जेठ ६, २०८१ आइतबार May 19, 2024

म ओली गुटमा गएको भन्ने कुरा सही होइन, हामी जहाँ थियौँ त्यही छौँ : देवेन्द्र पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टी फुट्छ कि जुट्छ ?

मैले बुझेअनुसार फुट्दैन ।

किन फुट्दैन ? कसरी फुट्दैन ? हिजो प्रचण्डले प्रस्ट रूपमा भन्नुभएको छ, खराबभन्दा खराब परिस्थितिको लागि पनि तयार भएर बस्नुस्, अब पार्टी फुट्न सक्छ । के.पी शर्मा ओलीलाई हामीले सच्याउन सकेनौँ । हामी असफल भयौँ भनेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल तीनै जना नेताले आफ्नो कुरा राख्नुभएको छ नि ?

पार्टीमा छलफल, बहस, प्रतिक्रिया, आलोचना, विरोध भईरहन्छ । त्यसैको शृंखलामा यो कुरा आएको होला । यद्यपि म काठमाडौँमा छैन । उहाँको अभिव्यक्ति प्रत्यक्ष सुन्न पाएको छैन । नेकपा फुट्दैन । दुई जना साथीहरूलाई गहिरो गरी दबाब पनि छ । त्यसैले सहमतिको निकास खोज्न विभिन्न विकल्पहरूको प्रयत्न भएकै छ । ती विकल्पमध्ये कुनै न कुनै विकल्पमा गएर नेकपालाई नफुट्नेगरी हामी सबैले पहल गरेका छौँ र पार्टी फुट्दैन, म विश्वास दिलाउन चाहन्छु ।

हिजो प्रचण्डले प्रस्ट रूपमा भन्नुभएको छ–अब ओलीले भूमिका बदल्न मात्र बाँकी छ । हामीले सच्याउन सकेनौँ । त्यसैले अब तपाईहरूले साथ दिनुपर्छ भनेर तपाईकै पार्टीका निकट पत्रकारहरूसँग बताउनुभएको छ ।

त्यो स्वभाविक हो । उहाँले कतिपय कुराहरू राखिरहनु भएको छ । धेरैपटक उहाँ बालुवाटारमा जानुभयो । फेरि पनि सहमतिको विन्दु भेटाउन सकिएको छैन । तर फेरि पनि पद र प्रतिष्ठा होइन, पद र प्रतिष्ठा बाहेक पनि कम्युनिष्ट पार्टी चल्न सक्छ । त्यसकारण विधि, पद्धति र प्रणालीको कुरा हामीले उठाएका छौँ । जतिसक्दो छिटो बरु महाधिवेशन गरेर समस्याहरूको निकास गरेर नै जाँदा राम्रो भएको हुँदाखेरि उहाँहरूले त्यो कतिपय कुराहरू भनेको बाबजुद पनि नेकपा फुट्दैन ।

धेरै बौद्धिक समुदायहरूको एउटा प्रतिक्रिया आइसकेको छ । अब प्रचण्ड र के.पी. शर्मा ओलीबीचमा कुरा मिल्न गा¥हो छ । किनभने उहाँहरूको जुन तर्क छ, प्रधानमन्त्रीले प्रस्ट रूपमा भन्नुभएको छ, अब स्थायी समितिको बैठक बस्न सक्दैन । अब सचिवालयमा नै बसेर समस्याको समाधान खोजौँ । अब प्रचण्ड र माधवकुमार नेपालले मान्नुभएन ?

अहिलेको बहालवाला नेकपाको संस्थागत संरचना भनेको सचिवालय, स्थायी समिति र केन्द्रिय समिति हो । अर्को महाधिवेशनले विस्थापन गरेर वा नयाँ सहमति भएको अवस्था वा अर्को पार्टीको निर्णयको अवस्था भएको बाहेक केन्द्रिय कमिटि, स्थायी समिति र सचिवालय नै नेकपाको अहिलेको संरचना हो । हाम्रा पार्टीभित्रको समस्याको निकास यिनै कमिटिमा बहस, छलफल गरेर, यिनै साथीहरूको सुझावहरू सुनेर यसैबाट पनि एउटा विधि, प्रक्रिया र पद्धति विकास गरेर निकास निकाल्नुको विकल्प छैन । यो बनाएको नै आफ्नो खल्तीबाट चिट निकालेर नाम दिएर सुझावको आधारमा बनाएको कमिटि हामी कसैले पनि विश्वास गदैनौँ भनेदेखि त्यो त अर्को कुरा हो ।

स्थायी समितिको बैठक राखेर समस्याको समाधान गर्न प्रधानमन्त्री तयार हुनुभएन भने तपाईहरूसँग विकल्प के छ ?

हामीसँग केन्द्रिय कमिटिको बैठक वा महाधिवेशन छ ।

तर महाधिवेशनको लागि त प्रचण्ड तयार हुनुहुन्न ?

स्थायी समितिको बैठक अहिले तत्काललाई त्यस्तो केही समस्या प¥यो, नराखौँ भन्ने स्थितिको सम्बन्धमा दुई ओटै अध्यक्षबीच सहमति भयो र सहमतिको विन्दु खोजौँ भन्दा केन्द्रिय कमिटिको बैठक र तुरुन्तै महाधिवेशनमा जाने तयारी सुरु हुन सक्छ ।

प्रधानमन्त्रीले भन्नुभएको होइन, बालुवाटारमा, विज्ञहरूसँग छलफल गर्दाखेरि, हाम्रा साथीहरूले मलाई असहयोग गरिरहेका छन् । अहिले केन्द्रिय समितिको बैठक बोलाउँदाखेरि भीड जम्मा गर्छन् भनेर प्रधानमन्त्री समेतको असन्तुष्टि तपाईले सुन्नुभएन ?

यो उहाँले कोभिडको प्रसंगमा धेरै भीडभाड नगरौँ भनेर भन्नुभएको होला । केन्द्रिय कमिटिको बैठक भन्ने बित्तिकै धेरै मान्छेहरूको जमघट हुन्छ । त्यसो भएर पनि यहाँ धेरै मान्छेहरूको भीडभाड नगरौँ भन्ने आशय उहाँको हुनसक्छ । तर पार्टीको निकास दिने, अहिलेको यो अवस्थालाई गतिरोध दिन पार्टीलाई गतिशील बनाउने महत्वपूर्ण ठाउँमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली हुनुहुन्छ । त्यसैले एकले अर्कालाई प्रतिक्रिया दिएर जग हसाउँनुभन्दा पार्टीका साथी, जनता, देशलाई निकास दिनु नै अहिलेको समयको आवश्यकता हो । अझै दुई अध्यक्षको बीचमा अरू आवश्यक साथीहरूलाई पनि राखेर निकास खोज्नुपर्छ । सबैभन्दा लचिलो निकास दिने, सबैभन्दा बढी नेतृत्व गर्ने अहिलेको कार्यकारी हैसियतले प्रधानमन्त्री ज्युले नै पार्टीलाई निकास दिनको निम्ति विभिन्न विकल्पसहित साथीहरूले छलफललाई अगाडि बढाउनुपर्छ ।

यदि सहमति हुन सकेन, कुरा मिल्न सकेन भने पार्टी फुट्यो भने यसको दोष कसले लिने ?

मैले त्यहाँसम्मको परिकल्पना गरेको छैन । यो दुई डेढ महिनाको गतिविधि हेर्दाखेरि पार्टी फुट्छ कि भन्ने चिन्ता जता पनि छ । यस्तै हुँदाहुँदै विगतमा पार्टी फुटेको, टुटफुट भएको पनि हामीले इतिहास व्यहोरेर आएका छौँ । तर पनि फेरि दोष कसलाई दिने भन्दा पनि दुबैजना अध्यक्षले सहमतिका आधारमा के गर्ने हो उहाँहरूले टुंग्याउनुपर्छ । दुई पाइलटको व्यवस्था गरियो । यसमा उहाँहरूको छलफल हुन्छ ।

दुई पाइलटको बीचमा पनि त कुरा मिलेन ?

मिलेको छैन, मिलाउने प्रयत्न गर्नुपर्छ । बोलचाल भएको छैन भन्ने पनि टिप्पणी आएको छ । उहाँहरू कुरा गर्नुभएको छ, वार्ता गर्नुभएको छ तर दुःखद कुरा तसमस हुनुभएको छैन । अब फेरि पनि पद र प्रतिष्ठालाई केन्द्रमा राखेर पार्टी फुट्यो भने जनता र इतिहासले क्षमा दिने छैन ।

पछिल्लो अवस्थामा तपाई प्रचण्डको गुटबाट के.पी. शर्मा ओलीको गुटमा जानुभएको कुरा सही हो कि गलत हो ?

यो सही होइन । हामी जहाँ थियौँ, त्यही छौँ । हामी जहाँ छौँ, त्यहीबाट एकताको निम्ति पहल गरिरहेका छौँ । हामीले अध्यक्षलाई भेटेको कुरा सही हो । अरू वरिष्ठ नेताहरूलाई पनि भेटेको कुरा सही हो । हामी भेटेर एकसूत्रीय हाम्रो अभियान छ, यो पार्टी फुट्नु हुन्न । जोगाउने जिम्मा तपाईहरूको काँधमा छ । अरू जेसुकै पद लेनदेन गर्नुस्, बाँडचुँड गर्नुस्, अर्को महाधिवेशनसम्म तपाईहरूलाई विस्थापन गर्न म आउँछु भनेर कसैले भनेकै छैन । पद भएका पार्टीका पद लिने तपाईहरूले हो । त्यसकारणले टुटफुट गर्नुहुन्न भनेर भेटेको कुरा साँचो हो । तर हामी जो जहाँ छौँ, त्यही छौँ ।

प्रचण्डसँग भएका स्थायी समितिमा धेरै साथीहरूले उहाँलाई छोडेर के.पी. शर्मा ओलीको समुहमा गईसक्नुभएको छ अरे ?

त्यस्तो मलाई लाग्दैन । मैले बुझेको अनुसार कोही कतै जानुभएको छैन । भेटघाट गर्नुभएको कुरा साँचो हो । भेटेर आफ्नो कुरा, तर्क राख्नुभएको छ । तर एउटा कित्ता छोडेर अर्को कित्ता गरेर समस्याको निकास पनि हुँदैन । जो जहाँ छौँ, त्यहीबाट भूमिका खेलेर दुई अध्यक्षको बीचमा सहमति गर्ने प्रयत्न नै आजको इतिहासको आवश्यकता हो ।

अयोध्यामा राममन्दिर बन्ने भएको छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गर्नुभएको छ । हिजो मोदीले प्रस्ट रूपमा भन्नुभएको छ, रामसँग नेपालको आत्मीय सम्बन्ध छ । त्यो सही हो ?

सही हो । एकदम आत्मीय सम्बन्ध छ । जनकपुर, सीतासँगको सम्बन्ध र अरू त्यतिखेरका साँस्कृतिक सम्बन्ध बुझेका पौराणिक तथ्यहरूका आधारमा दुई देशबीचको सम्बन्ध निकै प्रगाढ छ । यसलाई थप जटिल बनाउन नदिनका निम्ति हामीले वार्ता र संवादको प्रक्रियाबाट दुई देशबीचको गाठाहरूलाई फुकाउने प्रयत्न गर्नुपर्छ र दुई देशबीचमा सहमति गरेर आगामी लामो युगसम्म सँगै जाने प्रतिबद्धता हामीले व्यक्त गर्नुपर्छ । नेपालको गुनासालाई गम्भीर रूपमा लिएर वार्ताको प्रक्रियाबाट नेपालले उठाएको सकारात्मक कदमको पहल गर्ने काम उहाँले गर्नुपर्छ ।

नेपालसँगको सम्बन्ध जानकीसँग जोडिएको छ भनेर मोदीको प्रतिक्रिया आयो । नेपाल भारत सम्बन्ध सुमधुर, प्रगाढ हुन्छ ?

मोटामोटी ठिकै हो । नेपालसँगको सम्बन्धको बारेमा जुन प्रतिक्रिया आएको छ, त्यसमा हाम्रो कुनै प्रतिक्रिया छैन । अहिले हामी कालापानी, लिपुलेक, लिम्पियाधुराको प्रश्नलाई हामीले निकै गम्भीरतापूर्वक उठाएर हामीले हाम्रो ऐतिहासिक भूगोलसहितको हकदाबी गरेका छौँ । मलाई जहाँसम्म लाग्छ, भारतीय पक्षले नेपालको त्यो विगतको तथ्यपूर्ण कुरालाई गम्भीरतापूर्वक लिनेछ । त्यो समस्या सुल्झाएर बाँकी समस्याहरूलाई हल गर्दै नेपाल भारत सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्छौँ ।

तर, प्रधानमन्त्री ओलीले एउटा प्रतिक्रिया दिनुभएको छ । अयोध्या पनि नेपालको र राम पनि नेपालमा जन्मेका हुन् भनेर । तपाई के भन्नुहुन्छ ?

यो एक प्रकारको निर्णयभन्दा पनि एकेडेमिक बहसको रूपमा उहाँले दिनुभएको भनेर मैले सुनेँ । एउटा बहस होस्, छलफल होस् । अयोध्या भन्ने ठाउँ पनि नेपालमा छ । जस्तै गौतम बुद्ध जन्मेको नेपाल हो । त्यस्तै प्रकृतिको ठाउँ उता पनि बनाइएको छ । त्यसै गरिकन राम नेपालमा जन्मेका हुन् कि भन्ने तथ्यको खोजी होस्, विज्ञहरूले खोज्नुस् । इतिहासहरू खोज्नुहोस् भनेर उहाँले त्यो प्रतिक्रिया दिनुभएको भनेर मैले त्यो अर्थमा मैले बुझेको छु । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया