असार २५, २०८२ बुधबार July 9, 2025

उद्योगलाई बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उद्योग प्रतिष्ठानहरूले बन्दाबन्दीभरको बीमा शुल्कमा १ तिहाइ (३३ दशमलव ३३ प्रतिशत) छूट पाउने भएका छन् । उद्योग प्रतिष्ठानहरूले पूर्ण बन्दाबन्दी अवधि अर्थात् चैत ११ गतेदेखि जेठ मसान्तसम्मको बीमाशुल्कमा सो बराबरको छूट पाउने भएका हुन् ।

शुक्रवार बीमा समिति, बीमा कम्पनीहरू र निजीक्षेत्रका संगठनका प्रतिनिधिबीच भएको छलफलमा यस्तो सहमति भएको हो । अब बीमा समितिले यस सम्बन्धमा परिपत्र जारी गरेको पछि यो व्यवस्था लागू हुनेछ ।

चालू आर्थिक वर्षको बजेटमार्फत नै उद्योगीहरूलाई बीमाशुल्क दिने विषयमा सम्बोधन गरिएको थियो । त्यसको कार्यान्वयन गर्ने सिलसिलामा उद्योग प्रतिष्ठानहरूलाई बीमाशुल्कमा छूट दिन लागिएको हो । साथै, आतंकवाद, हूलदंगासम्बन्धी बीमाशुल्कमा पनि आवश्यक समायोजन गरिने प्रारम्भिक सहमति भएको छ । आंतकवाद र हूलदंगा दिने छूटसहित उद्योगीहरूले झन्डै ३८ प्रतिशत जति छूट पाउने बताइएको छ ।

शुक्रवारको छलफल नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बीमक संघको सहभागिता थियो । उक्त छलफलमा यस्तो सहमति भएको महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा जानकारी दिए । ‘बन्दाबन्दी अवधि भरको बीमाशुल्कमा १ तिहाइ छूट पाउने प्रारम्भिक सहमति भयो, जुन स्वागतयोग्य छ,’ उनले भने ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सरकारले गत चैत ११ गतेदेखि मुलुकभर बन्दाबन्दी लगाएको छ । बन्दाबन्दीमा अधिकांश उद्योग पूर्णरूपमा बन्द भएका थिए । उद्योगहरू बन्द भएपछि बीमायोग्य जोखिम पनि कम भएपछि बीमाशुल्मा छूट दिन लागिएको बीमा समितिका एक अधिकारीले बताए । सम्भवतः यसै हप्ता परिपत्र जारी गरेर यो व्यवस्था गरिने उनको भनाइ छ । सम्बद्ध उद्योग तथा प्रतिष्ठानको बीमा गर्दा वार्षिक बीमाशुल्कलाई ३६५ भाग गरेर १ दिनको बीमाशुल्क गणना गर्नुपर्नेछ । सोही १ दिनको बीमाशुल्क बन्दाबन्दी भएको दिनका आधारमा सम्बद्ध उद्योगीहरूले बीमाशुल्कमा छूट पाउनेछन् । उद्योगीहरूले बन्दाबन्दी अवधिको बीमाशुल्क यसअघि नै तिरिसकेका छन् ।

त्यसैले अब बीमालेख नवीकरण गर्दा लाग्ने बीमाशुल्कमा छूट दिने व्यवस्था गरिने समितिको भनाइ छ । कम्पनी परिवर्तन गरेर बीमा गर्दा भने हालको कम्पनीले बीमालेख छूट दिएको रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिने बताइएको छ । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया