असार २२, २०८२ आइतबार July 6, 2025

‘समावेशी अवसर एक पटक मात्र’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी सङ्घीय निजामती सेवासम्बन्धी कानुन बनाउन दलहरू सहमतिउन्मुख बनेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिमा समावेशी अवसर एक व्यक्तिलाई सेवाकालमा एक पटक मात्र दिने गरी सहमतिको तयारी भएको हो । समितिमा प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधि उक्त व्यवस्था राख्न सहमत छन् । उपसमितिले औपचारिक रूपमा निर्णय भने गरिसकेको छैन ।

उपसमिति संयोजक दिलेन्द्रप्रसाद बडूले विवादका विषयलाई पहिचान गरी छलफल जारी रहेको बताउनुभयो । बडूले समावेशी अवसर एक पटक मात्र दिनेमा सबै दल सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा अवधिमा एक व्यक्तिलाई एक पटक समावेशी कोटामा प्रतिस्पर्धाको अवसर दिने र सोपछि सुविधा नदिनेमा सबैको सहमति नै छ । औपचारिक रूपमा निर्णय भएको छैन ।”

समावेशी अवसर एक व्यक्तिलाई एक पटक मात्र दिन समितिमा यसअघि लोक सेवा आयोगका पदाधिकारीले पनि सुझाव दिएका थिए । यस्तै प्रदेश लोक सेवा आयोगको सुझावमा पनि सोही प्रस्ताव थियो । नेपाल सरकारका पूर्वमुख्यसचिव, सचिव र विज्ञहरूले पनि समावेशी अवसर लक्षित वर्गमा पुर्‍याउने सुनिश्चितता र एक पटकको अवसर उचित हुने सुझाव समितिलाई दिएका थिए ।

अहिले पटक पटक एकै व्यक्तिले समावेशी कोटामा प्रतिस्पर्धा गर्न पाउँछन्, जसले गर्दा अवसर एकै व्यक्तिले पाएको र प्रतिस्पर्धासमेत सीमित बनाएको भन्दै आलोचना हुने गरेको छ । सर्वोच्च अदालतले समेत २०७७ सालमा एक व्यक्तिलाई पटक पटक आरक्षण कोटाको अधिकार दिन नहुने व्याख्या गरेको थियो ।  उपसमितिले सङ्घीय निजामती सेवामा श्रेणी र तहगत दुवै व्यवस्था कायम राख्ने गरी अघि बढाएको छ । प्रदेश र स्थानीय तहमा भने तहगत प्रणाली मात्र कायम रहने गरी उपसमिति सहमतिनजिक छ । उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा राख्ने वा नराख्नेमा पनि उपसमितिमा छलफल जारी छ । खुला प्रतिस्पर्धामा बहालवाला कर्मचारीलाई प्रतिस्पर्धाको अवसर दिने वा नदिनेमा पनि उपसमितिमा छलफल भइरहेको छ ।

उपसमिति निजामती सेवामा अतिरिक्त सचिव बनाउनेमा पनि सहमतिनजिक छ । प्रदेश मन्त्रालयको सचिव, सङ्घीय सरकारका विभिन्न विभागको जिम्मेवारी तथा मन्त्रालयमा द्वितीय सचिवका रूपमा रहने गरी अतिरिक्त सचिवको व्यवस्था गर्नेमा पनि अधिकांशको सहमति छ । सरकारले प्रस्ताव गरेको विधेयकमा अतिरिक्त सचिवको व्यवस्था छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि अतिरिक्त सचिवको पक्षमा छैन ।

दुई पटकसम्म पनि समावेशी समूहले तोकिएको सङ्ख्यामा उम्मेदवार पाउन नसके उक्त कोटालाई खुलामा गाभ्ने वा नगाभ्नेमा पनि उपसमिति छलफलको चरणमा छ । निजामती सेवाभित्रको आधिकारिक टे«ड युनियनबारे सरकारले ल्याएको प्रस्ताव उपयुक्त रहेको निचोड उपसमितिको छ तर दलनिकट भएका सङ्गठनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल जारी रहेको उपसमिति संयोजक बडूले जानकारी दिनुभयो ।

निजामती सेवाबाट अवकाश पाएका कर्मचारीलाई संवैधानिक निकाय वा अन्य कुनै पदमा नियुक्तिका लागि कुलिङ परियड राख्नुपर्नेमा उपसमिति सहमत छ तर समयावधि कति राख्ने भन्नेमा छलफल जारी छ । लोक सेवा आयोग तथा समितिमा सुझाव दिने विज्ञहरूले कुलिङ पिरियड राख्न सुझाएका थिए । संवैधानिक नियुक्तिसँगै अन्तर्राष्ट्रिय सङ्घ संस्थाको हकमा पनि सोही व्यवस्था गर्न विज्ञहरूको सुझाव थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार