काठमाडौँः सत्तारूढ कांग्रेसनिकट नेविसंघले गुटगत विवादका कारण आधिकारिक उम्मेदवार टुंगो लगाउन नसक्दा त्रिभुवन विश्वविद्यालयका दर्जनभन्दा बढी आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । केही क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ ।
केही क्याम्पसमा आफ्नो कार्यकाल लम्ब्याउन स्ववियु पदाधिकारीले नै निर्वाचन प्रक्रिया बिथोलिरहेको आरोप लागेको छ ।
नेविसंघको आन्तरिक विवादका कारण त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमै ५ चैतमा स्ववियु चुनाव हुने/नहुने टुंगो छैन । नेविसंघ केन्द्रले दीपकराज जोशीलाई स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार सिफारिस गरेको छ भने नेविसंघ त्रिवि इकाइले अनोज कार्कीलाई आधिकारिक भन्दै अघि सारेको छ । उम्मेदवारी दर्तापछि इकाइ समितिले तालाबन्दी गरेको छ । त्रिविका रेक्टर, रजिस्ट्रारलगायत पदाधिकारीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतका नेतासँग छलफल गरे पनि निकास निस्किएको छैन ।
कीर्तिपुरमा अध्यक्षका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर निर्वाचन समितिमा तालाबन्दी गरिएका कारण दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन अवरुद्ध छ । ‘एक पक्षले निर्वाचन प्रक्रिया अघि नबढाउन धम्की दिन्छ । अर्कोले अघि बढाउन दबाब दिएको छ,’ निर्वाचन समितिका एक सदस्यले भने, ‘सारै चेपुवामा परियो ।’
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल नै शुक्रबार पक्राउ परेका छन् । क्याम्पस तोडफोडको आरोपमा प्रहरीले उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । महेन्द्र मोरङमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधरले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन समितिले संस्थापन पक्षधरलाई आधिकारिक मानेपछि अर्को पक्ष असन्तुष्ट छ । नेविसंघका दुई समूहबीच झडप र तोडफोडका घटना भइरहेका छन् ।
त्रिविका ६२ आंगिकमध्ये कम्तीमा १८ क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन हुने टुंगो नभएको त्रिविले जनाएको छ । १८ मध्ये अधिकांशमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधरले उम्मेदवारी दर्ता गराएपछि कुन आधिकारिक भन्नेमा विवाद छ ।
काठमाडौंस्थित पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिलगायतका विद्यार्थीले नै निर्वाचन रोक्ने गतिविधि गर्दै आएको निर्वाचन समितिका एक सदस्यले बताए । ‘प्रहरीको सहयोग लिएर निर्वाचनका गतिविधि अघि बढाउने प्रयासमा छौं,’ उनले भने । नेपाल ल, सरस्वती, विश्वभाषा र पब्लिक युथ क्याम्पसमा विद्यार्थी संगठनहरूबीच मतदाता नामावलीका विषयमा विवाद हुँदा प्रक्रिया रोकिएको छ । शंकरदेव, थापाथली, सानोठिमी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरमा निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । विद्यार्थी संगठनबीच किचलो हुँदा निर्वाचन समिति भंग भएको क्याम्पसले जनाएको छ । भैरहवा बहुमुखी र बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको तालाबन्दी छ भने पक्लिहवा क्याम्पस रूपन्देहीमा अनेरास्ववियुको तालाबन्दीको कारण चुनावी प्रक्रिया अवरुद्ध छ । रामस्वरूप रामसागर क्याम्पस जनकपुर, डिग्री क्याम्पस विराटनगर र सुर्खेत क्याम्पसमा पनि तालाबन्दीले चुनाव रोकिएको छ । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा पनि अवरुद्ध भएको छ ।
नेविसंघ केन्द्रीय समितिका विद्यार्थी नेता भने बहालवाला स्ववियु सभापतिले नै कार्यकाल लम्ब्याउन अनेक बखेडा झिकेको आरोप लगाउँछन् । निर्वाचन नभए स्ववियुको कार्यकाल थप गर्न सकिने व्यवस्था छ । त्रिवि कार्यकारी परिषद्ले २०७९ मा निर्वाचित स्ववियुको कार्यकाल ४ चैत २०८१ मा सकिने निर्णय गर्दा वर्तमान पदाधिकारीले विरोध गरेका थिए । ‘स्ववियु सभापतिहरू कार्यकाल लम्ब्याउन चाहनुहुन्छ । छोड्न चाहे पनि आफूले भनेको उम्मेदवार चाहिन्छ भन्नुहुन्छ,’ नेविसंघका एक केन्द्रीय सदस्यले भने, ‘नेविसंघमा अलिअलि पार्टी गुटको प्रभाव पनि परेको हो ।’
काठमाडौंस्थित एक क्याम्पस प्रमुखले पनि चुनाव रोक्न स्ववियु सभापतिहरू सुनियोजित रूपमा लागेको बताए । ‘पार्टीभित्रको विवाद पनि क्याम्पसमा देखिन्छ । पार्टीभित्रको कुरा हामी कसरी मिलाउन सक्छौं ?’ उनले भने, ‘चुनाव गरे प्रतिकार गर्छौं, हातखुट्टा भाच्छौं भनेर विद्यार्थी नेताहरू नै धम्क्याउँछन् ।’
नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पा भने टिकट वितरणमा समान्य विवाद र असमझदारी मात्रै देखिएको दाबी गर्छन् । ‘सबै पक्षलाई मिलाएर स्ववियु निर्वाचनमा जाँदै छौं । असमझदारी चाँडै हट्छ,’ उनले भने । सकभर सबै क्याम्पसमा निर्वाचन गराउन राजनीतिक नेतृत्व र क्याम्पस तहमा समन्वय गर्दै आएको केन्द्रीय निर्वाचन समितिका संयोजक तथा रेक्टर खड्ग केसीले बताए ।
निर्वाचन समिति सदस्यमा रजिस्ट्रार केदार रिजाललगायत डिन, क्याम्पस प्रमुखलगायत छन् । यसअघि २०७९ मा त्रिविका ६२ आंगिकमध्ये ४० क्याम्पसमा मात्रै तोकिएकै मितिमा स्ववियु निर्वाचन भएको थियो । त्रिविका आंगिक, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा स्ववियु निर्वाचन हुन्छ । तीमध्ये ८४ क्याम्पसमा निर्विरोध भइसकेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडाल नेविसंघको आन्तरिक गुटबन्दीले स्ववियु निर्वाचनमा प्रभाव पारेको बताउँछन् । ‘अधिकांश ठाउँमा नेविसंघकै कारण निर्वाचन प्रभावित भएको छ । हार–जित ठूलो कुरा होइन । ताला लगाउँदै निर्वाचन रोक्ने गतिविधिले विद्यार्थी राजनीतिलाई नै बदनाम गराएको छ,’ उनले भने ।
गृह प्रशासनको नेतृत्वमा कांग्रेस भए पनि क्याम्पस र निर्वाचन समितिलाई सुरक्षा दिन नसकेको उनले आरोप लगाए । ‘निर्वाचन समितिले सुरक्षा नभएको कुरा उठाएको छ,’ अध्यक्ष बडालले भने, ‘एउटाको हातमा स्ववियु उम्मेदवारको टिकट र अर्को हातमा ताला पठाउने कुरामा कांग्रेस र नेविसंघ गम्भीर हुनुपर्छ ।’
विगतमा राजनीतिक व्यवस्था परिवर्तन गर्न भूमिका निर्वाह गरेको स्ववियुमाथि पछिल्लो समय विद्यार्थीको माग र मुद्दाभन्दा पनि पार्टीगत तथा गुटगत राजनीतिको अखडा बनेको, अराजकतालाई प्रश्रय दिएको आरोप लाग्दै आएको छ । स्ववियुमाथि आर्थिक पारदर्शिताको प्रश्न पनि उठ्दै आएको छ । स्ववियु निर्वाचनमा विद्यार्थी एजेन्डा उठाउने, प्राज्ञिक बहस गर्नेभन्दा पनि दलीय/गैरदलीय प्यानल बनाएर उम्मेदवारी दिने, बाहुबल प्रदर्शन गर्ने, सत्ता र शक्ति दुरुपयोग गर्न खोज्ने प्रवृत्ति देखिन्छ । २०७९ मा निर्वाचित कतिपय स्ववियु पदाधिकारी कुटपिट, तोडफोड, तालाबन्दी, असुलीलगायतका गतिविधिमा संलग्न रहेको पाइएको थियो ।
त्रिविका पूर्वप्राध्यापक तथा नागरिक अगुवा सञ्जिव उप्रेती विश्वविद्यालयमा दलीयकरण बढ्दै गएको र स्ववियु राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने थलो बन्दै गएको टिप्पणी गरे । ‘विश्वविद्यालयमा राजनीतिक, सामाजिक न्याय, लोकतन्त्रका विषयमा प्रखर बहस र छलफल हुनुपर्छ,’ उनले भने, ‘तर शिक्षक, विद्यार्थीका नाममा दलीयकरण नहुँदा राम्रो हुन्छ । स्ववियुलाई पार्टीसँग जोडिए पनि स्वतन्त्र निकाय बनाउन सक्नुपर्छ ।’ कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया