असार २२, २०८२ आइतबार July 6, 2025

चक्रपथ विस्तारको डिजाइन गर्न कम्पनी छान्दै चीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारको डिजाइनका लागि कम्पनी छनोट गर्न भन्दै चीन सरकारले बोलपत्र आह्वानको प्रक्रिया अघि बढाएको छ । डेढ महिनाभित्र डिजाइन गर्ने कम्पनीको टुंगो लाग्नेछ । त्यसपछि उक्त कम्पनीले डिजाइन थाल्नेछ । यसका लागि ६ देखि ८ महिना लाग्ने सडक विभागको अनुमान छ ।

चीन सरकारले बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाएको जानकारी पाएको काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताए । ‘डिजाइनका लागि बोलपत्र आह्वान भएको थाहा छ,’ उनले भने, ‘त्यसपछि थप प्रगति केही छैन ।’ चीनमा डिजाइनका लागि बोलपत्र आह्वान गरेपछि इच्छुक एक चिनियाँ कम्पनी गत माघ ३० मा निर्माणस्थल हेर्न आएको थियो ।

‘डिजाइन गर्न इच्छुकमध्ये चीनको एउटा कम्पनीबाट केही व्यक्ति निर्माणस्थल हेर्न आउनुभएको थियो,’ ओझाले भने, ‘निर्माण गर्ने स्थानबारे बुझेर फागुन ४ मा टोली फर्किएको हो ।’ डिजाइनका लागि प्रतिस्पर्धाबाट चीन सरकारले कन्सल्टेन्ट छनोट गर्छ । त्यसपछि डिजाइनको काम अघि बढ्ने उनको भनाइ छ । डिजाइन सकिएपछि आवश्यक अध्ययन गरेर मात्र त्यसको स्वीकृति सडक विभागले गर्नेछ ।

यो सडकखण्ड विस्तार गर्ने चर्चा चलेकै ६ वर्षभन्दा बढी भइसकेको छ । अहिलेसम्म निर्माणको कामले गति लिन सकेको छैन । काठमाडौंका विभिन्न क्षेत्रका सांसद, जनप्रतिनिधिले पटक–पटक संसद् र सरकारको ध्यानाकर्षण गराउँदा पनि निर्माण अघि बढ्न सकेको छैन । केही वर्षयता भने उक्त खण्डमा जथाभावी भत्काइएका सडकका कारण बर्खामा हिलो र हिउँदमा धुलोले स्थानीयलाई सास्ती छ । सडक छेउ–छेउमा माटो थुपारिएको छ, जसले गर्दा दैनिक ट्राफिक जामको समस्या थपिएको छ ।

डिजाइनको काम सकिएपछि कति लागत लाग्ने थाहा हुने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले बताए । ‘डिजाइन गर्ने कम्पनी छान्न बोलपत्र आह्वान भइसकेकाले अब धेरै ढिला नहोला,’ उनले भने, ‘डिजाइनको काम सकिएपछि निर्माणको ठेक्का आह्वान हुन्छ ।’

अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनसहित आठ लेन बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो, तर त्यसपछि प्रगति नहुँदा सर्वसाधारणमा निराशा थपिएको हो ।

अहिले सर्भिस लेन बनाउने भन्दै सडक भत्काएर अलपत्र पारिएको छ, जसले दुर्घटनाको जोखिम समेत बढाएको छ । नेपाल सरकारमार्फत निर्माण गर्ने सर्भिस लेनको कामले अहिले गति लिएको काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयका प्रमुख ओझाको दाबी छ । सडकको दुरवस्थाले गर्दा कलंकीदेखि बसुन्धरासम्मको खण्डमा व्यापार व्यवसाय गर्नेहरू पलायन हुने अवस्था सिर्जना भएको छ ।

कोटेश्वर–कलंकी पहिलो खण्डको काम २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो । सुरुको अवस्थामा दोस्रो खण्ड विस्तारमा नेपाल सरकारले पूर्वतयारीको काम नगर्दा र पछि चीन सरकारका कारण थप काम अघि बढ्न सकेको थिएन । चीन सरकारको अनुदानमा दोस्रो खण्ड कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो ।

चीनसँग सन् २०१८ मा सडक विस्तारका लागि जीटूजी सम्झौता भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको संयुक्त टोलीले २०७९ फागुन ११ मा सडक विस्तार गर्ने खण्डको स्थलगत निरीक्षणपछि डिजाइनको काम अघि बढाइएको सुनाएका थिए । तर त्यसपछि डिजाइनबारे न चीन बोल्यो, न नेपाल सरकारले डिजाइन पूरा भएको जानकारी गरायो ।

‘डिजाइनको काम सकिएपछि निर्माणको काम थाल्न धेरै ढिला नहोला,’ जैसीले भने, ‘निर्माणमै जाने गरी डिजाइन हुने हो, त्यसपछि चीन सरकारले नै ठेक्का आह्वान गर्छ ।’ यसअघि कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक बनाउन चीनलाई ६ वर्ष लागेको थियो । चीनको ५ अर्ब अनुदानमा उक्त सडक ८ लेनमा विस्तार गरिएको थियो ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार