काठमाण्डाैंः अव्यवस्थित क्वारेन्टाइनका कारण धेरै मानिसको ज्यान गएको छ ।
कैलालीमा सर्पले डसेर मृत्यु : कैलालीमा सर्पले डसेर क्वारेन्टाइनमा बसेका एक युवाले ज्यान गुमाए । भारतबाट फर्केर गौरीगंगा नगरपालिका– ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टाइनमा बसेका २२ वर्षीय गणेश शाहीको ज्यान गएको हो । उनलाई गत १२ असारमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा १५ साउनमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । आफन्तका अनुसार राति क्वारेन्टाइनमा सुतेका वेला उनलाई सर्पले टोकेको थियो । त्यसपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो, तर त्यहाँ भेन्टिलेटर नभएपछि नेपालगन्ज रेफर गरिएको थियो । त्यहाँ एक महिना लामो उपचारपछि उनको मृत्यु भएको हो । भारतबाट फर्केर जेठ अन्तिम सातादेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।
तनहुँमा आत्महत्या :क्वारेन्टाइनमा रहँदा तनहुँमा एकजनाले आत्महत्या गरे । घिरिङ गाउँपालिका– ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ४९ वर्षीय हिरासिंह परियारले ९ असारमा आत्महत्या गरेका थिए । भारतबाट ४ असारमा घर फर्किएपछि क्वारेन्टाइन बसेका उनी पाँच दिनपछि झुन्डिएको अवस्थामा फेला परे ।
लमजुङमा पनि युवाले गरे आत्महत्या : क्वारेन्टाइनमै आत्महत्याको अर्को घटना लमजुङमा पनि भयो । क्व्होलासोंथर गाउँपालिका– ६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले झुन्डिएर आत्महत्या गरे । गिलुङस्थित बुद्धोदय माविमा बनाइएको क्वारेन्टाइनमा ३१ असारदेखि बसेका घर्तीले २ साउनमा आत्महत्या गरेका थिए । वडा नम्बर ९ का अध्यक्ष नन्दजंग गुरुङका अनुसार घर्ती क्वारेन्टाइनमा एक्लै बस्दै आएका थिए । ११ चैतमा लकडाउनअघि बुटवलस्थित दिदीको घर गएका घर्ती ३१ असारमा गाउँ फर्किएका थिए । सोही दिनदेखि उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
उपचार नपाएरै दैलेखमा ४० वर्षीय पुरुषको ज्यान गयो :दैलेखको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको गत १७ जेठमा ज्यान गयो । ७ जेठबाट क्वारेन्टाइनमा बसेका उनलाई दश दिनको बीचमा एकपटक स्वाब संकलनका लागि स्वास्थ्यकर्मी पुगेका थिए । त्यसपछि सोधखोज गर्न कुनै स्वास्थ्यकर्मी पुगेनन् । परिवारजनका अनुसार स्वास्थ्य बिग्रिँदै गएपछि पनि उनलाई अस्पताल लैजाने प्रयत्न भएन । त्यसैले उपचार नपाएरै उनले प्राण त्यागे । मृत्युपछि उनलाई कोभिड– १९ पोजेटिभ रिपोर्ट आयो ।
बाँकेमा उपचार नपाउँदा युवाले गुमाए ज्यान : नरैनापुर गाउँपालिका– ५ नयाँबस्तीका २५ वर्षीय युवकले पनि उपचार नपाएर क्वारेन्टाइनमै ४ जेठमा ज्यान गुमाए । क्वारेन्टाइन व्यवस्थापनले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नगरेका कारण उनले मृत्युवरण गर्नुपरेको आफन्तले बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार उनी बिहानको करिब २ बजेतिर कोठाबाट बाहिर निस्किएका थिए । बाहिर गएपछि उनले उल्टी गरे । क्वारेन्टाइनका एकजनाले उल्टी गरेको देखेर आफ्ना साथीहरूलाई बोलाएका थिए । त्यतिवेलासम्म उनको उल्टी थामिएको थिएन । उनले सात–आठपटक उल्टी गरे । उनलाई साथीभाइले पानी दिए । तर, उनले पानी निल्न सकेनन् । उनका साथीहरूले क्वारेन्टाइन व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई फोन गरे, तर कसैको फोन उठेन । त्यसपछि उनीहरूले क्वारेन्टाइन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई गुहारे । सुरक्षाकर्मी अध्यक्षको घरमा गएर क्वारेन्टाइन हेर्ने जिम्मा पाएका उनका छोरालाई बोलाएर ल्याए । स्वास्थ्यकर्मी आउँदा करिब ४ः३० बजिसकेको थियो । उनी आउँदा युवकको बोली बन्द भइसकेको थियो । उनी अरूको कुरा सुन्थे, तर फर्काउन सक्दैनथे । इसारा मात्र गर्थे । औषधि नपाएर उनले बिहान करिब ५ बजेतिर देह त्याग गरे ।
डायरियाले गएको थियो राजु सदाको ज्यान : धनुषा हंसपुर नगरपालिका–७ पर्साहीका १६ वर्षीय राजु सदाको पनि उपचार नपाएर क्वारेन्टाइनमै ज्यान गएको थियो । उनी अन्य साथीसहित भारतको मदरास चेन्नईबाट कहीँ गाडी त कहिले पैदल गर्दै नौ दिन (१४ जेठ) मा महोत्तरीको भिट्टामोड नाका आएका थिए । त्यहाँबाट उनीहरूलाई नगरपालिकाले लौवाखोरस्थित सञ्चालन गरेको क्वारेन्टाइनमा लगियो । क्वारेन्टाइनमा बसेको करिब १० दिनपछि उनको स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै उनको डायरिया भएपछि २८ जेठमा उपचारका लागि प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । आइसोलेसन वार्डमै स्वास्थ्य अवस्था बिग्रिँदै गयो र ९ असारमा बिहान करिब ४ बजे उनको उपचारकै क्रममा मृत्यु भयो ।
क्वारेन्टाइनमै करेन्ट लागेर २३ वर्षकी महिलाको मृत्युः कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका राधाको नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया