काठमाण्डौः नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रवार हुने निर्वाचनमा १७ पदका लागि ३६ जना व्यवसायीको उम्मेदवारी दर्ता भएको छ ।
संघको २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ । ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था संघको विधानमा रहेको छ । निर्वाचन समितिका अनुसार मतदाताको संख्या ८ सय ९३ रहेको छ । निर्वाचन समिति सदस्य सचिव शम्भु निरौलाका अनुसार ३७ जना फर्जी मतदाता रहेको भन्ने उजुरी परेकोमा १० जनामात्र फर्जी भेटिएको छ ।
समितिको कार्यतालिका अनुसार २९ गते साधारण सभा सम्पन्न भएपछि मतदान, मत गणना र निर्वाचन परिणाम पनि सोही दिनमै घोषणा हुने छ । निर्वाचनका लागि अन्तिम नामावली गत सोमबार नै प्रकाशित भइसकेको छ । यसपटक संघको निर्वाचनका लागि २ वटा प्यानल सार्वजनिक भएका छन् । तर, दुई स्वतन्त्र उम्मेदारहरू प्रथम उपाध्यक्षमा ओभरसिज इम्प्लोइमेन्ट प्रा. लि.का सञ्चालक अख्तर हुसेन र सचिवमा अक्सन ओभरसिज प्रा. लि.का सञ्चालक ईश्वर सापकोटाको उम्मेदवारी परेको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङले उम्मेदवारी दिनुभएको छ । गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का सञ्चालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का सञ्चालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का सञ्चालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का सञ्चालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का सञ्चालक विक्रम श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
सो प्यानलबाट कार्यसमिति सदस्यहरूमा इम्पेरियल ओभरसिज प्रा. लि.की सञ्चालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का सञ्चालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का सञ्चालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का सञ्चालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का सञ्चालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की सञ्चालक गीता राउत, युनिभर्स एच.आर. सोलुसन प्रा. लि.का सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की सञ्चालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का सञ्चालक कृष्ण ढकालले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाबीचको तालमेलमा गठित संयुक्त व्यवसायी समूहको अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्रा.लि.का सञ्चालक नरेश गेलालले उम्मेदवारी दिनुभएको छ ।
सो प्यानललाई राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि समर्थन जनाएको छ । गेलाल प्यानलबाट प्रथम उपाध्यक्षका उम्मेदवारमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का सञ्चालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का सञ्चालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की सञ्चालक धनु सिँजाली रहनुभएको छ ।
सो प्यानलबाट कार्यसमिति सदस्यहरूमा माउन्टेन ग्रुप प्रा. लि.का सञ्चालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का सञ्चालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का सञ्चालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की सञ्चालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की सञ्चालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का सञ्चालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का सञ्चालक कामेश्वर साह राहुल, सिगल ओभरसिज प्रा. लि.का सञ्चालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का सञ्चालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लि.का सञ्चालक राजेश यादवले उम्मेदवारी दिनुभएको छ ।
यस्ता छन् पदाधिकारीका योजना
प्रविधिको प्रयोग गरी व्यवसायीको समस्या समाधान गर्नेछु
भुवनसिंह गुरुङ (अध्यक्ष उम्मेदवार)
व्यवसायीलाई परेको पिरमर्का सम्बोधन गर्न आइटी अफिसरको नियुक्त गरी प्रविधिमैत्री बनाउने छु । कामदारको संख्या एक सय पु¥याउनुपर्ने प्रावधान खारेजीको पहल गर्नेछु । वैशाख १ गते सदनमा पेस हुने कानुन संशोधनको लागि यथाशीघ्र पहल गर्नेछु । व्यवसायीले लिने सेवा शुल्कलाई अन्तर्राष्ट्रिय नजिरअनुसार तोक्न आवश्यक पहल गर्नेछु । धरौटी बापत सरकारको खातामा रहेको रकमको ब्याज पाउने व्यवस्था गर्नेछु । मागपत्र प्रमाणीकरण र कामदारका समस्या समाधानमा यथासक्य लाग्नेछु । यसका साथै नीतिगत रूपमा व्यवसायीलाई परेका मर्काको यथासक्य समाधान गर्न पहल गर्नेछु । व्यवसायलाई मर्यादित बनाउन पहल गर्नेछु ।
व्यवसायीको हितमा इमान्दारीका साथ काम गर्नेछु
नरेश गेलाल (अध्यक्ष उम्मेदवार)
वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिवर्तन गर्ने र मागपत्र दूतावास प्रमाणीकरण व्यवस्था हटाउन विशेष जोड दिने मेरो प्रतिवद्धता रहेको छ । दश हजार शुल्क खारेज गर्ने र कामदारले एक महिनाको तलब बापतको रकम सेवा सुविधाबापत लिन पाउने व्यवस्था गर्न पहल गर्नेछु । १ सय कामदार हटाउन पहल गर्नेछ । कामदारलाई भार पार्न गरिएको स्वास्थ्य जाँचको आर्थिक भार कम गर्नेछु । सम्पूर्ण इजाजतपत्र प्राप्त संस्थाबाट वैदेशिक रोगगारीका लागि जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने व्यवस्था मिलाउन पहल गर्नेछु । व्यवसायीले राष्ट्र बैंकमा राखेको नगद धरौटीबापत व्यवसायीको खातामा ब्याज आउने व्यवस्था गर्न पहल गर्नेछु । त्यसका साथै अनलाइन श्रम स्वीकृति प्रणालीलाई थप प्रभावकारी बनाउन पहल गर्नेछु । व्यवसायी तथा श्रमिकको हितलाई मध्यनजर गरी प्राविधिक रूपमा काम गर्ने व्यवस्था गर्न सम्वन्धित निकायलाई झकझकाउने छु । त्यसका साथै हामीले हाम्रो प्यानलको प्रतिवद्धता पत्रमा उल्लेख गरेको सम्पूर्ण विषय पूरा गर्न इमान्दारीका साथ पहल गर्नेछु ।
सामाजिक अभियन्ताका नाममा दुःख दिने परम्पराको अन्त्य गर्छु
नरेन्द्रप्रसाद ढकाल (प्रथम उपाध्यक्ष उम्मेदवार)
नौ सय जना व्यवसायीको समस्या मेरो समस्या हो । व्यवसायीको अहिलेको मुख्य समस्या एक मेनपावरले प्रतिवर्ष १ सय जना कामदार विदेश पठाउनुपर्ने बाध्यता रहेको छ । बिरामी भएर वा काम गर्न मन नलागेर बस्दा पनि सुख नपाउने कानुन व्यवासयीको हितमा छैन । जबर्जस्ती काम गर्नुपर्ने बाध्यकारी कानुन खारेजीको पहल गर्दछु । बिनाप्रमाण उजुरी दिई व्यवसायीलाई दुःख दिने अव्यावहारिक कानुन संशोधन गर्न पहल गर्नेछु । अहिले महिनौँ दिन लाग्ने दूतावास प्रमाणित गर्ने काम चाँडो गर्नुपर्दछ । अहिले सामाजिक अभियन्ताका नाममा क्यामरा बोकेर कार्यालयका गई तोडफोड गर्नेे, युट्युब, टिकटकबाट गाली बेइज्जति गर्ने कामलाई बन्द गर्न गृह मन्त्रालयसँग मिलेर काम गर्ने मेरो प्रतिवद्धता रहेको छ ।
कानुनी अधिकारको संरक्षण गर्छु
सुजितकुमार श्रेष्ठ (प्रथम उपाध्यक्ष उम्मेदवार)
आम व्यवसायी संस्थाको कानुनी हक, हित र अधिकारका निमित्त संरक्षण र संवद्र्धन गर्नु प्रतिनिधिको दायित्व हो । व्यवसायीको धेरै समस्या रहेका छन् । १ सय संख्या, मागपत्र प्रमाणित, सेवा शुल्क, नीतिगत सुधारका विषय धेरै रहेका छन् । यो सबै विषयमा आवाज उठाउन मेरो दायित्व रहने छ ।
बेथितिको अन्त्यका लागि मेरो उम्मेदवारी
देवकुमार खोखाली (द्वितीय उपाध्यक्ष उम्मेदवार)
वैदेशिक रोजगारमा रहेको बेथितिको अन्त्यका लागि मेरो उम्मेदवारी हो । सरकारले लागू गरेका अनावश्यक नियम खारेजीका लाग पहल गर्दै अन्तर्राष्ट्रिय जगतअनुसार बनाउने पहल गर्ने मेरो प्रतिवद्धता रहेको छ ।
कानुनलाई व्यवसायीअनुकूल बनाउने पहल गर्नेछु
मधुकर रिजाल (द्वितीय उपाध्यक्ष उम्मेदवार)
मेरो आफ्नै विषय पनि कानुन भएको हुनाले कानुनलाई व्यवसायीअनुकूल बनाउने पहल गर्नेछु । व्यवसायीका मुद्दा धेरै छन् । अहिले वैदेशिक रोजगार ऐन र वैदेशिक रोजगारको नीतिभित्र बसेर व्यवसायीले काम गर्न सक्ने अवस्था छैन । यसका लागि मैले धेरै काम गर्नुपर्ने छ । हाम्रो प्यानल समावेशी र सबै राजनीतिक विचार मिल्ले पक्षलाई समेटेर बनाएका छौँ । यसलाई व्यवसायीले अनुमोदन गरिदिनु हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।
नीतिगत रूपमा व्यवसायीलाई परेका समस्याको समाधान गर्नेछु
ईश्वर सापकोटा (सचिव उम्मेदवार)
आम व्यवसायीको मागबमोजिम स्वतन्त्र व्यक्ति पनि संघमा गएर नेतृत्व गर्न पाउनु पर्ने अधिकार अनुसार मैले मनोनयन गरेको छु । ३२ वर्षे इतिहासमा पार्टीबाट मात्र मनोनयन भएको देखिएको हुनाले त्यसलाई तोड्न मैले उम्मेदवारी दिएको हुँ । म सबैको प्रतिनिधि भएको हुनाले मैले जिते भने नीतिगत रूपमा व्यवसायीलाई परेका समस्याको समाधान गर्नेछु । मैले धेरैजसो जापानका लागि काम गर्ने गरेको छु ।
जापानमा भिसा लागिसकेपछि पनि परीक्षा दिनुपर्ने र अन्तिम टिकट काटेर बसेपछि पनि रोकिनु पर्ने अवस्था रहेको छ । मेरो जित भनेको ९ सय ३० जना व्यवसायीको जित हो । व्यवसायीको हितका लागि विभाग र मन्त्रालयमा एकल रूपमा पनि काम गर्न खोजेँ तर भनेको जस्तो सफलता प्राप्त गर्न नसकेको हुनाले मैले उम्मेदवारी दिएको हुँ । इजरायलले सबै देशसँग कामदार लाने सम्झौता गरिसके पनि नेपालले भने सम्झौता पत्रमा हस्ताक्षर गरेको छैन । राम्रो देश जानबाट सरकारले रोकिरहेको छ । मैले जितेँ भने सबै समस्याको समाधान गर्नेछु । नेपाल समाचारपत्र दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया