काठमाण्डौः राजावादीले १५ चैतमा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएका घटनाको न्यायिक छानबिन हुनुपर्ने माग सांसदहरूले गरेका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग तीनकुने घटनाका सन्दर्भमा गरेको छलफलमा सांसदहरूले छानबिनको माग गरेका हुन् ।
सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि समितिमा बोलाएर प्रश्न गर्नुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस सांसद जीवन परियारले घटनाको जिम्मेवार ज्ञानेन्द्र शाहलाई समितिमा बोलाउनुपर्ने बताए । तीनकुने घटनामा उनको संलग्नता छ कि छैन भन्ने जिज्ञासा रहेकाले छलफल आवश्यक रहेको परियारले धारणा राखे । एमाले सांसद महेश बर्तौलाले पूर्वराजा शाहलाई घटनाप्रति जवाफदेही बनाउनुपर्ने बताए ।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले तीनकुने घटनाको मसिनो गरी छानबिन गर्नुपर्नेमा जोड दिए । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले सरकारका तर्फबाट तीनकुनेमा मानवअधिकारको गम्भीर उल्लंघन भएको आरोप लगाएका थिए । उनले राष्ट्रगान बजिरहेका बेला अश्रुग्यास प्रहार गरेर सभालाई उत्तेजित गराउने काम भएको भन्दै घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गरे ।
समिति सभापति विमला सुवेदीले राजावादीको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र हत्यासम्मका घटना भएकाले सत्यतथ्य बाहिर ल्याउन छानबिनको आवाज बैठकमा उठेको बताइन् । समितिले शुक्रबार सरकारलाई कुनै निर्देशन भने दिन सकेन । घटनाका विषयमा गृहमन्त्री लेखकसँग छलफल भएको र यसबारे समितिले आगामी बैठकमा थप निर्णय लिने उनले जानकारी दिइन् ।
गृहमन्त्री लेखकले सरकारले नियमित कानुनी कारबाही प्रक्रियाबाटै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए । न्यायिक छानबिन समिति आवश्यक नरहेको उनको भनाइ थियो । राज्यपक्षको कमीकमजोरी पनि देखिएकाले छानबिन गर्न र सुरक्षा बललाई थप सुविधासम्पन्न र प्रविधियुक्त बनाउन निर्देशन दिने तयारी समितिको थियो ।
तर, सत्तारूढ दलकै सांसदले सरकारले तीनकुने घटनाबारे आवश्यक कारबाही गरिरहेकाले त्यस्तो निर्देशन आवश्यक नहुने भनेर आपत्ति जनाएपछि समितिले निर्णय लिन सकेन । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया