असार २२, २०८२ आइतबार July 6, 2025

तत्काल बालश्रममुक्त नेपाल बनाउन कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २४ गते   । दिगो विकास लक्ष्यले निर्धारण गरेको समयसीमाभित्र बालश्रममुक्त देश नहुने देखिएको छ । दिगो विकास लक्षको साताँैं बुँदामा सन् २०२५ सम्ममा बालश्रममुक्त गर्न प्रभावकारी उपाय अपनाउनुपर्ने उल्लेख छ । तर त्यस अवधिभित्र नेपालले लक्ष नभेट्ने देखिएको छ । १५ औँ योजनाले २०८१ सम्ममा राज्यले सबै प्रकारका बालश्रमको अन्त्य गर्नुपर्ने लक्ष्य तय गरे पनि नतिजामा बालश्रमको अन्त्य भएको देखिँदैन ।

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँका अनुसार २०२१ मा गरिएको बालश्रम सर्वेक्षणले करिब ११ लाख बालबालिका श्रममा रहेको पाइएको छ । यो सङ्ख्या घटाउन तत्तकाल सम्भव देखिँदैन । उपाध्यक्ष बानियाँले स्थिर सरकारको अभाव, नीति, ऐनको फितलो कार्यान्वयन र नेपालीको जीवनस्तर उकास्ने योजनाबद्ध कार्यक्रम सञ्चालन नहुँदा बालश्रम अपराध हो भन्ने चेतना भएर पनि  बालबालिका श्रममा संलग्न हुन बाध्य रहेको बताउनुभयो ।

हाल नेपालको कुल बालबालिकामध्ये १६ प्रतिशत बालश्रममा रहेको तथ्याङ्कले देखाउँछ । त्यसमध्ये पनि दुई लाख बालबालिका अत्यन्त जोखिमपूर्ण श्रममा रहेका छन् । नेपालमा बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन अनुसार बाल हेल्पलाइन सेवा (१०९८) मार्फत विसं २०७९÷८० मा पनि बालश्रममा संलग्न रहेका ४२ जना बालक र २२ बालिकाको उद्धार गरिएको थियो ।

नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण श्रममा लगाउन बन्देज लगाइएको छ । त्यसै गरी बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा (६) मा प्रत्येक बालबालिकालाई आर्थिक शोषणपूर्ण काममा लागाउन घरेलु कामदार वा कमलरीका रूपमा राख्न नहुने व्यवस्था गरेको छ । बालबालिकाले श्रममा जानुपर्ने बाध्यताको अन्त्य नभएसम्म बालश्रममुक्त देश बनाउन सम्भव छैन ।

बालश्रम गर्नु÷गराउनुहुन्न भन्ने चेतनाले मात्र पुग्दैन, नेपालका हरेक परिवार उत्पादनशील र आर्थिक रूपमा सक्षम नभएसम्म बालबालिकाले कमाउँदै पढ्ने, खाने÷लगाउने स्थिति रहने हुँदा बालश्रममुक्तको नारा सफल नहुने सरोकारवालाको भनाइ छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले भन्नुभयो, “१४ वर्षभन्दा कम उमेरका बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो ।”

नेपालमा कानुनले बालबालिकाको उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य काम तोकेको छ । कानुनी प्रावधान अनुसार १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउनु दण्डनीय हुन्छ । १४ देखि १८ वर्षसम्मका बालबालिकालाई उनीहरूको शिक्षा, स्वास्थ्य, शारीरिक रूपमा असर नपर्ने गरी सामान्य काममा लगाउन सकिन्छ ।

त्यसै गरी बालश्रम (नियमित र निषेधित गर्ने) ऐन, २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण व्यवसाय वा काम भनी उल्लेख गरेको छ । जसमा बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बाल बँधुवा बालश्रम, घरेलु बाल श्रमिक, इँटा कारखानामा काम गर्ने बाल श्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बाल श्रमिक पर्छन् ।

१४ देखि १८ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउँदा सम्बन्धित श्रम कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । हप्तामा ३६ घण्टाभन्दा बढी काममा लगाउन पाइँदैन भने साप्ताहिक बिदा अनिवार्य दिनु पर्छ ।

बालश्रम सम्बोधन नहुनुका कारण

नेपालमा औपचारिकभन्दा पनि अनौपचारिक क्षेत्रमा बालश्रम धेरै छ । ठुला कलकारखाना, उद्योग व्यवसायमा बालश्रमिकको सङ्ख्या न्यून छ तर अनौपचारिक क्षेत्र घर, साना होटेल, साना औद्योगिक क्षेत्रमा धेरै बालबालिका संलग्न छन् । अनौपचारिक क्षेत्र कतै दर्ता नै भएको हुँदैन । कानुनी दायरामा त्यो प्रणाली नै दर्ता छैन भने राज्यले त्यसलाई हस्तक्षेप गर्न नसकेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले आर्थिक वर्ष २०८७/८८ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य लिएको छ ।

आव २०७९/८० असार मसान्तसम्ममा जम्मा २३ वटा स्थानीय तह (एक उपमहानगरपालिका, १९ वटा नगरपालिका र तीन गाउँपालिका) बालमैत्री घोषणा भएका छन् । राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले हालसम्म २४ वटा स्थानीय तहले बालमैत्री घोषणा गरेको र आठ वटा स्थानीय तहले बालश्रममुक्त घोषणा गरेको बताउनुभयो । उहाँले बालश्रममुक्त क्षेत्र घोषणाका नीतिमा पनि एकरूपता हुनुपर्नेबारे छलफल आवश्यक रहेको बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि अनुसार ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यान्वयन’ का लागि ससर्त अनुदान पनि प्रदान गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार