असार २२, २०८२ आइतबार July 6, 2025

एनओसी अवैध रहेको मन्त्रालयको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई ‘तथाकथित’ को संज्ञा दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार यो संस्था अवैध रहेको र उसका काम सबै गैरकानुनी हुने बताएका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै एनओसीबिना पनि अन्तर्राष्ट्रिय सहभागिता हुन सक्ने दाबी गरे र भने, ‘समस्या समाधान गर्न छलफलका लागि मलाई कसैले सम्पर्क गरेको छैन ।’

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको आलोचना गरेपछि मन्त्री चौधरीले त्यसको जवाफ दिन खोजेका हुन् । उनले एनओसीले लगाएका सबै आरोप निराधार रहेको भन्दै त्यसको खण्डन गरे । उनले एनओसीका पदाधिकारीलाई विदेश जानबाट रोक्ने क्रम जारी रहने पनि बताए । उनले खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागितामा भने कुनै अवरोध नहुने पनि बताए ।

पछिल्लो पटक एनओसी महासचिव राजीव श्रेष्ठलाई अध्यागमन विभागबाट विदेश जान रोक लगाएपछि उनी उच्च अदालत गएका थिए । तर उच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले एनओसी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको संस्था भएको र यसले गैरकानुनी काम गर्दै आएको हुनाले उसका गतिविधि र निर्णयको कुनै महत्त्व नहुने पनि बताए ।

उनले एनओसी अध्यक्ष श्रेष्ठ तेस्रोपल्ट अध्यक्ष चुनिनु नेपालको कानुनविपरीत रहेको पनि दाबी गरे । उनले भने, ‘उनलाई नै किन सधैं अध्यक्ष बन्नुपर्ने ? एनओसीको पछिल्लो निर्वाचन २०७६ को भदौमा भएको थियो । त्यस कार्यकाल सकिएपछि चुनाव गर्नुपर्ने थियो । तर त्यही कार्यकाल लम्ब्याएर २०८१ पुसमा निर्वाचन गराउने एनओसीकै विधानविपरीत हो ।’

सरकारी आदेशकै कारण आइतबार सातदोबाटोस्थित एनओसी कार्यालय प्रहरी नियन्त्रणमा रहेको थियो । मन्त्री चौधरीले एनओसीले गर्ने भनेको विशेष साधारणसभा पनि अवैध हुने भन्दै त्यसमा सहभागी नहुन पनि खेल संघहरूलाई चेतावनी दिए । पत्रकार सम्मेलनका अवसरमा मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद तोकिएको समयमै हुने दाबी पनि दोहोर्‍याए । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया