दक्ष श्रमिक ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

उद्योगी यादव भण्डारीले पछिल्लो समय नयाँ नयाँ स्वचालित मेसिन नेपाल भित्रिरहेको तर नेपालमा ती स्वचालित मेसिन चलाउन जान्ने जनशक्ति नहुँदा बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उद्योग सङ्घका पूर्वअध्यक्ष पौडेलले बुटवलका धेरै उद्योगको उत्पादन आधा कटौती भएको बताउनुभयो । उहाँका अनुसार नयाँ उद्योग स्थापना गर्ने उद्योगीले विदेशबाट ल्याउने स्वचालित मेसिन चलाउन सक्ने जनशक्ति अहिले भारतबाटै ल्याउनुपर्ने अवस्था रहेको छ ।

त्यसै गरी छड, सिमेन्ट, रोलिङलगायत उद्योगमा आवश्यक जनशक्तिसमेत अधिकांश भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको उद्योगीको भनाइ छ । रुपन्देहीमा उद्योगको उत्पादन मात्रै होइन, उद्योगसमेत अहिले बन्द हुने क्रम बढिरहेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा १६८ उद्योग बन्द भएका छन् । आव २०८१/८२ को साउनदेखि पुससम्म छ महिनामा बन्द हुने उद्योगमा उत्पादनमूलक ७७, सेवामूलक ४५, पर्यटनसँग सम्बन्धित २५१ तथा २१ वटा कृषिजन्य उद्योग रहेका छन् । उद्योग बन्द हुँदा कम्तीमा चार हजार जनाले रोजगारीसमेत गुमाएको कार्यालयले जनाएको छ ।

उद्योग बन्द हुँदा नेपालीले रोजगारी गुमाउनुपर्ने अवस्था एकातिर छ भने दक्ष कामदारको अभावमा नेपालकै उद्योगले जनशक्ति भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यही बाध्यता अन्त्य गरी नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले रुपन्देही उद्योग सङ्घले दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) को सहकार्यमा सिप विकास तालिम सञ्चालन गर्दै आएको छ ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले इन्स्योर परियोजनाको सहयोगमा उद्योगमा रहेको जनशक्तिको अभाव पूर्ति गर्न सिप अभिवद्धि तालिम सञ्चालन गर्दै आएको र केही भए पनि नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुगेको बताउनुभयो ।

सङ्घ र इन्स्योर परियोजनामार्फत गत साता मात्रै सम्पन्न तालिममा २४९ वटा उद्योगका ३११ जनशक्तिलाई विभिन्न विषयका तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सिटिइभिटीलगायतका तालिमप्रदायक संस्थाले उद्योगी व्यवसायीसँग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पूरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार