असार २१, २०८२ शनिबार July 5, 2025

राजसंस्था पुनःस्थापनाको माग चर्किंदा प्रधानमन्त्री ओलीले खोजे नयाँपुस्ताको साथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संवैधानिक राजसंस्था, संघीयताको खारेजी, हिन्दू धर्मको पुनःस्थापनासहितको माग गर्दै राजधानी काठमाडौंमा आन्दोलन भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजतन्त्रका लागि दबाब दिइरहेको छ ।

राजावादीले यसअघि १५ चैतमा काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । सो हिंसात्मक प्रदर्शनले दुई जनाको ज्यान गयो । सरकारी, निजी, राजनीतिक दलका कार्यालयसहितमा आगजनी, तोडफोडसमेत भयो । त्यसयता राजावादीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । मंगलबार भृकुटीमण्डपमा सभा गर्न खोजेपछि प्रशासनले उनीहरूलाई बल्खुमा ठाउँ दियो ।

राजावादीको प्रदर्शन हिंसात्मक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वितण्डा’ मच्चाएर राजतन्त्र ल्याउन खोजिए आफूहरूलाई स्वीकार्य नभएको र आगजनी, तोडफोड गर्नेलाई सरकारले नछोड्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गर्दै राजतन्त्र सामन्ती प्रणाली भएको बताए । यता, राजावादीले काठमाडौंमा प्रदर्शन गर्दैगर्दा उता जनकपुरबाट प्रधानमन्त्री ओलीले राजतन्त्र’बारे नयाँ पुस्तालाई सचेत गराउनुपर्ने आवश्यकता रहेको टिप्पणी गरेका छन् । ‘राजतन्त्र प्रतिगामी सोच भएको व्यवस्था हो । सामन्ती प्रणाली हो,’ सम्बोधनका क्रममा उनले भने, ‘जन्मिँदै कोही राजा र कोही प्रजा हुँदैन, त्यसकारण हामी त्यस्ता कुरा स्वीकार गर्दैनौं ।’

अहिलेको नयाँ पुस्ताले राजतन्त्र नदेखेका कारण सडकमा केही गतिविधि देखिएको उनले बताए । प्रधानमन्त्री ओलीले राजतन्त्र स्वीकार नहुने बताउँदै गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए ।

उनले प्रतिगामी तत्वहरूले आन्दोलनका नाममा तोडफोड र आगजनी गरेको भन्दै आक्रोश पोख्दै भने, ‘वितण्डा मच्चाएर परिवर्तन ल्याउँछौं भनेर २–४ हजार मान्छेहरूको वितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन, स्वीकार्य हुँदैन, यो अत्यन्तै गलत क्रियाकलाप हो, जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउँछ, यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारबाही गर्दैन ।’

कार्यक्रमको आयोजना गर्ने, घटनामा संलग्न हुनेहरूलाई नछाड्ने उनले चेतावनी दिए । शान्तिपूर्ण प्रदर्शनलाई सरकारले भड्कायो भनेर भइरहेको प्रचार झूटा भएको दाबी उनले गरेका छन् । उनले बाहिर हल्ला चलेजस्तो यो सरकारले प्रतिशोध, राजनीतिक सिद्धान्त, मान्यता र आचरणविपरीत काम नगरेको बताए । यस्तै, सरकार अहिले नढल्ने भन्दै उनले भने, ‘यी दुई दलले अठोट गरेर बनेको सरकार हो, ढल्ने त कुरै छैन, हल्लिँदा पनि हल्लिँदैन ।’

राजतन्त्र स्वीकार्य नभएको प्रधानमन्त्रीले बताउँदै गर्दा यता बल्खुको सभाबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको व्यवस्था अहिलेको आवश्यकता भएको बताए । देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ समझदारीको आवश्यकता रहेको बताउँदै राजासहितको व्यवस्था ठीक हुने दाबी गरे ।

‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौं, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाऊन्, राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्छ,’ लिङ्देनले भने ।

उनले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने बताए । सरकारले आफूहरूलाई निषेधको राजनीति गरेको आरोप लगाउँदै उनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएकामा पनि आक्रोश व्यक्त गरे ।

‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईंहरूसँगै सल्लाह गरौंला,’ अध्यक्ष लिङ्देनले भने, ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पु¥यायो ? के राजा चाहिनका लागि २–४ हजार मानिस जंगल पस्नलाई तयार छैनन् र ? तर, हामी शान्तिको पक्षधर हौं ।’

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने ठोकुवा उनको छ । उनले ओली, देउवा र प्रचण्ड जति सत्तामा बस्यो उति नै देश बर्बाद हुने टिप्पणी गरे ।

‘म आदरपूर्वक कांग्रेस, एमाले र माओवादीका साथीहरूलाई भन्न चाहन्छु, तीन नेताको पनि नाम लिन्छु, ओलीलाई कति वर्ष प्रधानमन्त्री बनाए देश बन्ला ? त्यसपछि शेरबहादुर देउवाको पालो भनिएको छ, कति वर्ष बनाउने, कि बाँचुन्जेल ? कि प्रचण्डलाई सत्तामा फर्काएर देश बन्छ, ५ वर्ष होइन यी तीन जनालाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्नेवाला छैन, यिनीहरूलाई जति दिन राख्यौं, त्यति दिन देश बर्बाद हुनेवाला छ,’ अध्यक्ष लिङ्देनले भने ।

यस्तै, लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारूढ दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन् । उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै प्रहरी प्रमुख’बारे गम्भीर आरोप लगाएका हुन् ।

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछन् त, हामीले भेटेको खोका, अश्रुग्याँसका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ, अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्याँस कसरी एक्सपायर हुन्छ भन्छ, प्रहरी एउटा प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन,’ उनले भने ।

उनले अहिले फुली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि चेतावनी दिए । बल्खुमा राप्रपाको प्रदर्शन हुने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको थियो । बल्खुनजिकै सानेपामा रहेको कांग्रेस कार्यालय र भाटभटेनी ’बारे पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हिंसा भड्किने त्रासले सभास्थल ’बारेका व्यवसायीले भने सटर बन्द गरेका थिए । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया