असार २१, २०८२ शनिबार July 5, 2025

जनतालाई रैती बनाउने कुचेष्टा नगर्न चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विपक्षी दल सम्बद्ध समाजवादी मोर्चाले शुक्रबार राजधानीमा गणतन्त्र र परिवर्तनका पक्षमा शान्तिपूर्ण प्रदर्शन र सभा गर्‍यो। संवैधानिक व्यवस्थाविरुद्ध धावा बोल्न थालिएको भन्दै मोर्चाले प्रदर्शन गरेको हो।

भृकुटीभण्डपमा भएको आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई फेरि रैती बनाउने कुचेष्टा नगर्न चेतावनी दिए। राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनलाई अराजकताहरूको संज्ञा दिए। प्रचण्डले तीनकुने प्रतिगामी र निरंकुशतावादीको प्रतीकजस्तो बनेको टिप्पणी गरे।

उनले घरमा आगो लगाउने र प्रहरीमाथि ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाए। एक÷दुई जना मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप पनि लगाए। प्रचण्डले आतंक फैलाउनु राजावादीहरूको चरित्र भएको बताए। ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ,’ प्रचण्डले भने, ‘सबै प्रतिगामी, निरंकुशतावादीहरूको एउटा प्रतीक‍जस्तो देखिएको छ।’

‘घरमा आगो लगाएका छन् मण्डलेहरूले, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। एकदुई जना मरून् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरूको चरित्र हो।’ राजावादीहरूको चरित्र सम्पूर्ण जनताले देख्नेगरी प्रदर्शित भएको प्रचण्डले बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको पक्षमा भएको परिवर्तन ‘कास्टिङ’ मात्र भएको बताए। उनले राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। ‘यो कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्र हो,’ नेपालले भने,‘ प्रतिगामीहरू होसियार। यो मुलुक वंश, परिवारको शासनतिर फर्कन सक्दैन। जनता स्वाधीन छन्। सार्वभौमसत्ता सम्पन्न भएका छन्। नेपाली जनता कसैको दास बन्न सक्दैनन्। इतिहास पछाडि जान सक्दैन। वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनु पर्नेछ।’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भएको बताए। शक्ति प्रदर्शन सभामा उनले सहमतिको आधारमा संविधान संशोधन गर्नुपर्ने बताए। ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन्। जसको स्वर्ग ढल्यो, ती तŒवले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ।’ ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन्। प्रतिगामीहरूले राजतन्त्र फर्काउने कुरा गरेका छन्। हामीलाई कुनै प्रभुको खाँचो छैन। हामीलाई सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन,’ उनले अगाडि भने।

उनले बलिदानबाट आएको परिवर्तनलाई पुँजीवादीहरूले कब्जा गरेर शोषण गरिरहेको बताए। ‘हामी मुक्ति चाहन्छौं। फेरि सामन्तीका भूतले अर्को बोझ थप्न खोजे हामी स्वीकार गर्छौं ? गाडी चढ्ने सामन्त आएको बेला घोडा चढ्ने आए के हो होला ? ’

उनले मुलुकमा राजतन्त्र फर्काउन खोजे फेरि राजावादीहरू पछुताउनुपर्ने बताए। उनले भने, ‘नेपालमा किन राजतन्त्र चाहियो ? अढाई सय सालसम्म राजतन्त्रले के गर्‍यो ? पञ्चायतदेखि अहिलेसम्म सबै थाहा छ।

पञ्चायतमा बोल्न पाइँदैनथ्यो। कमैया, दलित, किसानमाथि दमन थियो। समाधान सामन्तवादी हुन सक्छ ? जनआन्दोलन, विद्रोहले ध्वस्त भएका मान्छेहरू धुलो टकटक्याउँदै उठ्न थालेका छन्। विभिन्न प्रवृत्ति गठजोड गरेर राजतन्त्र फर्काउन खोजेका छन्। राजतन्त्र फर्केर के हुन्छ ? उनीहरू फेरि पछुताउनुपर्छ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सोही सभामा बोल्दै सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने ‘अहिले सरकारबाट समानुपातिक समावेशी हटाउन खोजिँदै छ। एउटा घर भत्कियो भने संविधान अपूरो हुनेछ। समाजवादतिर देशलाई अगाडि बढाउने नेपाली जनतालाई सम्पन्नतामा अघि बढाउने हो।’

संविधान संशोधनमा के के विषय राख्ने भन्नेमा सरकारको ध्यान नरहेको उनले बताए। सहमतिका आधारमा संविधान संशोधनको बाटोमा अघि बढ्न पनि उनले आग्रह गरे।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर आउन पनि चेतावनी दिएका छन्। ‘पार्टी खोलेर पूर्वराजा आए हुन्छ। प्रतिगामी शक्तिले संविधानमाथि हमला गरिरहेका छन्,’ उनले भने।

उक्त आमसभामा मोर्चाका शीर्षनेताहरू सहभागी भएका थिए। गणतन्त्र पक्षधरहरूले काठमाडौंको पर्यटन बोर्ड अगाडिको बीच सडकमा विरोध जनसभा गरेको थियो। बीच सडकमा मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा बिहानैदेखि यातायात आवागमन बन्द गरिएको थियो। मोर्चाले गणतन्त्र रक्षाका लागि भन्दै विरोध सभा गरेको थियो।

रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्णरूपमा बन्द गरिएको थियो। अन्नपुर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार