काठमाण्डौः पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बल निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणका २ जना प्रतिवादीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार आत्महत्या दुरुत्साहन मुद्दामा तनहुँ भानु नगरपालिकास्थित सशस्त्रको नम्बर–२३, मनकामना गणमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र पोखरा–१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत् हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सिन्धुपाल्चोककी २८ वर्षीया महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर थिइन् । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी उनी गत १० फागुनमा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकको महिला शौचालय नजिक बिमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि सुरक्षा निकायभित्रै तरंग उत्पन्न भएको थियो ।
विवेकसँग महतको प्रेम सम्बन्ध रहेको दाबीसहित उनीविरुद्ध महत परिवारले घटनाको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएको थियो ।
घटनाको अनुसन्धानका लागि जोशीसहित शाही पक्राउ गरेका थिए । कास्की प्रहरीले प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ (१), (२) को सजाय माग दाबीसहित अनुसन्धान प्रतिवेदन ८ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको थियो । त्यसको भोलिपल्ट ९ चैतमा सरकारी वकिलले अदालतमा अभियोगपत्र लगेको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ मा ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मा (क) मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । (ख) मा उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुनेछ भनी उल्लेख छ ।
२०७२ सालमा सिपाही पदमा नाम निकालेर सेवा प्रवेश गरेकी महतले २०७८ सालमा असई भएकी थिइन् । गत वर्ष सशस्त्र प्रहरी निरीक्षक पदमा नाम निकालेर उनले पोखरामा तालिम सुरु गरेकी थिइन् ।
सो घटना छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत् डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया