असार २१, २०८२ शनिबार July 5, 2025

२०८१ सालको नेपाली चलचित्र बजार: १८५० रुपैयाँदेखि झन्डै ४७ करोड रुपैयाँसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपालमा हरेक साता एउटासम्म चलचित्र रिलिज हुँदा त्यो चलचित्रको व्यापार सुरक्षित हुने वितरक तथा हल सञ्चालकहरूको प्रक्षेपण छ ।

जसका लागि वर्षमा बढीमा ५२ वटासम्म नेपाली चलचित्र यहाँका चलचित्रघरले धान्ने देखिन्छ । तर, २०८१ सालमा नेपालमा ६३ वटा स्वदेशी चलचित्र रिलिज भए । जसमा ६१ वटा नेपाली र दुईवटा नेपाल भाषाका रहेका छन् ।

गत १४ वैशाखमा रिलिज भएको चलचित्र ‘बोक्सीको घर’देखि यही २९ चैतमा रिलिज भएको ‘कर्मा’ र ‘पीताम्बर’सम्म आइपुग्दा ६३ वटा स्वदेशी चलचित्र रिलिज भएका हुन् । यससँगै २०८१ सालमै नेपालमा ८५ वटा विदेशी चलचित्र पनि प्रदर्शन भएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । नेपालमा रिलिज भएका नेपाली चलचित्रको व्यापार हेर्दा नेपाली चलचित्रमै अहिलेसम्मको रेकर्ड चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले बनाएको छ ।

‘पूर्णबहादुरको सारंगी’को व्यापार ५० करोड
रिलिज भएकामध्ये यस वर्ष करिब २५ प्रतिशत चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेका छन् । विगतमा १० देखि १२ प्रतिशत चलचित्रले मात्र लगानी सुरक्षित गरेर मुनाफा कमाउँथे । यसपटक लगानी सुरक्षित गर्ने चलचित्र बढेर करिब २५ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ ।

चलचित्र विकास बोर्डको २०८१ सालभरिको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस) रिपोर्ट हेर्दा नेपालको बजारमा सबैभन्दा बढी व्यापार चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले गरेको देखिन्छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार यो रिपोर्ट आउँदासम्म नेपालका करिब २५ वटा चलचित्रघर बक्स अफिस प्रणालीमा नजोडिएको अवस्था थियो ।

त्यसबाहेक बाँकी नेपालका चलचित्रघरको बक्स अफिस रिपोर्ट हेर्दा ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ । बक्स अफिसमा नजोडिएका बाँकी २५ वटा चलचित्रघरको व्यापारलाई यसमा जोड्ने हो भने करिब ५० करोड रुपैयाँको व्यापार यसले नेपालबाट गरेको छ । यो २०८१ सालको मात्र नभई नेपाली चलचित्रको इतिहासकै सबैभन्दा ठूलो व्यापार हो । नेपालमा पनि ५० करोड रुपैयाँको व्यापार एउटै नेपाली चलचित्रबाट हुन्छ भन्ने बजार ‘पूर्णबहादुरको सारंगी’ले देखाएको छ । करिब डेढ करोडमा बनेको यस चलचित्रले सुपर डुपर ब्लक बस्टरको पहिलो इतिहास नेपालमा बनाएको छ ।

१० करोडभन्दा माथिको व्यापार गर्ने नेपाली चलचित्रहरू
२०८१ सालको सुरुमै गत १४ वैशाखमा रिलिज भएको केकी अधिकारी र सुलक्षण भारतीको चलचित्र ‘बोक्सीको घर’ले १० करोडभन्दा माथिको व्यापार गरेर यस वर्षको पहिलो सुपर हिट चलचित्रको सूचीमा आफूलाई राख्न सफल भयो । करिब ९० लाख रुपैयाँको लागतमा बनेको यस चलचित्रले नेपालमा १० करोड २ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको थियो ।

यस्तै, यस वर्ष १० करोडभन्दा माथिको व्यापार गर्ने अरू चलचित्रहरूमा विराज भट्टको ‘१२ गाउँ’, दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ५’ र मिलन चाम्सको ‘अञ्जिला’ रहेको छ । यी चारवटै चलचित्रले लगानीभन्दा चौबर तथा सो भन्दा माथि व्यापार गरेकाले यी सबै सुपर डुपर हिट भएका छन् । जसमध्ये गत दसैंमा रिलिज भएको विराज भट्ट, समीर भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ले १९ करोड ९२ लाख ७२ हजार रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।

यसैगरी, बक्स अफिस रिपोर्टअनुसार दीपकराज गिरी, केदारप्रसाद घिमिरे अभिनित चलचित्र ‘छक्का पन्जा ५’ले नेपालबाट १५ करोड २० लाख ४३ हजार रुपैयाँको व्यापार गरेको देखिन्छ । यतिबेला पाँचौं सातामा प्रदर्शन भइरहेको दयाहाङ राई, एञ्जिला तुम्बापो सुब्बा अभिनित चलचित्र अञ्जिलाले चौथो सातामा ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने शनिबार बेलुकासम्म यस चलचित्रको व्यापार १० करोडबाट केही हजार माथि उक्लेको यसका वितरक करण श्रेष्ठले बताएका छन् । यसरी २०८१ सालमा ५० करोडको व्यापार गर्ने एक चलचित्र, १५ करोडभन्दा माथिको व्यापार गर्ने दुई चलचित्र र १० करोडभन्दा माथिको व्यापार गर्ने दुई चलचित्र रहेका छन् ।

५ करोड भन्दा माथिको व्यापार गर्ने चलचित्र
यस्तै, २०८१ सालमा ५ करोडभन्दा माथिको व्यापार गरेर केही चलचित्रले आफ्नो लगानीको दोब्बरदेखि माथि कमाएर सुपर हिटको सूचीमा परेका छन् । जसमा दिनेश राउत निर्देशित चलचित्र ‘पुजार सार्की’ र अनिल बुढामगर निर्देशित ‘घर ज्वाइँ’ रहेका छन् । बक्स अफिस रिपोर्टअनुसार प्रदीप खड्का, आर्यन सिग्देल अभिनित २ करोड ५० लाखको पुजार सार्कीले नेपालबाट ७ करोड ३७ लाख ५८ हजार रुपैयाँको व्यापार गरेको छ । यस्तै, दयाहाङ राई, मिरुना मगर अभिनित ‘घर ज्वाइँ’ले स्वदेशमा ५ करोड ९ लाख ५९ हजार रुपैयाँको व्यापार गरेको छ ।

३ करोड माथि व्यापार गर्ने चलचित्रहरू
यस वर्ष रिलिज भएका चलचित्रहरूमा केही चलचित्रले ३ करोडभन्दा माथिको व्यापार गरेर नाफा कमाउँदै हिट पनि भएका छन् । केही चलचित्रले ३ करोडभन्दा माथिको व्यापार गर्दा पनि फ्लपको सूचीमा पर्नुपरेको छ ।

यस्तै, दयाहाङ राई, मिरुना मगर अभिनित चलचित्र ‘मनसरा’ले ४ करोड ७८ लाख ५३ हजार रुपैयाँको व्यापार गरेको छ । करिब २ करोड रुपैयाँको लागतमा बनेको यस चलचित्रले स्वदेशी बजारबाट लगानी उठाउँदै थोरै मुनाफा कमाएको छ भने विदेशी बजार र डिजिटल राइटको पैसा सबै मुनाफा कमाएको छ ।

अनमोल केसी र जसिता गुरुङ अभिनित चलचित्र ‘फर्की फर्की’ले ४ करोड ४८ लाख ८७ हजार रुपैयाँको व्यापार गरेको छ । करिब ३ करोडको लागतमा बनेको यस चलचित्रले स्वदेशी बजार र डिजिटल राइटबाट आफ्नो लगानी सुरक्षित गरेको छ ।

यस्तै, नीता ढुंगानाको चलचित्र‘ ह्रस्व दीर्घ’ले नेपालमा ४ करोड ३३ लाख रुपैयाँको व्यापार गरेको छ । यस चलचित्रको लागत ५ करोडभन्दा माथि थियो । दक्षिण भारतको व्यापारले यसले लगानी सुरक्षित गरेको निर्माण पक्षको दाबी छ । नेपालको व्यापार हेर्दा भने यो चलचित्र घाटामा देखिन्छ ।

नवीन सुब्बा निर्देशित दयाहाङ राईको चलचित्र ‘गाउँ आएको बाटो’ले पनि नेपालमा ४ करोड १९ लाख ९० हजारको व्यापार गर्दै लगानी सुरक्षित गरेको छ ।

यस्तै, करिब १ करोड ७० लाखको लागतमा बनेको धिरज मगर र उपासना सिंह ठकुरीको चलचित्र ‘खुस्मा’ले नेपाली बक्स अफिसमा ४ करोड १० लाख ३८ हजार रुपैयाँको व्यापार गरेर केही मुनाफा कमाउँदै यो हिट चलचित्रको सूचीमा परेको छ । चलचित्र ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतले मात्रै चलचित्रका २० प्रतिशत लगानी उठाएको यसका निर्देशक अशोक थापामगरले बताएका छन् ।

यस्तै, निश्चल बस्नेत र स्वस्तिमा खड्काको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले नेपालमा ३ करोड ५४ लाख ४० हजार रुपैयाँको व्यापार गरेको छ । यस चलचित्रले पनि लगानी सुरक्षित गरेर डिजिटल र विदेश प्रदर्शनबाट मुनाफा कमाएको निर्माण पक्षको दाबी छ । यस्तै, साढे ३ करोडको लगानीमा बनेको चलचित्र ‘लाज शरणम’ले हालसम्म ४ करोड ३४ लाखको व्यापार गरेको छ । लगानी बढी भएका कारण यो चलचित्र अहिलेसम्मको व्यापार हेर्दा यो असफलको सूचीमा छ ।

यस्तै, १ करोड ५० लाखको लागतमा तयार भएको भनिएको चलचित्र ‘होस्टेल ३’ ले हालसम्म ४ करोड ५८ लाख रुपैयाँको व्यापार गर्दै केही मुनाफा कमाएको देखिन्छ । यो भने हिट चलचित्रको सूचीमा परेको छ ।

आशा गरेर पनि असफल भएका चलचित्रहरू
२०८१ सालमा निर्माण भएका चलचित्रहरूमा केही चलचित्रले राम्रो कमाउने आशा गरिए पनि अन्त्यमा असफल साबित भएका छन् । जसमा सुदर्शन थापा निर्देशित पल शाह र पूजा शर्माको चलचित्र ‘रावायण’ले १ करोड ५४ लाख ५३ हजारको व्यापार गरे पनि यो चलचित्र फ्लपको सूचीमा परेको छ ।

हिट हुने आशा गरिएको दयाहाङको चलचित्र ‘कार्साङ’ले स्वदेशी बक्स अफिसमा १ करोड ४८ लाख १९ हजारको व्यापार गरेर घाटामा गएको छ । यस्तै, हिट हुने आशा गरिएको सुशील श्रेष्ठको चलचित्र ‘आउटल दफा २१९ ले’ १ करोड ४४ लाख ९० हजारको व्यापार गरे पनि यो चलचित्रसमेत फ्लपको सूचीमा परेको छ । पल शाहकै अर्को चलचित्र ‘मायावी’ले पनि कुल ७१ लाख १ हजार रुपैयाँको मात्र व्यापार गरेर फ्लपको सूचीमा पुगेको छ । निकै आशा गरिएको दीपेन्द्र लामा निर्देशित दयाहाङ राई र आँचल शर्माको चलचित्र ‘दुःखी आत्मा’ले पनि नेपालबाट ७१ लाख २६ हजारको मात्र व्यापार ग¥यो । यो चलचित्र पनि व्यावसायिक रूपमा असफल साबित भयो ।

अन्तर्राष्ट्रिय बजारमा खुबै चर्चा कमाएका नेपाली चलचित्र ‘साम्बाला’ र ‘राजागंज’ नेपाली बक्स अफिसमा निरीह साबित भए । १० करोड रुपैयाँमा बनेको भनिएको साम्बालाले नेपालमा २ करोड १२ लाख २२ हजार रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ भने राजागंजले १६ लाख २१ हजार रुपैयाँको व्यापार गरेको छ ।

यस वर्षका सुपर फ्लप चलचित्रहरू
यस वर्ष धेरै चलचित्र सुपर फ्लपको सूचीमा देखिएका छन् । यस वर्ष सबैभन्दा कम व्यापार चलचित्र ‘सिरफूल’ले गरेको छ । यसले १ हजार ८ सय ५० रुपैयाँको व्यापार गरेको थियो । पुनः रिलिज गरिएको अर्को चलचित्र आचार्यले ४ हजार ९ सय ५२ रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।

कम व्यापार गर्ने तेस्रो सूचीमा परेको चलचित्र ‘ब्ल्याक छाया’ले ६ हजार ८ सय ८३ रुपैयाँको व्यापार गरेको देखिन्छ । यसै वर्ष पुनः रिलिज गरिएको चलचित्र ‘बुलाकी’ले २६ लाख ८२ हजार रुपैयाँको व्यापार गरेको थियो । यीसहित ‘खजुरे ब्रो, ‘एक्टर’, ‘लन्डन टु पेरिस’, ‘बाटो’, ‘देवी’, ‘ईश्वर’, ‘मोदी बेनी’, ‘नम्बरी सुन’, ‘आँखे’, ‘सानो संसार’, ‘देववाणी’, ‘अग्नि दहन’, ‘सारंग’, ‘जुना’, ‘ममी’, ‘रंगी’, ‘तान्डबम’, ‘डोरी’, ‘द्रौपदी’ जस्ता थुप्रै चलचित्र व्यावसायिक रूपमा सुपर फ्लपको सूचीमा परेका छन् । गत साता रिलिज भएको चलचित्र ‘वसन्त’ र शुक्रबार २९ चैतमा रिलिज भएका दुई चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’को भने बक्स अफिस रिपोर्ट आउन बाँकी छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार