असार २२, २०८२ आइतबार July 6, 2025

स्ववियु निर्वाचन: नेविसंघलाई बागी मिलाउनै हैरान, दुई संगठन शान्त

अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म मिलाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र बागी उम्मेदवारले हैरान पारेको छ । देशभर करिब दर्जन बढी क्याम्पसमा बागीले उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिनेमा शेखर कोइराला पक्ष हाबी देखिएको छ ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार त्रिवि केन्द्रीय क्याम्पस, थापाथली इन्जिनियरिङ, त्रिचन्द्र, आरआर क्याम्पस, ठाकुरराम बहुमुखी, महेन्द्रमोरङलगायतमा बागीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने विषयमा भागवण्डा मिलाउन नसक्दा केही ठूला क्याम्पसमा बागीको हाबी देखिएको छ । कसलाई उम्मेदवारी दिने भन्ने विषयमा विवाद हुँदा त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघ आबद्ध ६ जनाले बागी उम्मेदवारी दिएका छन् ।

नेविसंघमा केन्द्र र इकाइले फरकफरक अध्यक्षलाई मनोनयन गर्न पत्र पठाएपछि विवाद भएको थियो । केन्द्रले दीपकराज जोशीलाई गर्ने अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न पत्र पठायो । त्यसअघि त्रिवि इकाइ सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्ष उम्मेदवार हुने गरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको थियो । केन्द्र र इकाइले फरकफरक उम्मेदार घोषणा गरेपछि ठूलो समस्या भएको छ ।

त्रिविमा पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टि जनाउँदै वागी उम्मेदवारी दिएका छन् । उम्मेदवारीको विरोधमा नेविसंघका असन्तुष्ट र आधिकारिक उम्मेदवारले तालाबन्दी गरेका छन् ।
इकाइ अध्यक्ष बडैलाले स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र नेविसंघको निर्देशक समिति संयोजकबाट निर्देशनअनुसार कार्कीलाई उम्मेदवार बनाएको दाबी गर्नुभएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा आधिकारिक उम्मेदवार को हो भन्ने विषयको टुंगो नलागेका कारण उम्मेदवार टुङ्ग्याउन जटिल भएको छ ।

पूर्वाञ्चलकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । तालाबन्दीलगत्तै प्रहरी टोलीले ताला फुटाइदिएको छ । कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको थियो । नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्ज्वल विष्ट र कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।

अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए । त्यस्तै वीरगन्जको ठाकुरराम बहुमखी क्याम्पसमा दुई प्यानलमा वागीले उम्मेदवारी दिएका छन् । अधिकांश क्याम्पसमा अध्यक्ष पदमा बागीमा उम्मेदवारी दिएका छन् । तर, ठाकुरराममा भने दुईवटा प्यानलबाटै उम्मेदवारी दिएको नेविसंघका प्रवक्ता सेजुवालले जानकारी दिनुभयो ।

बागी उम्मेदारले नेविसंघलाई तनाव बनाएको छ । प्रवक्ता सेजुवालले अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म मिलाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मनोनयन गर्दा थुप्रैले बागीमा उम्मेदवारी दिन्छन्, अन्तिम दिनसम्म सबैलाई मिलाउनेछौं ।’ उहाँले भनेजस्तो मिल्ने अवस्था देखिँदैन । देउवा र कोइरालाबीच फरक गुट भएकाले फिर्ता लिने अवस्था न्यून छ ।

प्रवक्ता सेजुवालले अन्तिम समयसम्म मिलाउने गरी बागी दिएका क्याम्पसमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आज बिहीबारसम्म असन्तुष्टलाई मिलाएर निर्वाचनमा होमिनेछौं । उम्मेदारी दिएका पदाधिकारी र सदस्यले आजसम्म मिलाउनैपर्छ ।’ विवाद मिलाउन अध्यक्ष दुगाङ शेर्पालगायत पदाधिकारी लागिपरेका छन् ।

तीन ठूला प्रतिस्पर्धी संगठनमध्ये अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मा उम्मदवारी र बागीको विषयमा कुनै विवाद छैन । अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्लले देशभर निर्वाचन हुने तयारीमा रहेका ५० वटा क्याम्पसमा शान्तिपूर्ण रूपमा मनोनयन भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मंगलबार मनोनयन ग¥याैं, भोलि बिहीबार दाबी विरोध र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदासम्म कुनै विवाद हुँदैन ।’ सबै क्याम्पसमा सहमतिकै आधारमा पदाधिकारी र सदस्यमा मनोनयन गरेको उहाँले बताउनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्माले क्रान्तिकारीमा कुनै पनि वागी उम्मेदवार नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो कुनै विवाद छैन सबै मिलाएका छौं ।’ बरू नेविसंघ र अनेरास्ववियुले धेरै क्याम्पसमा तालमेल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘केही क्याम्पसमा दुई विद्यार्थी संगठनको तालमेलको विरुद्ध एक्लै भिड्दै छौं ।’ उहाँका अनुसार नेविसंघभित्र विवाद हुँदा कोइराला पक्षले बागी उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक जिल्लाका सबै क्याम्पसमा भागवण्डा भएको छ । सल्यान, काभ्रे र उपत्यकाका केही क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) विरुद्ध दुई ठूला संगठनबीच तालमेल भएको शर्माको भनाइ छ ।

देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । अब ५० आंगिक क्याम्पसमा मात्र निर्वाचन हुने सम्भावना छ । हिजो मनोनयन दर्ता हुने अन्तिम समय दिउँसो ५ बजेसम्म मनोनयन भएको छैन । त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन ।

तीन ठूला विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच सहमति हुन नसक्दा १३ क्याम्पसमा मनोनयन दर्ता नभई निर्वाचन प्रक्रिया भाँडिएको छ । मनोनयन हुन नसकेका १३ क्याम्पसमध्ये काठमाडौंको केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती, शंकरदेव, नेपाल ल, विश्वभाषा, आयुर्वेद र पब्लिक युथ क्याम्पस धोबीचौर छन् । उपत्यकाबाहिर मधेस प्रदेशका ३, लुम्बिनीको २ र गण्डकी तथा कोशी प्रदेशको १–१ छन् ।

मधेस प्रदेशका सबैभन्दा धेरै विद्यार्थी भएका जनकपुरको रामस्वरूप रामसागर (रारा) बहुमुखी, महेन्द्र विन्देश्वरीर सूर्यनारायण सत्यनारायण वरवैत्ता बहुमुखी क्याम्पस सिराहा छन् । लुम्बिनी प्रदेशको बुटवल बहुमुखी र भैरहवा बहुमुखी क्याम्पस भैरहवा छन् । गण्डकी प्रदेशको वाग्लुङको धौलागिरि बहुमुखी क्याम्पस, कोशीको महेन्द्र मोरङ क्याम्पसमा निर्वाचन हुन सक्ने सम्भावना छैन ।

निर्वाचन निर्देशिकाअनुसार निर्वाचन हुन नसकेका क्याम्पसले आपसी सहमति गरी १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । मनोनयन दर्ता भएका क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ । आज २९ गते प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदारले नाम फिर्ता लिने र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राती १२ बजेसम्म प्रचार गर्न पाइनेछ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार