असार २१, २०८२ शनिबार July 5, 2025

काठमाडौंमा दिनहुँ आन्दोलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिस्तारै गर्मी बढ्दै गइरहेको छ । काठमाडौंवासीले चैत महिनामा गर्मी बढेको अनुभूति गर्न थालेका छन् । काठमाडौंमा विश्वकै अत्यधिक प्रदूषण बढेकाले चिन्तित भएका काठमाडौंवासीलाई दिनहुँको आन्दोलनले थप सताएको छ ।

कोहीले गणतन्त्र, संघीयताको रक्षाका लागि सडक तताएका छन् भने कोही संवैधानिक राजसंस्था, संघीयता खारेज, हिन्दू राज्य पुनःस्थापनासहितका माग गर्दै आन्दोलित छन् । यतिबेला राजधानी काठमाडौं राजनीतिक मुद्दामा मात्रै नभई शैक्षिक, कर्मचारी, चिकित्सकको आन्दोलनले समेत तरंगित छ ।

राजनीतिक दलदेखि शिक्षक, चिकित्सकको प्रदर्शनले त्रस्त छन् उपत्यकावासी

माइतीघर, बानेश्वर, रत्नपार्क, तीनकुने, भृकुटीमण्डपसहितका क्षेत्र आन्दोलनका ‘स्पट’ बनेका छन् । दिनहुँ काठमाडौंमा जताततै धर्ना, जुलुस, नाराबाजी भइरहेको छ । चैत महिनाको गर्मी सुरु भएसँगै आन्दोलन चर्किंदै गएको छ । त्यसले सर्वसाधारणलाई समेत घण्टौं ट्राफिक जाममा पारेको छ । आन्दोलन काठमाडौंसहित देशका अन्य प्रमुख सहरमा समेत हुन थालेको छ । आन्दोलनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई हम्मेहम्मे पर्दै गइरहेको छ ।

आइतबार काठमाडौंमा विभिन्न राजनीतिक दल एवं समूहले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । काठमाडौं आइतबार दिनभर अशान्त रह्यो । जताततैको आन्दोलनले सर्वसाधारणलाई गन्तव्यमा पुग्न पनि समस्या भयो ।

चैत महिना सुरु भएपछि विभिन्न समूहले आफ्ना माग गर्दै आन्दोलन गर्दै आएका छन् । तर, १५ चैतको हिंसात्मक प्रदर्शनले काठमाडौंवासीमा त्रास सिर्जना गरेको छ । सो राजसंस्था फर्काउन राजवादीले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । सोही दिन विभिन्न चार दल सहभागी रहेको समाजवादी मोर्चाले गणतन्त्र, संघीयताको रक्षा भन्दै भृकुटीमण्डप क्षेत्रमा प्रदर्शनका साथै आमसभा ग¥यो ।

समाजवादी मोर्चाको आन्दोलन शान्तिपूर्ण रूपमै सम्पन्न भयो । तर, राजावादीको आन्दोलन हिंसात्मक बन्यो । सरकारी कार्यालय, निजी घर, व्यापारिक भवनका साथै राजनीतिक दलको कार्यालयमा समेत तोडफोड, आगजनी भयो । दुई जनाको ज्यानै जानेगरी भएको हिंसात्मक प्रदर्शनले सबैलाई त्रसित बनायो । सो हिंसात्मक प्रदर्शनपश्चात् सरकारको शान्तिसुरक्षामाथि नै प्रश्न उठ्न थालेको छ । त्यसपछि पक्ष र विपक्षमा दलहरूले विभिन्न टीकाटिप्पणी एवं माग अघि सार्दै आएका छन् ।

आइतबार काठमाडौंका विभिन्न ठाउँमा विभिन्न राजनीतिक दल एवं समूहले विभिन्न माग गर्दै छुट्टाछुट्टै प्रदर्शन एवं सभा गरेका छन् । न्यायको माग गर्दै सहकारीपीडित आन्दोलित छन् । यता सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले पनि आन्दोलनलाई निरन्तरता दिएको छ । विभिन्न माग राख्दै राहतलगायतका शिक्षकले आन्दोलन जारी राख्दा चिकित्सकहरू पनि सडकमा आइपुगेका छन् । उता, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

आइतबारै असन क्षेत्रमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीको प्रदर्शन, भृकुटीमण्डपमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को आमसभासहित प्रदर्शन, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाको प्रदर्शन रत्नपार्क शान्तिवाटिकामा एवं विप्लव नेतृत्वको नेकपाको आन्दोलनका कार्यक्रम कालिमाटी क्षेत्रमा भए ।

यही पेरिफेरीमा भोलि २६ चैतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संवैधानिक राजतन्त्रको मागसहित प्रदर्शनमा उत्रिँदै छ । राप्रपाले २६ चैतमा प्रदर्शनको तयारी गर्दैगर्दा त्यसको एक दिनअघि आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले देशव्यापी प्रदर्शन गर्दै छ ।

राजावादीको आन्दोलनपश्चात् सडकमा उत्रिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सडकमा प्रदर्शन गर्दै आएको छ । तीनकुने क्षेत्रमै गत साता मोटरसाइकल ¥याली गरेको एमालेले २९ चैतमा भेलाको तयारी गरेको छ । सो भेलाले गणतन्त्रको रक्षाका लागि आगामी योजना’bout खाका तयार गर्ने बताइएको छ । यहीबीचमा अन्य सानातिना प्रदर्शन निरन्तर अगाडि बढ्ने एमालेले जनाएको छ ।

तेस्रो जनआन्दोलन
अहिलेको संविधान, व्यवस्था र सरकार पूर्णरूपमा असफल भएको बताउँदै आजपा अध्यक्ष प्रभु साह तेस्रो जनआन्दोलनमा होमिएका छन् । भृकुटीमण्डपमा आइतबार आमसभा गरेको आजपाले त्यसअघि प्रदर्शन गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको जुलुस भद्रकाली, शहीदगेट, सुन्धारा, रत्नपार्क, जमल, घण्टाघर हुँदै पुन भृकुटीमण्डपमै पुगेर सभामा परिणत भयो ।

जनआन्दोलन दिवसको अवसरमा दलाल दलतन्त्रको लुट एवं भ्रष्टाचारविरुद्ध आजपाद्वारा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको भन्दै सिंहदरबारको कुर्सी छोड्न चेतावनी दिए । ढिलाइ गरे जनताले सिंहदरबारमै छिरेर कठालो समातेर निकाल्ने बताउँदै साहले जनताको सर्वोच्चतासहितको शासन व्यवस्था ल्याउनका लागि तेस्रो जनआन्दोलनमा मुलुक होमिएको बताए ।

यस्तै, जनमोर्चाले संघीयताको खारेजीको माग गर्दैगर्दा उता विप्लव नेतृत्वको नेकपाले संघीयता, समावेशितासहितको रक्षाका लागि संघर्षमा उत्रेको उद्घोष गरेको छ । मोहन वैद्य नेतृत्वको दलका साथै अन्य राजनीतिक दलहरूले समेत आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने विषयमा आवाज उठाएका छन् ।

सिठी फुकेर सरकारको ध्यानाकर्षण
सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले आइतबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ । देशभरबाट बुधबारदेखि काठमाडौंमा भेला भएका शिक्षकले माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । उनीहरूले आइतबार सिठी फुकेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

आन्दोलनरत शिक्षकहरूले सोमबार (आज)देखि आमशैक्षिक हडताल नै घोषणा गरेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।

शिक्षा मन्त्रालयले विगतमा शिक्षक महासंघसँग विद्यालय शिक्षालाई तीनवटै सरकारको साझा अधिकार सूचीमा राख्ने, जिल्ला शिक्षा कार्यालय पुनस्र्थापना गर्ने, अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने, बालविकास शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी कायम गर्नेलगायतको सहमति गरिसकेको छ । सोही सहमतिअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षकहरूले आन्दोलन गरेर दबाब दिएका हुन् । २०८० भदौमा विधेयक संसद्मा दर्ता भएपछि शिक्षकले काठमाडौंमा तीन दिन प्रदर्शन गरेका थिए । सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि शिक्षक विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएकाले शिक्षकहरू पुनः आन्दोलित बनेका हुन् ।

चिकित्सक पनि सडकमा
विभिन्न माग राख्दै राहतलगायत शिक्षकले आन्दोलन जारी राख्दा चिकित्सकहरू पनि सडकमा उत्रेका छन् । श्रम शोषण भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

सरकाले मन्त्रिपरिषद्बाट पारित गरेको न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनुपर्नेमा आफूहरूले सो नपाएको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, ‘स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर’, ‘आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर’लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

सरकारले पारित गरेको न्यूनतम तलब दिनुको साटो आफूहरूलाई कलेजले १९ हजार ५ सय रुपैयाँ मात्र दिएर श्रम शोषण गरिरहेको उनीहरूको आरोप छ ।

घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै सडकमा
यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर’लगायतका नारासहित प्लेकार्ड बोकेका थिए । उनीहरूले घिसिङको बर्खास्तीलाई अपमानजनक भन्दै सरकारको निर्णयविरुद्ध आक्रोश प्रकट गरेका छन् ।

गत ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकारको निर्णयविरुद्ध घिसिङले आफूलाई अवैधानिक ढंगले हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरे पनि सर्वोच्चको संयुक्त इजलासले त्यस अनुरोधलाई अस्वीकार गरेको थियो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया