असार २२, २०८२ आइतबार July 6, 2025

गच्छदारसहितलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियारले फैसला बदर गरी मागदाबीअनुसार सजायको मागसहित सर्वोच्चमा पुनरावेदन गरेको हो ।

२०८० फागुनमा विशेष अदालतले पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्नेत र पूर्वभूमि सुधार सचिव छविराज पन्तसहित १ सय ३१ जनालाई दोषी ठहर गर्दै हिनामिना भएको जग्गा सरकारका नाममा कायम हुने फैसला सुनाएको थियो । तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यलाई पनि दोषी ठहर गरिएको थियो ।

विशेषले अख्तियारबाट प्रतिवादी बनाइएका तत्कालीन उपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमि सुधारमन्त्री चन्द्रदेव जोशी र तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहित उच्च पदस्थ व्यक्ति र कतिपय कर्मचारीलगायतलाई भने सफाइ दिएको थियो । सफाइ दिने विशेषको फैसलालाई अख्तियारले त्रुटिपूर्ण र अदालतका नजिरहरूलाई समेत बेवास्ता गरिएको भन्दै फैसला उल्टाएर मागदाबीबमोजिम सजाय हुनुपर्ने माग गरेको हो ।

२०७६ माघ २२ मा अख्तियारले गच्छदारसहित पूर्वमन्त्री, पूर्वसचिव, भूमाफिया, व्यापारी र भूमि प्रशासनका कर्मचारीसहित १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसको ४ वर्षपछि २०८० फागुन ३ मा विशेषले मुद्दा किनारा लगाउँदै १ सय ३१ जनालाई दोषी ठहर गरी ललिता निवास परिसरको हिनामिना भएको जग्गा सरकारकै नाममा हुने फैसला गरेको थियो । प्रतिवादी बनाइएका बाँकीलाई विशेषले सफाइ दिएको थियो ।

नीतिगत निर्णयको आवरणमा तत्कालीन २ मन्त्री गच्छदार र जोशीसहित प्रतिवादीले सफाइ पाएका थिए । प्रतिवादी बनाइएका कर्मचारी, कतिपय व्यापारी, बिचौलियासमेतले विशेषबाट सफाइ पाएका थिए । दोषी ठहर भएका मध्ये पनि धेरैलाई आंशिक मात्रै सजाय हुने फैसला भएको थियो । विशेषले तथ्य, प्रमाण तथा अदालतबाट भएका स्थापित नजिरलाई समेत अनदेखा गरी प्रतिवादीलाई सफाइ तथा आंशिक मात्रै दोषी ठहर गरेको भन्दै पुनरावेदन गर्नुपरेको अख्तियारले जनाएको छ । अख्तियार प्रवक्ता नरहरि घिमिरेले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेकाले मंगलबार सर्वोच्चमा पुनरावेदन गरिएको बताए ।

ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा सरकारले अधिग्रहण गरेकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि गत वर्षको विशेषकै फैसलाले सरकारका नाममा कायम गर्न बाटो खुलेको थियो ।

२०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव पन्त र पूर्वभौतिक योजना सचिव बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको थियो ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको थियो । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका थिए ।

२०४९ र २०६० को निर्णय कर्मचारी तहबाट र २०६६/६७ र २०६९ तिर भएका अनियमितताका निर्णय क्रमशः माधवकुमार नेपाल र बाबुराम भट्टराई मन्त्रिपरिषद्का निर्णयबाट जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा पुगेको थियो । अख्तियारले ‘बदनियतपूर्ण’ रूपमा मुख्य निर्णयाधिकारी दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा

तत्कालीन मुख्यसचिव लीलामणि पौड्याललाई उन्मुक्ति दिएर बाँकीलाई मुद्दा चलाएको थियो । विशेषले पनि निर्णयाधिकारीमध्येका राजनीतिक तहका प्रतिवादीलाई सफाइ दिएर कर्मचारी तहमा मात्रै दोषी ठहर गरेको थियो । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार