असार २२, २०८२ आइतबार July 6, 2025

राजनीतिक दलको आयव्यय: एमाले धनी कांग्रेस घाटामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा गएको छ । नेकपा (माओवादी केन्द्र) को आम्दानी घटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ ।

आयोगमा बुझाइएको प्रतिवेदन अनुसार नेकपा (एमाले) ले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको छ । आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले बचतमा गएको छ ।

२०७९/८० मा सो दलले आठ करोड ९७ लाख २२ हजार ६५ रुपियाँ आम्दानी गरेको थियो । एमालेले सोही आवमा सात करोड ५० लाख ३८ हजार तीन रुपियाँ खर्च गरेको छ । आव २०७९/८० मा एमालेको खर्च करिब ११ करोड ६० लाख थियो ।

एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो । उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपियाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपियाँ आम्दानी गरेको थियो ।

नेकपा (एकीकृत समाजवादी) ले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ तर आम्दानीभन्दा उसले खर्च बढी गरेको छ । आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसले सोही आवमा चार करोड ५७ लाख ४० हजार रुपियाँ खर्च गरेको छ । २०७९/८० को मौज्दातबाट घाटा कट्टी गराएको एकीकृत समाजवादी हाल ९९ लाख ६१ हजार ५८३ रुपियाँले बचतमा छ ।

नेपाली कांग्रेस भने दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपियाँले घाटामा गएको छ । कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ ।

कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग छ । उसले एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट कांग्रेसले करिब ७१ लाख जम्मा गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले आव २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको छ । सो दलले २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपियाँ आम्दानी गरेको थियो । विवरणबमोजिम नेकपा (माओवादी केन्द्र) दुई हजार ४४३ रुपियाँले बचतमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ । उसले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ उसको खर्च हो । एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९/८० मा करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो ।

आव २०७९/८० मा कर्जा तथा सापटीले पार्टी सञ्चालन गरेको जनमत पार्टीले यस वर्ष भने सबै सापटी र कर्जा फिर्ता गरेको छ । आव २०८०/८१ मा सो दलले एक करोड १८ लाख रुपियाँ आम्दानी गरेको छ । उसले करिब दुई करोड ९० लाख रुपियाँ सापटी तिरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आम्दानी घटेको छ । आव २०७९/८० मा करिब आठ करोड ४९ लाख आम्दानी गरेको राप्रपाले यस वर्ष मात्र एक करोड ३८ लाख ७४ हजार रुपियाँ आम्दानी गर्न सकेको हो ।

कानुनले तोकेको समयसीमाभित्र ८८ दलले मात्रै आयव्ययको विवरण बुझाएका छन् । आयोगमा आव २०८०/८१ मा ११५ दल दर्ता रहेकामा २७ दलले विवरण बुझाएनन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार