काठमाण्डौः स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या थप बढेको छ । माघ महिनामा मात्र झन्डै साढे ७२ हजार जना नेपाली कामदार वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरणअनुसार यस्तो तथ्यांक’bout जानकारी भएको हो । विभागका अनुसार माघ महिनाको एक महिनाको अवधीमा मात्र कुल ७२ हजार ४ सय ४१ जना नेपाली कामदार श्रम स्वीकृति लिएर विभिन्न देशको वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये पुरुष कामदारको संख्या ६४ हजार ३ सय ११ जना र महिला कामदारको संख्या ८ हजार १ सय ३० जना रहेको छ ।
वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो
अघिल्लो महिना गत पुसमा ६७ हजार २ सय ५८ जनाको श्रम स्वीकृति भएको थियो । पुसको तुलनामा चालू आर्थिक वर्ष २०८१–८२ को वितेको ७ महिना माघमा अघिल्लो महिनाको भन्दा ५ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।
गत माघमा सबैभन्दा धेरै कामदार संयुक्त अरब इमिरेट्स (यूएई) मा गएका छन् । विभागको तथ्यांकअनुसार माघमा यूएईमा २५ हजार ३ सय ४ जना श्रम स्वीकृति लिएर गएका छन् । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरूको हो । जसमध्ये २२ हजार ३ सय ६४ जना पुरुष र २ हजार ९ सय ४० जना महिला कामदार रहेका छन् । दोस्रो धेरै कामदार गएका मुलुकमा साउदी अरब रहेको छ । साउदी अरबमा १२ हजार ८ सय ७९ जना कामदार गएका छन् । गत माघमा कुल १ सय ३ वटा देशमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् ।
सरकारले बाध्यात्मक वैदेशिक रोजगारीमा जाने क्रम न्यून गर्दै आन्तरिक रोजगारी व्यवस्थापनमा जोड दिएको लामो समय भए पनि अझै नेपाली युवा वैदेशिक रोजगारीमा जाने क्रम घट्नुको सट्टा झन् बढिरहेको छ । पछिल्लो समय माघ महिनाको तथ्यांकले दैनिक करिब २ हजार ४ सय जना नेपाली कामदार वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको प्रस्ट देखिएको छ ।
स्वरोजगार एवं आत्मनिर्भर व्यवसाय सञ्चालनका लागि लगानीको जोखिम एवं अस्थिर सरकारको कमजोर नीतिकै कारण हाल देशको मुख्य समस्या नै बेरोजगारी व्यवस्थापन भएको छ । बेरोजगारीको दर बढेसँगै अहिले अधिकांश नेपाली युवा न्यून पारिश्रमिकमा वैदेशिक रोजगारीको खोजी गर्दै खाडी मुलुकलगायत तेस्रो देश गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दैनिक वृद्धि भइरहेको विभागको यस तथ्यांकले पनि प्रस्ट पारेको छ ।
माघ महिनामा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीबाट कुल ३३ हजार ४ सय ५२ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये माघ महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार ७ सय १५ जना रहेका छन् । यसैगरी, सो अवधिमा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगथारीमा जाने नेपाली कामदारको संख्या २८ हजार २ सय ५८ जना रहेको छ । विभागले संस्थागत रूपमा श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदै गरेका ७ सय २७ वटा म्यानपावर कम्पनीको नाम सो विवरणमा समावेश गरेको छ ।
विभागका अनुसार माघ महिनामा मात्र कुल ७२ हजार ४ सय ४१ जना नेपाली कामदार श्रम स्वीकृति लिएर विभिन्न देशको वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये पुरुष कामदारको संख्या ६४ हजार ३ सय ११ जना र महिला कामदारको संख्या ८ हजार १ सय ३० जना रहेको छ
यसैगरी, सरकार टु सरकार (जीटुजी) मार्फत १ हजार १६ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । माघ महिनामा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीले १३ वटा मुलुकमा मात्र नेपाली कामदार पठाउन सकेका छन् । युरोपियन मुलुकमा रहेका नेपाली दूतावासहरूले समयमा मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले डिमान्ड भएका मुलुकमा समेत नेपाली कामदार पठाउन नसकेको सम्बन्धित वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो छ । उनीहरूले लामो समयदेखि यस्तो समस्या’bout सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म केही नभएको बताएका छन ।
नियामक निकाय वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो महिना पुस महिनामा पनि संस्थागत रूपमा म्यानपावर कम्पनीले १६ देशमा मात्र कामदार पठाएका थिए । पुसको तुलनामा माघ महिनामा करिब ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गए पनि म्यानपावर कम्पनीहरू पुरानै श्रम गन्तव्यमा निर्भर देखिएका छन् ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खाडी मुलुक कतार, साउदी अरेबिया, बहराइन, ओमान, जोर्डन, कुवेतमा नेपाली कामदार पठाइएको छ । यसैगरी, मलेसिया, मौरिसस, रोमानिया, टर्की, बेलायत, साइप्रस र जापानमा मात्र कामदार पठाएका छन् ।
गत माघमा २५ हजारभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीका लागि यूएई पुगेका छन् । जसमध्ये संस्थागत रूपमा श्रम स्वीकृति लिएर म्यानपावर कम्पनीमार्फत १७ हजार ४ सय ९१ जना वैदेशिक रोजगारीमा गएका छन् ।
साउदी अरेबियामा संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत ६ हजार ५ सय ४८ जना, बहराइनमा ५ सय ३६ जना, साइप्रसमा ४ सय ४९ जना, जापानमा १ सय ३० जना, जोर्डनमा ३९ जना, कुवेतमा ३ हजार ५ सय १ जना, मलेसियामा ४ सय जना गएका छन् ।
त्यसैगरी, मौरिससमा १ सय २६ जना, ओमानमा ५ सय ३१ जना, मकाउमा १० जना, माल्दिभ्समा २३ जना, कतारमा ३ हजार ६ सय ५४ जना, रोमानियामा १३ जना, बेलायतमा १० जना र हङकङमा १ जना गएका छन् । युरोपियन मुलुकमा संस्थागत रुपमा भन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने र पठाउने क्रम माघमा पनि नरोकिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायी एवं सम्बन्धित सरोकारवालाहरूका अनुसार देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा अहिले नेपाली युवालाई बिदेसिनुबाहेक अर्को विकल्प छैन । जसका कारण पछिल्लो समय करिब दैनिक २ हजार ४ सयदेखि झन्डै ३ हजार जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गइरहेका छन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया