बैसाख ७, २०८२ आइतबार April 20, 2025

विद्यालय समायोजन हुँदा मिलेन शिक्षक दरबन्दी

विद्यालयलाई निजी शिक्षक पाल्न गाह्रो हुने लगायतका समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बझाङ, चैत २६ गते । शिक्षामा सुधार ल्याउने भन्दै गत वैशाखमा बुंगल नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरू समायोजन गर्‍यो । कतिपय विद्यालय गाभिए, कतिपयको तह घटाइयो, तर नगरपालिकाले विद्यालय समायोजनको एक वर्ष पुग्नै लाग्दा पनि शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरू शिक्षक अभावमै वर्ष टुङ्ग्याउन बाध्य भए ।

गत वैशाख ३० गते कार्यपालिका बैठकले १३ वटा विद्यालय समायोजन गर्ने र ११ वटा विद्यालयको तह घटाउने निर्णय गरेको थियो । निर्णयसहित तत्काल दरबन्दी मिलाउने भनिए पनि, दोस्रो शैक्षिकसत्र सुरु हुने बेलासम्म पनि त्यो प्रक्रिया अधुरै छ ।

शिक्षक दरबन्दी मिलान नहुँदा विद्यालयमा आवस्यकता अनुसार शिक्षक छैनन् । विद्यार्थी सङ्ख्या, विषय र कक्षातहको आधारमा शिक्षक हुनुपर्नेमा कुनै विद्यालयमा शिक्षक सङ्ख्या आवश्यकताभन्दा बढी र कुनै विद्यालयमा शिक्षक सङ्ख्या आवश्यकताभन्दा कम हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको सत्य माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा सुधारको सुरुवात शिक्षक व्यवस्थापनबाट हुन्छ । शिक्षक नभएका कक्षामा सुधार कसरी सम्भव हुन्छ र ? कतै भीड, कतै खाली वास्तविकता त्यति नै हो ।”

शिक्षक व्यवस्थापन अभावको असर स्पष्ट छ । कुनै विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक छन्, त केहीमा एक जनाले सयौं विद्यार्थी सम्हाल्नुपरेको छ । “एक सय ५० विद्यार्थी भएको विद्यालयमा एक जना मात्र शिक्षक छन् भने ७–८ विद्यार्थी भएका विद्यालयमा चार शिक्षक छन् ।” यसले विद्यार्थीको पठनपाठन मात्र होइन, शिक्षकहरूको मनोबल र व्यवस्थापनमा पनि गम्भीर असर परेको महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर रानाको भनाइ छ ।

यसैगरी, चन्द्र मावि गिंरौका प्रधानाध्यापक शिवराज अवस्थीले पनि विद्यालयहरूलाई निजी शिक्षक पाल्न मुस्किल परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले दरबन्दी मिलानका लागि बारम्बार आवाज उठायौं, तर नगरपालिले सुनुवाइ गरिरहेको छैन ।” शिक्षक अभावकै कारण विद्यार्थीहरू नियमित पठनपाठनबाट बञ्चित भएका छन् । यही अवस्था आउँदै गरेको नयाँ शैक्षिक सत्रमा पनि दोहोरिने हो कि भन्ने चिन्ता अभिभावक र शिक्षकहरूमा गहिरिँदै गएको छ ।

बुङ्गल नगरपालिकाका नगरप्रमुख तथा शिक्षा समिति संयोजक जयबहादुर धामीले भन्नुभयो, “हामीले शिक्षक दरबन्दी मिलानका लागि निर्णय गरेका थियौं, तर केही विवादका कारण कार्यान्वयनमा ढिलाइ भयो । अब केही हप्ताभित्र छलफल गरी लागू गर्छौं ।”

प्राथमिक तहको दरबन्दी मिलान अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख देवराज जोशीले बताउनुभयो । “बर्षेनि करिब तीन करोड रुपियाँ निजी शिक्षक तलबमा खर्च हुँदै आएको छ । दरबन्दी मिलानले बजेट व्ययभार कम गर्नुका साथै विद्यालयमा स्थायित्व ल्याउँछ ।” उहाँले भन्नुभयो ।

शिक्षामा सुधारको नारा दिनु सजिलो हो, तर व्यवहारमा उतार्न योजना, इच्छाशक्ति र कार्यान्वयन क्षमता चाहिन्छ । बुंगल नगरपालिकाले नीति बनायो, तर समयमै शिक्षक व्यवस्थापन नगर्दा सुधारको सपना झन् टाढिँदै गएको छ । दोस्रो शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै नगरपालिकाको व्ययभार बढी हुने, विद्यालयलाई निजी शिक्षक पाल्न गाह्रो हुने लगायतका समस्याहरु देखिएका छन् । यसले गर्दा पनि नगरपालिका भित्रका विद्यालयमा शैक्षिक सुधार हुन सकिरहेको अवस्था छैन । विद्यार्थीले शिक्षक अभावमै वर्ष सके पनि दोस्रो शैक्षिकसत्रमा पनि त्यस्तै हुन्छ कि भन्ने अन्योल शिक्षक विद्यार्थीमा छ ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार