असार २३, २०८२ सोमबार July 7, 2025

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

सबै व्यवसायीले केही दिनमै पाठ्यपुस्तक बिक्री वितरण थाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ। शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो।

सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए। उनले भने, ‘निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन्। अरू सबै आइसक्यो।’

जनक शिक्षा सामग्रीमार्फत् सबै पुस्तक जिल्लामा आइपुगेको उनले जानकारी दिए। विगतका वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्र अगावै जिल्लामा पाठ्यपुस्तक आएको उनको भनाइ छ। जिल्लाभर ६० पुस्तक व्यवसायी छन्। सबै व्यवसायीले केही दिनमै पाठ्यपुस्तक बिक्री वितरण थाल्ने उनले बताए।

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलको भनाइ छ। इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन्।

आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले आज विद्यालयमै पाठ्यपुस्तक आइपुग्ने जानकारी दिए। भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने उनले बताए। उनले भने, ‘वैशाख २ गतेदेखि कक्षा सञ्चालन हुँदैछ। भोलिदेखि नै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिनेछ।’

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले समयमै पाठ्यपुस्तक आएकाले सहज भएको बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया