काठमाण्डौः ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप हुँदा ८ प्रहरी र आन्दोलनरत पक्षका ४ जना घाइते भएका छन् ।
आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो । आन्दोलनरत पक्षका अगुवा नवीन पोमूले आफ्नो पक्षका केही घाइते भए पनि यकिन नभएको र केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । रातिसम्म प्रदर्शन भइरहेको र पक्राउका विषयमा यकिन भई नसकेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल र तमोर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पदयात्राका लागि यही फागुन ६ देखि पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केन्द्रित भएका नो केबलकार पक्षधर शनिबार दिउँसो काफ्लेपाटीबाट सदरमुकाम फुङलिङ आएका थिए । त्यही क्रममा राँके जुलुस पनि निकालेका थिए । त्यसपछि प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो ।
काफ्लेपाटीबाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितको टोली फर्किएको थियो । महतोलाई केबलकार पक्षधरले सदरमुकाम फुङलिङको बुद्धचोक छेउमा कालो झन्डा देखाएका थिए । उनलाई सुरक्षाकर्मीको टोलीले सदरमुकाम ल्याएको थियो । फागुन ७ मा ताप्लेजुङ आएका महतो भोलिपल्ट नो केबलकार पक्षधरद्वारा आयोजित पदयात्रामा सहभागी हुन काफ्लेपाटी पुगेका थिए ।
आन्दोलनरत पक्ष र प्रहरीबीच केबलकार निर्माणस्थलमा गत बिहीबार पनि दिनभरजसो झडप भएको थियो । आन्दोलनरत पक्षसँगको छलफलपछि सुरक्षा अधिकारीले केबलकार निर्माणस्थलमा प्रयोग गरिने एक्स्काभेटर काफ्लेपाटीमा ल्याएको छ । काफ्लेपाटीबाट केबलकार सबस्टेसन ८ सय मिटर दूरीमा छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी शर्माले आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी फुङलिङ बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा निषेध आदेश जारी गरेका छन् । अर्को आदेश नभएसम्म ती क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया