असार २३, २०८२ सोमबार July 7, 2025

मौरीपालक किसानको सङ्ख्या बढ्यो : यसवर्ष उत्पादन घट्यो

व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ७ वैशाखः गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो ।

उहाँले भन्नुभयो, “लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।” अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उहाँले बताउनुभयो । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या छ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर छ हजार ८३० पुगेको उहाँले बताउनुभयो ।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए । विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया