असार २३, २०८२ सोमबार July 7, 2025

आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्ताका लागि आव्हान

विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या समाधान खोज्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्नुभएको हो ।

“शिक्षक समुदायसँग विगत झैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ”, उहाँले भन्नुभएको छ ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलका प्रक्रियामा रहेकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।

“विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिङ्गो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक छ”, प्रवक्ता सापकोटाले भन्नुभएको छ, “शिक्षक समुदायका प्रतिनिधिसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै हो ।” उहाँले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृति हुने विधायकी प्रक्रियाका हुने भएको जनाउनुभएको छ ।

शिक्षकहरूले शिक्षक महासङ्घको नेतृत्वमा हिजोदेखि विद्यालय शिक्षा विधेयक चाँडै पारित गराउन काठमाडौँमा सडक आन्दोलन सुरु गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया