असार २२, २०८२ आइतबार July 6, 2025

फुटिरहन्छ मेलम्ची पाइप, दोषी केयुकेएल कि प्राधिकरण?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

थापाथली चोकबाट प्रसूति गृहतर्फ जाने सडकमुनि बिछ्याइएको खानेपानी पाइप मंगलबार बिहान फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ। पाइप फुट्दा त्यस क्षेत्रमा खानेपानी वितरण प्रणाली पनि अवरुद्ध भयो।

काठमाडौं उपत्यकामा मेलम्चीको पाइप फुटेको यो पहिलो पटक भने होइन। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता इन्जिनियर चन्द्रकुमार पा श्रेष्ठका अनुसार उपत्यकामा मेलम्ची खानेपानी प्रणालीअन्तर्गत बिछ्याएको नयाँ पाइप चार/पाँच वर्षको अवधिमा करिब आधा दर्जन ठाउँमा फुटिसकेको छ। गत माघ ३० गते काठमाडौंको बबरमहल र मंसिरमा नयाँ बजारमा खानेपानीको पाइप फुटेको थियो। त्यसअघि ललितपुरको पुल्चोक क्षेत्रमा पाइप फुटेको थियो। बबरमहलमा पाइप फुट्दा करिब १० लाख लिटर पानी खेर गएको थियो।

थापाथली क्षेत्रमा पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणको लापरबाही रहेको केयुकेएलले जनाएको छ। केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले गरेको प्रारम्भिक अध्ययनले प्राधिकरणले विद्युत्को लाइन भूमिगत गर्ने क्रममा सावधानी नअपनाएका कारण खानेपानी पाइपमा क्षति पुगेको देखाएको छ।

निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै विद्युत् प्राधिकरणले विद्युत्को तार भूमिगत गर्दा मेलम्ची खानेपानीको पाइपलाइनभन्दा कम्तीमा एक मिटर टाढा राख्नुपर्ने पूर्वसमझदारी तोडेर सोझै खानेपानीको पाइपमाथि नै तार बिछ्याएको पाइएको जनाएको छ। त्यसकारण खानेपानीको पाइपमा क्षति पुगेको केयुकेएलका प्रवक्ता श्रेष्ठले बताए।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार विद्युतीय तार बिछ्याउँदा खानेपानीको पाइपमा चोट लागेकाले पानी वितरण गर्दा चाप बढ्न गई फुटेको हुन सक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ। बबरमहलमा पानीको पाइप फुटेको बेलामा पनि केयुकेएलले विद्युत् प्राधिकरणका कारण यस्तो भएको बताएको थियो।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले माघ ३० गते विज्ञप्ति निकालेर विद्युत् प्राधिकरणको ठेकेदार कम्पनी केइआईले जिआइएस म्यापको सही अध्ययन नगरी पाइलट ड्रिलिङपछि रिमिङ गर्ने क्रममा खानेपानीको पाइपलाइनमा क्षति पुगेको जनाएको थियो।

पाइपको गुणस्तरमा आशंका

सन् २०१५ देखि २०२० सम्म काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण प्रणालीअन्तर्गत नयाँ पाइप बिछ्याइएको थियो। करिब नौ अर्ब रुपैयाँ खर्चेर शर्मा एन्ड कम्पनीलगायत चारवटा ठेकेदार कम्पनीबाट चार प्याकेजमा खानेपानीको नयाँ पाइप बिछ्याइएको थियो।

सन् २०१० मा सुन्दरीजलमा नयाँ पाइप बिछ्याइएको थियो। यो काम चक्रपथभित्र स्न २०१५ बाट सुरु गरिएको थियो। केयुकेएलका प्राविधिकतर्फका एक उच्च कर्मचारीका अनुसार मेलम्चीको खानेपानी वितरणका लागि उपत्यकामा बिछ्याइएको पाइप डक्टायल आइरन (डिआई) हो। यो फलामबाट बनेको हुन्छ।

ती प्राविधिक भन्छन्, ‘तर विडम्बनाको कुरा नेपालमा पाइपको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नै छैन। जुन देशमा पाइप निर्माण भएको हो, त्यहाँकै कारखानामा मात्र गुणस्तरको परीक्षण हुने गरेको छ। नेपालमा पाइप आइसकेपछि त्यसको गुणस्तर आँखाले हेरेर जाँच गर्नुपर्छ। आँखाले हेरेर के जाँच हुन्छ ? सबै ठिक छ भनेर विश्वास गर्नुपर्छ। त्यसैले नेपाल विद्युत प्राधिकरणलाई मात्र दोष दिनुभन्दा पाइपको गुणस्तर पनि परीक्षण गर्नु आवश्यक छ।’

उपत्यकामा डिआई पाइप बिछ्याउने निर्णय केयुकेएलकै हो। प्रवक्ता श्रेष्ठ स्वयं पनि नेपालमा पाइपको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नभएको स्विकार गर्छन्। उपत्यकामा बिछ्याइएको पाइप ठेकेदार कम्पनीले भारत र चीनबाट झिकाएको हो। ती पाइप २० इन्च चौडाइका छन्। पाइपको गुणस्तरमै समस्या आएको भए यसरी फुट्ने समस्या दोहोरिरहन सक्ने ती प्राविधिकले बताए। त्यसैले यस विषयमा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

काम गर्ने तौरतरिकामा पनि प्रश्न

मेलम्ची खानेपानीको पाइप पटकपटक फुट्नुले सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने तौरतरिका र गुणस्तरमा पनि गम्भीर प्रश्न उठेको छ। यसले पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबीच आपसी समन्वय हुन नसकेको पनि देखाएको छ।

सरकारी निकायबीच एकले अर्कोलाई दोष देखाएर पन्छिने प्रवृत्ति बढिरहेको छ। सरकारी निकायहरूले जमिनमुनि पाइप बिछ्याउँदा या तार राख्दा आपसमा समन्वय नगर्दा र सावधानी पनि नअपनाउँदा यस्तो समस्या उत्पन्न हुने गरेको केयुकेएलका कर्मचारी बताउँछन्।नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार